![जीवनमा पानीको आवश्यकता](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Bishwoath-kharel-Himalaya-times-article-2080-12-9.jpg)
काठमाडौं । याक चौंरी कृषकहरूको छाता संगठन याक चौंरी कृषक महासंघको काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनले पावीहाङ राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः दोलखाका लालकुमार केसी, मुस्ताङका सोजन हिराचन, ताप्लेजुङका विशाल लिम्बू र सोलुखुम्बुका आङफुर्वा शेर्पा रहेका छन् । सदस्यमा मनाङका वेदबहादुर गुरुङ, ओखलढुंगाकी माया शेर्पा, बाजुराका छिरिङ तोक्पे गुरुङ, सिन्धुपाल्चोकका सर्की शेर्पा, हुम्लाका शुक्रबहादुर शाही, सोलुखुम्बुकी पेमा शेर्पा, जुम्लाकी हेमाकुमारी रोकाया बुढा र इलामका सुन्दर राई रहेका छन् ।
महाधिवेशनले सल्लाहकार समितिमा रामेछापका दावा साङ्बु शेर्पा, मुगुका छुडिम लामा, मनाङका गमबहादुर गुरुङ, म्याग्दीका प्रेमबहादुर पुर्जा पुन र ताप्लेजुङका खड्गबहादुर गुरुङलाई चयन गरेको उपाध्यक्ष लालकुमार केसीले जानकारी दिनुभएको छ ।
हिमाली पर्यावरण जोगाउन, सीमा सुरक्षा गर्न र पर्यटन प्रवद्र्धनमा याक चौंरीको महत्वपूर्ण योगदान रहँदै आएको भए पनि सरकारले याक चौंरीको संरक्षण र प्रवद्र्धनमा चासो नदिएको याक चौंरी पालक किसानले गुनासो गरेका छन् । नवनिर्वाचित अध्यक्ष राईले नेपालका याक तथा चौंरी कृषकका मागमा सरकारलगायत विभिन्न दातृ निकायसँग सहकार्य गर्ने, नीतिगत निर्णयका लागि दबाब दिने तथा याक चौंरी क्षेत्रको अध्ययन तथा अनुसन्धान र विकासमा काम गर्ने बताउनुभएको छ ।
महाधिवेशन उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले चौंरीपालनलाई सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । सरकारले आगामी वर्षको बजेटमा समेत सशर्त अनुदानमा याक पालनलाई समावेश गरेको उहाँले जानकारी गराउनुभयो । मन्त्री साहले भन्नुभयो, ‘हिमालका गहना याक चौंरी संरक्षण हाम्रो चाहनासहितको नारालाई सरकारले सकारात्मकरूपमा लिएको छ । यसकारण हामी हिमाली जडीबुटी, हिमाली बासिन्दाको पेशा लोप हुन दिन्नौं, सरकार सधैं तपाईंहरूको साथमा रहन्छ ।’
महाधिवेशनमा तदर्थ समिति उपाध्यक्ष लालकुमार केसीले याक चौंरी लोप भएमा हिमाली क्षेत्रको सौन्दर्य, त्यहाँका बासिन्दाको पेशा, हिमाली जडीबुटीसमेत लोप हुने बताउनुभएको थियो । इसिमोड नेपालका निर्देशक डा. तासी दोर्जेले नेपालको संस्कार, परम्परा, पहिचान याक चांैरी पालनसँग जोडिएकाले याक चौंरी संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने बताउनुभएको थियो ।
महासंघका अनुसार ३० वर्षअघि दुई लाख दुई हजार रहेको याक चौंरी अहिले ५२ हजारमा झरेका छन् । सोलुखुम्बु, ताप्लेजुङ, दोलखा, डोल्पालगायत २७ जिल्लाका हिमाली क्षेत्रमा याक चौंरीपालन हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच