म्याग्दी । आधुनिक घर निर्माण गर्ने होडबाजीका कारण ‘प्राकृतिक म्याजेन्सर’ र शान्तिका प्रतिकको रुपमा परिचित परेवाको निवास स्थान (गन्ज) र गौथलीको निवासस्थान गुँड मासिँदै जाँदा नेपालको मौलिक सुन्दर घरपालुवा पंक्षी परेवा र गौंथली लोप हुँदै गएका छन् ।
प्राचिन कालमा सन्देशवाहक चराको रुपमा संसारभरी परिचय बनाएको परेवा अन्नमात्रै खाने दाँत नभएको पंक्षी हो भने गौंथली सहकाल र लक्षिनको प्रतिक हो ।
कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । तर पछिल्लो समय निवासस्थानको अभावमा परेवा र गौंथली लोप हुँदै गएका चराका अध्यता केशव चोखालले बताउनुभयो ।
धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए। रैथाने प्रविधि लोप भए। मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगेको वातावरण संरक्षणर्कीहरुको भनाइरहेको छ । वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी परेवा,गौथली र वनचरी ढिकुर र मालचरी लगाएतका पंक्षीहरु म्याग्दीका गाउँबस्ती र वनजङ्गलबाट लोप हुने अवस्थामा पुगेका वन तथा वातावरण क्षेत्रका जानकार वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणी सापकोटाले बताउनुभयो । परेवा नेपालकै रैथाने पंक्षी हो ।
नेपालमा ११ भन्दा बढी प्रजातिका चरा लोप भए पनि परेवाको अस्तित्व अझैसम्म रहेको भएपनि पछिल्लो समय वासस्थानको अभावका कारण गाउँघरमा समेत परेवा देख्न नपाइने भएको मंंगला गाउँपालिका २ का हरिकृष्ण पौडेलले बताउनुभयो ।
परेवाले अन्नमात्रै खान्छ । परेवाको दाँत हुँदैन । धार्मिक सांस्कृतिक आस्थाका कारण परेवा उडाउँदा मठ मन्दिरमा परेवाको हुल टन्नै देख्न सकिन्छ ।
चरा पर्यटनका लागि नेपाल प्रख्यात छ । परेवा बनकै चरो भएपनि यो मानिसहरु नजिक घरमा रत्तिन्छ । ग्रीक सभ्यतामा सेतो परेवालाई शान्तिको प्रतीक मानिन्थ्यो । शान्तिको दूतका रुपमा उडाइन्थ्यो । नेपालीले पनि शान्तिको प्रतीक मानेका छन् । शान्तिको आव्हान गर्दै कामना गर्दै विभिन्न कार्यक्रममा परेवा उडाउने गरिन्छ । संस्कृतमा कपोत भनेर पुकारिने परेवासँग धार्मिक मान्यता पनि जोडिएको छ । नेपाली तथा हिन्दी गीत–संगीतमा परेवाले स्थान पाउने गरेको छ । अमेरिकाले शीतयुद्धमा परेवालाई जासुसीका रूपमा प्रयोग गरेको भनिन्छ । कयौं धार्मिक युद्धहरुमा परेवाको कथा पाइन्छन् ।
शान्ति र प्रेमको प्रतीकसमेत मानिने घर पालुवा पक्षी परेवा र परिश्रम र सहकालको प्रतीक मानिने गौँथली अब म्याग्दीका गाउँबस्तीमा देखिन छाडेका छन् । त्यसैगरी वनपाखामा बासस्थान (गुँड) बनाएर बस्ने ढिकुर, डाङ्ग्रे, भँगेरा र मालचरीलगायतका पक्षीहरु हराउँदै गएपछि वनजङ्गल पनि सुनसानजस्तै लाग्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।
घरमा परेवा र गौँथली पाल्ने संस्कृति नासिँदै गएको वन तथा वातावरण क्षेत्रका अध्येता सापकोटाले बताउनुभयो । जोडी बनाएर बस्ने परेवा र गौँथलीले मानवबस्तीको विस्तार, पक्की घर निर्माण, चरन क्षेत्र अभावलगायत विभिन्न कारणले विस्तारै बासस्थान परिवर्तन गर्न थालेको उनको भनाइ थियो ।
धार्मिक र परम्परागत भनाइमा परेवा र गौँथली मार्दा पाप लाग्ने बताइन्छ तर पछिल्लो समय पूजा गर्ने, भाकल चढाउने नाममा गाउँघरमा कतैकतै मात्र पाइने परेवा नासिँदै गएका छन् भने औषधि हुन्छ भनेर गौँथलीको समेत शिकार गर्न थालिएको स्थानीयवासीले बताएका छन् ।
पाँच–सात वर्ष अघिसम्म वनमा पाइने ढिकुर, कालिज, तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोरै मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताउनुभयो । प्रकृतिका सङ्गीतकार मानिने यस्ता वनचरी नास हुनुमा मानवीय कारण नै प्रमुख रहेको चराविद् चोखालको भनाइ छ । मानवीय स्वार्थ र लापरवाहीका कारण घरचरी र वनचरीको बासस्थान नास हुने र अवैधरूपमा शिकार गर्ने प्रवृत्तिले यस्ता पंक्षीहरु लोप हुँदै गएको उहाँले बताउनुभयो ।
मानवीय लापरवाहीका कारण लोप हुन लागेका घरचरी र वनचरीको संरक्षणका लागि बेलैमा सचेत हुनुपर्ने वन तथा वातावरण क्षेत्रका अगुवाहरुको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच