
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशको सूचना बेच्ने सांसद सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्तिको जवाफ माग गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गृहमन्त्री लामिछानेले देशको सूचना बेच्ने सांसद यही सदनमा छन्, भनेको विषयमा जवाफ माग गर्नुभएको हो । देशको सूचना बेच्ने सांसदलाई जनताले चिन्न चाहेको उल्लेख गर्दै सांसद केसीले भन्नुभयो, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसद्मा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा हो । यो केवल आन्तरिक मामिलासँग सम्बन्धित छैन । नेपाली जनता हेर्न चाहन्छन्, को रहेछ त्यो गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । कहिले, कहाँ, कसरी, कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो । त्यसकारण रुलिङ हुनुप¥यो ।’ यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसद्भित्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने बताउनुभएको थियो । गृहमन्त्रीको यो अभिव्यक्तिका सम्बन्धमा कांग्रेसका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गर्दै आएका छन् ।
सदनलाई ब्यारेक बनाउन खोजेको आरोप
विपक्षी दल कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले प्रतिनिधि सभाको बैठक कम्युनिष्ट पार्टीको ब्यारेक हो कि संसद् हो ? भन्दै प्रश्न गर्नुभएको छ । कांग्रेसले सहकारीको विषय छानविन समितिको माग गर्दै शान्तिपूर्ण रूपमा वेल घेराउ गर्दा गरिएको व्यवहारले कम्युनिष्ट पार्टीको ब्यारेकको रूपमा देखिएको टिप्पणी गर्दै सांसद पौड्यालले भन्नुभयो, ‘हामीले वेल घेराउका क्रममा देखिएको दृश्यले दुनियाँ हाँसेको छ । यो संसद् लोकतान्त्रिक मुलुकको संसद् थियो कि एउटा कम्युनिष्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो ?’ सांसद पौड्यालले सहकारी ठगीको छानविनका लागि संसदीय समिति गठन भएकोमा एमालेको मन पोलिरहेको टिप्पणीसमेत गर्नुभएको छ ।
गिरीबन्धुमा ओलीको बदनाम गर्न खोजेको एमालेको जिकिर
नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टाको विषयमा सर्वोच्च अदालतको फैसलालाई लिएर आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्षेप लगाउने प्रयास भएको दाबी गर्नुभएको छ । कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको आरोप लगाउँदै सचिव भट्टराईले भन्नुभयो, ‘आज गिरीबन्धुको विषय उठाइएको छ । यही संसद् हो जहाँबाट कानुन बनाउनका निम्ति सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिम यो संसद्ले कानुन बनायो त्यो हामी सबैलाई थाहा छ । त्यो कानुन बनाउँदा कुनै पनि राजनीतिक दलको त्यसमा विमति थिएन । नेपाली कांग्रेसको पनि त्यसमा कुनै संशोधन प्रस्ताव थिएन ।’ तर, यो विषयलाई आफ्नो पार्टी र पार्टी अध्यक्षमाथि प्रश्न उठाइएकोमा आपत्ति जनाउँदै भट्टराईले भन्नुभयो, ‘अहिले यो विषय उठाएर हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि जसरी नियोजित ढंगले हस्तक्षेप गर्ने, प्रचार गर्ने, आरोप लगाउने षड्यन्त्रहरू भएका छन् । हामी सदनसमक्ष भन्न चाहन्छौँ-२०४६ साल पछाडिका वा अगाडि कुन कुन बेलाको छानविन गर्नुपर्ने हो एमाले प्रत्येक छानविनका लागि तयार छ ।’
बालेनमाथि संसद्मा पनि खनियो एमाले
सत्तारूढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौं महानगर प्रमुख बालेन साहमाथि खनिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै एमाले सचिव एवं सांसद योगेश भट्टराईले बालेनमाथि विभिन्न आरोप लगाउनुभएको छ । सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाउनुभएका भट्टराईले अधिकांश समय बालेनविरुद्ध प्रयोग गर्नुभयो । एमाले अध्यक्ष ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नुसरह भएको टिप्पणी गर्दै भट्टराईले भन्नुभयो, ‘जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरूविरुद्ध मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार चिथोर्ने, नंग्याउने काम हो ।’
चित्रबहादुर बोल्दा कांग्रेसले बजायो ताली
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेले जोगाउन खोजे पनि सहकारीको रकम अपचलन गर्नेलाई जनताले चिनेको बताउनुभएको छ । सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन प्रधानमन्त्री र महान्यायाधिवक्ताले सफाइ दिने काम जात्रा भएको टिप्पणी गर्दै केसीले भन्नुभयो, ‘राज्यसत्ताकै आडमा, सत्तामा ढलीमली गर्नेले सहकारीको सिद्धान्त र नीतिविपरीत नेपाली जनताको पसिनामा पौडी खेलेको जगजाहेर छ । सत्तामा बस्नेले नै सहकारी अपचलन गर्नेलाई जोगाउने, त्यसमा सामेल हुने गरेका कारण, सदनको काम अवरुद्ध भएको थियो ।’ केसीले यसोभन्दा कांग्रेस सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।
अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्न रोष्ट्रममा जानुभएका अध्यक्ष लिङ्देनले संसद्मा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गर्नुभयो । उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराउनुभयो । तर, लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने अडान राख्नुभयो । उपसभामुख रानाले माननीयज्यू अगाडि बढौँ, अर्थमन्त्री आउँदै हुनुहुन्छ भन्नुभयो । लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने ? भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने अडान राख्नुभयो । तर, उपसभामुख रानाले बैठक स्थगित नगर्ने बताउनुभयो । त्यतिबेलै एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ति गर्दै बोल्न गएपछि सरासर बोल्नुपर्ने तर दोहोरी खेल्न नपाइने बताउनुभयो । लगत्तै राप्रपाका सांसदहरू आ-आफ्नो ठाउँबाट उठे । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ ? भनेर प्रतिवाद गर्नुभयो । त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसक्नु भएको थियो । उहाँले राप्रपा अध्यक्ष लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गर्नुभयो र संसद् बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।
बजेट महत्वाकांक्षी होइन, उत्पादनमुखी हो : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको दाबी गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले भन्नुभयो, ‘पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वाकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढंगले वस्तुवादी बजेट प्रस्तुत गरेको छु ।’ ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै बजेट नगएको जिकिर गर्दै अर्थमन्त्री पुनले १६५ निर्वाचन क्षेत्रमा नै पुग्नेगरी व्यवस्था गरिएको दाबीसमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच