
काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालको १६औँ राष्ट्रिय युथ मेला पोखरामा सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेला शनिबारसम्म चल्नेछ । मानव अधिकार अभियानमा युवा सदस्यहरूको सहभागितालार्ई सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको युथ मेला नेपाली सन्दर्भलगायत विश्वमा देखा परिरहेका मानव अधिकार सवालसम्बन्धी मुद्दाहरूमा केन्द्रित रहनेछ ।
यस वर्षको युथ मेलामा एम्नेस्टी इन्टरनेसनलले केही अघि सार्वजनिक गरेको ‘कसैलाई मतलव छैन’: नेपालमा दलितविरुद्ध वंशमा आधारित विभेद प्रतिवेदनमा औंल्याइएको प्रणालीगत जातीय विभेदलगायतका सवालहरूमा केन्द्रित रहेर छलफलहरू गरिनेछ । युथ मेलाको यस संस्करणले सहभागीहरूलाई मानव अधिकारका समसामयिक विषयहरू जस्तै संक्रमणकालीन न्याय, यौनिक अल्पसंख्यक समुदायको अधिकार, जलवायु परिवर्तनले मानव अधिकारमा पारेको प्रभाव, लैंगिक न्याय, न्यायमा पहुँचलगायतका मुद्दाहरूलाई सामना गर्न युवाहरूको भूमिकाका बारेमा सुसूचित, छलफल र अन्तरक्रियाहरू गर्दै उनीहरूको क्षमता विकास गर्ने अपेक्षा राखिएको छ ।
मेलामा आधिकारिक समूह, दलित समुदायका सदस्यहरू र अन्य सरोकारवालाहरूको अन्तरक्रियात्मक प्रशिक्षण सत्रहरू सञ्चालन हुनेछन् । यसका अतिरिक्त मेलामा सदस्यहरूलाई एम्नेस्टी इन्टरनेसनलले कसरी आफ्नो मानव अधिकारसम्बन्धी गतिविधिहरू गर्छ, कसरी अभियानहरू सञ्चालन गर्दछ र कसरी यसका युवा सदस्यहरूले मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा योगदान गर्न सक्छन् भन्नेबारेमा पनि प्रशिक्षित गर्नेछ । इजरायल-गाजा द्वन्द्वमा युद्धविरामको माग गर्दै एम्नेस्टीका सदस्य तथा समर्थकहरूले पोखराको लेकसाइडमा पनि एक ¥याली आयोजना गर्ने बताइएको छ ।
युवा सदस्यहरूलाई मानव अधिकारका विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २००६ देखि युथ मेलाको आयोजना गर्दै आएको छ । विगत १५ वर्षदेखि हालसम्म १५०० भन्दा बढी युवा अभियन्ताहरूलाई यस्तो प्रशिक्षण प्रदान गरिसकिएको छ । तीन दिनसम्म आयोजना हुने मेलामा देशका विभिन्न भागमा रहेका ५० भन्दा बढी युथ नेटवर्कमा आबद्ध तथा व्यक्तिगत सदस्यहरूसमेत गरी १०० भन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहनेछ । एम्नेस्टी इन्टरनेसनल नेपाल एक करोडभन्दा बढी सदस्य र समर्थकहरूको विश्वव्यापी मानव अधिकार आन्दोलनको एक हिस्सा हो र नेपालमा यो अभियान सन् १९६९ देखि सक्रिय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच