लजाएको लाज र हराएको नैतिकता

Read Time = 13 mins

✍️ डा.टीकाराम पोखरेल

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जाँदैगर्दा मात्र होइन, निर्वाचन परिणाम घोषणा हुँदासम्म पनि एमाले-माओवदी केन्द्र गठबन्धनको सरकार बन्ला भन्ने कुरा कसैलाई अनुमान थिएन । अझ त्यसभन्दा अगाडि राष्ट्रपतिले बहुमत पुर्‍याएर सरकार गठनको दाबी गर्न दलहरूलाई आहृवान गरेको अन्तिम दिनको बिहानसम्म पनि प्रचण्ड-ओली सरकार बन्ने कुरा धेरैैलाई विश्वास थिएन । अरू त अरू स्वयम् गठबन्धन निर्माणका प्रमुख हर्ताकर्ता ओली र प्रचण्डमा समेत यस्तो सरकार बन्ने कुरामा झिनो आशा भए पनि विश्वस्त थिएनन् । तर, चार घण्टाकै बीचमा आमसर्वसाधारणले आकलन गरेविपरीत एमाले-माओवादीलागायत दलको गठबन्धन सरकार बन्यो । कांग्रेस भने अचानक सत्ताबाट बाहिरियो ।

आफ्नो नेतृत्वमा सरकार गठनमा विश्वस्त कांग्रेस नेतृत्व सरकार निर्माणका सम्बन्धमा एमाले-माओवादीबीच चलेको भित्री कसरतबाट पूर्णतः बेखबर नभए पनि यसरी सरकार नै बनिहाल्छ भन्ने कुरा चाहिँ उसलाई पनि लागेको थिएन । विगतमा एमाले माओवादीबीचको तिक्तताकै कारण पनि यति चाँडै माओवादी एमालेसँग मिल्न जाँदैन भन्नेमा कांग्रेस ढुक्क थियो । त्यसैले त कांग्रेसले प्रधानमन्त्रीमात्र आफ्नो होइन, राष्ट्रपतिसमेत आफ्नै हुनुपर्छ भन्ने दाबी गरेको थियो । गठबन्धनमा आफूलाई ‘सेफजोन’ मा ठानेको कांग्रेसले आफ्नो नेतृत्वमा बहुमतको सरकार नबने ठूलो दलको हैसियतमा पनि आफ्नै सरकार बन्नेमा कांग्रेस ढुक्क थियो ।

चुनावताका ‘नो नट एगेन’ भन्दै प्रचण्डको सबैभन्दा बढी आलोचना गर्ने लामिछानेहरू चुनाव जित्नासाथ हतार–हतार प्रचण्डकै नेतृत्वको सरकारमा सहभागी भए । एमालेसँग कटुतापूर्ण सम्बन्ध भएको माओवादी एमालेसँगै मिल्न पुग्यो । राप्रपा जस्तो राजावादी शक्ति राजाविरोधी भनिएका प्रचण्डको सरकारलाई समर्थन गर्न पुग्यो ।

अर्थात् पहिलो भए नि आफैँ, दोस्रो भए नि आफैं । यद्यपि कांग्रेसको पहिलो हुनेभन्दा दोस्रो हुनेमा बढी इच्छा देखिन्थ्यो । त्यही दोस्रो हुने इच्छा नै कांग्रेसका लागि घातक भयो । पहिलो अर्कै गठबन्धन बन्यो । पहिलो र दास्रो हुने त परै जाओस् कांग्रेस सरकार निर्माण गर्ने ‘र्‍यांक’ मै परेन । संसदीय राजनीतिलाई गणितको खेल पनि भन्ने गरिन्छ तर राजनीतिमा आफूसँग रहेको गणित सधैं आफ्ना लागि कामयावी हुँदैन । यस पटक कांग्रेससँग गणितीय संख्या बढी हुँदा हुँदै पनि कांग्रेस अनौठो तरिकाले सत्ताबाट बाहिरियो । जसरी दुई वर्षअगाडि आफूसँग झण्डै दुई तिहाइको संख्या हुँदा हुँदै पनि तत्कालीन नेकपा सत्ताबाट बाहिरिएको थियो । गणितलाई सही तरिकाले प्रयोग नगर्दाको परिणाम थियो, त्यो पनि र यो पनि ।

यसपटक देउवाका लागि न ज्योतिष काम लागे न त आफूले गणना गरेको गणितीय हिसाब नै काम लाग्यो । न त उनका सारथीहरूले नै देउवालाई सत्तारोहण गराउन सके । गणितीय खेलमा हत्तपत्त नहार्ने देउवा यसपटक सजिलै हारे । उनको ‘क्याल्कुलेटर’ ले गलत जोडघटाउ गर्‍यो । मिलिजुली सरकार चलाउन सबैभन्दा सफल भनिएका देउवा यसपटक सजिलै चिप्लिए । उनलाई छोडेर सबै साना दल बालकोटसँग मिल्न गए । राजनीतिको साँचो सधैं आफ्नो हातमा हुँदैन भन्ने यो ज्वलन्त उदाहरण हो ।

देउवाले यसपटक भोगे जस्तो नियति देउवाबाहेक अन्य नेताले पनि यसअघि पटक-पटक नभोगेका होइनन् । २०४८ को निर्वाचनपछि स्पष्ट बहुमतका बनेको कांग्रेसको सरकार बीचैमा ढल्यो । २०५२ को मध्यावधि निर्वाचनपछि ठूलो दलको हैसियतमा सरकार बनाएको एमाले पनि नौ महिनाभन्दा बढी सत्तामा टिक्न सकेन । लोकन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा नै चल्यो । २०५६ मा पुनः बहुमत ल्याएको कांग्रेसले पाँच वर्ष निरन्तर सरकार सञ्चालन त गर्न सकेन नै पाटी विभाजनसमेत रोक्न सकेन । आफ्नै पार्टीका नेता भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएर गिरिजाप्रसाद कोइराला आफैं प्रधानमन्त्री भए ।

२०६६ को निर्वाचनपछि ठूलो दलको हैसियतमा सरकार बनाएको माओवादीको पनि हबिगत उही भयो । प्रचण्ड हटाएर माधव नेपाल, माधव नेपाल हटाएर झलनाथ प्रधानमन्त्री हुने गजबको लुकामारीको खेल चल्यो । २०७२ सालमा आफैंले गरेको वाचाविपरीत सुशील कोइरालालाई दोस्रो पटक प्रधानमन्त्री बनाउन खोज्दा कांग्रेसले राष्ट्रपति पद नै गुमायो । राजनीतिमा यस्ता थुप्रै उदाहरण छन्, जहाँ आफू ठूलो दल भएर पनि साना दलको पछि परे ।

पछाडितिर फर्केर केही दशकअगाडि जाने हो भने पनि नेपालको राजनीतिमा अनौठा दृश्य छन् । जो निरंकुश राणा शासनविरुद्ध लडे, तिनै पछि एकदलीय पञ्चायतको पक्षपोषणमा लागे । पञ्चायतविरुद्ध लडेकाहरू २०४६ को परिवर्तनपछि पञ्चहरूसँग नै घाँटी जोड्न पुगे । परम्परागत शक्तिको विरुद्धमा ओवादीले दश वर्ष सशस्त्र युद्ध गर्‍यो तर सत्तामा पुगेपछि जुन शैलीको विरुद्ध लडेको थियो, माओवादी पनि त्यसभन्दा फरक देखिएन । वैकल्पिक शक्ति भनिएका बामे सर्न नपाउँदै इतिहासको गर्तमा बिलाए । पार्टीहरू फुट्ने र जुट्ने क्रमले राजनीतिलाई ज्यादै विषाक्त बनायो । जुट्नमा भन्दा फुट्नमा बढी बल खर्च भयो ।

विगतका अभ्यास हेर्दा नेपालको राजनीतिमा जे नहुनुपर्ने हो त्यो भइरहन्छ । अहिले सरकार निर्माणमा पनि अरू भएको केही होइन, जे नहुनु पथ्र्यो त्यस्तो भएको मात्र हो । विगतमा नेकपा फुटेर कांग्रेससँग मिलेर सरकार बनाएको पुनरावृत्ति । नेपालको राजनीतिमा हुनुपर्ने कुरामात्र कहाँ भएको छ र अहिले पनि जे हुनुपथ्र्यो त्यो मात्र हुन्थ्यो र ? हामी राजनीतिमा आसा गर्छौं एउटा तर भइदिन्छ अर्को । एक तरिकाबाट सोचिन्छ परिणाम अर्कै तरिकाको आइदिन्छ । न हिजो नेकपा फुटेर बनेको माओवादीकांगे्रस गठबन्धनमा मिल्न जाने कसैले सोचेको थियो न आज माओवादीले कांग्रेस छोडेर एमालेसँग मिल्ने सोचेको थियो तर हुने कुरा भएर छाड्यो राजनीतिक विश्लेषक भनिएका गुरुहरूलाई समेत चकित पार्दै ।

नेपालको राजनीतिको प्रमुख विशेषता नै नहुने कुरा हुनु र हुने कुरा चाहिँँ नहुनु हो । विगतको अनुभवले यही बताउँछ । राजनीतिमा नैतिकता हुँदैन भन्ने कुरा त प्रमाणित नै भइसक्यो तर लाज भन्ने शब्द त हुनुपर्ने हो नि !

चुनावताका ‘नो नट एगेन’ भन्दै प्रचण्डको सबैभन्दा बढी आलोचना गर्ने लामिछानेहरू चुनाव जित्नासाथ हतार हतार प्रचण्डकै नेतृत्वको सरकारमा सहभागी भए । एमालेसँग कटुतापूर्ण सम्बन्ध भएको माओवादी एमालेसँगै मिल्न पुग्यो । राप्रपा जस्तो राजावादी शक्ति राजाविरोधी भनिएका प्रचण्डको सरकारलाई समर्थन गर्न पुग्यो । यतिमात्र हो र हिजो कांग्रेस गठबन्धनको सरकार बन्छ भन्ने आकलनका साथ देउवाकोमा धाउने साना दलका ठूला नेताहरूको पनि दौडको दिशा परिवर्तन भई रातारात बालकोटतिर मोडियो । कम रोमाञ्चक छ राजनीतिक रिले दौड ?

नेपालको राजनीतिमा के भएन ? आफूलाई होइन, अर्कोलाई प्रधानमन्त्री बनाउन र हटाउन कम्मर कसेर लाग्ने, अघिल्ला दिन जसलाई सत्तोसराप गरेको छ भोलिपल्ट उसैलाई भोट माग्ने, आफूले जस्तोसुकै हर्कत गरे पनि देश र जनताका लागि गरेको भनी दलिल पेश गर्ने अनौठो दृश्य पटक-पटक देखियो । अघिल्लो दिन जसलाई सत्तोसराप गरेको छ भोलिपल्ट उसैसँग घाँटी जोडेको देख्दा ताली बजाउनु कि गाली गर्नु कि रमाइलो मानेर हेरिरहनु जस्तो किंकर्त व्यविमुढ हुनुपर्ने स्थिति देखा पर्‍यो । राजनीतिक विश्लेषकले इमानदार भएर विश्लेषण गर्नुस्, के राजनीतिमा देखिएका यी क्रियाकलाप ठीक हुन् ? राजनीतिमा दर्शन, सिद्धान्त र नैतिकता हुनुपर्छ भन्ने मान्यता राख्ने हो भने यी क्रियाकलाप नैतिक हुन् कि अनैतिक हुन् ? राजनीतिमा जे गरे पनि हुन्छ, सबै स्वीकार्य छ भन्ने हो भने त यी सब सामान्य लाग्न सक्छन्, यदि जे पनि स्वीकार्य हुन्न भने राजनीतिलाई यस्तो विकृत बनाउने जिम्मेवार को हो ? अनि यस कुराको निष्पक्ष विश्लेषक को हो ?
नेपालको राजनीतिको प्रमुख विशेषता नै नहुने कुरा हुनु र हुने कुरा चाहिँँ नहुनु हो । विगतको अनुभवले यही बताउँछ । राजनीतिमा नैतिकता हुँदैन भन्ने कुरा त प्रमाणित नै भइसक्यो तर लाज भन्ने शब्द त हुनुपर्ने हो नि ! विगतमा राजनीतिमा यस्ता मोडहरू पनि आए, ती घटना सम्झँदा पनि लज्जा बोध हुन्छ । कि लाज भन्ने कुरा मान्नेहरूको लागि मात्र हो ?

लाज लाग्ने काम गर्नेले लाज नमानेपछि देख्नेको लाजले मात्र केही लाग्दैन रहेछ । सायद लाज नमान्नेहरूका लागि लाज भन्ने शब्द नै हुँदैन । लाज नमान्नेहरूका लागि लाज शब्द नभए पनि लाजमान्नेका लागि त लाज शब्द हुन्छ होला । राजनीतिका पछिल्ला दृश्यहरू देखेर त्यो लाज शब्द आफैंसँग कति लजायो होला ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?