
चितवन । चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरू हुँदै छ । नेपाल पोल्ट्री महासंघ र इन्डिया पोल्ट्री इक्युपमेन्ट एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नवीनतम प्रविधिहरुको प्रदर्शनी गरिने छ । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेसाकर्मी एवं समग्र किसानवर्गको प्रत्यक्ष संलग्नता रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताउनुभयो । प्रदर्शनीसँगै पोल्ट्री व्यवसायका नवीनतम प्रयोगसम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनारसमेत हुने उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेशलगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित कम्पनीहरुको स्टल रहने छ । ‘नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यावसायिक परिचय दिई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र अन्य विकसित देशहरुमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउन अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको आयोजना गरेको उहाँको भनाई छ ।
प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने छ । साथै खरबौँको लगानी र लाखौँको रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिएको पोल्ट्री क्षेत्रको विकास र विस्तार एवं भरतपुर भ्रमण वर्ष–२०२४ लाई पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच