लुकेको योद्धा नवराजको अनन्त यात्रा

Read Time = 20 mins

✍️ लक्ष्मी अधिकारी

हुन त स्वर्गीय नवराज दाहाल मेरा नातेदार भए पनि नेपालको सामाजिक क्षेत्रमा धेरै चिनिएका मान्छे होइनन् तापनि प्रत्येक मान्छे देशको नागरिक हो । उसका पनि नसनाता र आयाम पनि हुन्छन् । उनी एउटा समयमा नेपालको जेठो राजनीतिक दल नेपाली कांग्रेससँग पनि संलग्न थिए । यद्यपि उनी पछि शैलजा आचार्य कृषिमन्त्री भएका बेला कृषि विकास बैंकमा जागिरे भए र इमानदारीपूर्वक जागिर खाएर नै इहलीला सकेर अनन्तको यात्रातिर लागे । २०७९ साल भादौ १४ गते उनको तेह्रौं दिन पर्दोरहेछ । यो १३आंैं पुण्य तिथिका अवसरमा उहाँको अनन्त यात्राका सम्बन्धमा केही शब्दश्रद्धाञ्जलि अर्पण गर्नु सान्दर्भिक ठान्छु ।

बहुआयमिक प्रतिभाका धनी स्व. दाहालको जीवनका विविध आयमहरू छन् र सबैका सम्बन्धमा चर्चा गर्नु सम्भव छैन । उनका मूलभूत पक्षमा रहेर स्मृतिका केही शब्द अर्पण गर्नु सान्दर्भिक हुन्छ । यस लेखमा स्वर्गीय दाहालको संंक्षिप्त जीवनीतिर दृष्टि दिँदा उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान, कुशल वित्तीय व्यवस्थापकका रूपमा देश र जनताको सेवा गर्दै एउटा निष्ठावान नेपाली कर्मचारीका रूपमा निर्वाह गरेको भूमिका स्मरणयोग्य रहेका देखिन्छन् । उहाँ निम्बार्क दर्शनमा विश्वास गर्नुहुन्थ्यो । यो शब्द निम्ब र अर्कका योगबाट बनेको देखिन्छ ।

नवराज दाहालको जन्म लोकतान्त्रिक नेपालको खुला आकाशमुनि विसं २००९ सालमा रामेछाप जिल्लाको रातमाटेमा भएको हो । आर्थिक दृष्टिले सम्पन्न, सामाजिक दृष्टिले कुलीन र सभ्यताका दृष्टिले उच्च आदर्श बोकेको परिवारमा जन्मिएका दाहालको बाल्यकाल सुखसयलमै बितेको थियो ।

यस दर्शनको परिपालन उहाँले आजीवन गरेर जानुभएको हुनाले पौरस्त्य वैदिक शास्त्रका आधारमा वैष्णवहरू गोलोक धाम जन्छन् भन्ने विश्वास गर्दछन् । विशेष प्रकारको सहनशीलताको नाम वैष्णव हो शास्त्रीय दृष्टिले । मानव जीवनका सकारात्मक र नकारात्मक दुई पाटाहरू हुन्छन् । मसिनु गरी हेर्दा प्रत्येक मान्छेका गुण र अवगुण रहेका नै हुन्छन् । यो संंसार कर्ममय छ । अतः यहाँ आएका सबैले कुनै न कुनै प्रकारको कर्म गर्छन्, गर्नैपर्छ पनि । दाहालको जीवनलाई नियाल्दा नकारात्मकभन्दा पनि सकारात्मक पक्ष प्रबल रहेको देखिन्छ । एउटा साधारण वैष्णव गृहस्थ भएर पनि नित्यजीवनका कतिपय कुरालाई यहाँ स्मरण गर्न खेजिएको छ र भविष्यमा थप इच्छुक व्यक्तिबाट थप अध्ययन अनुसन्धानका निम्ति केही प्रश्नहरू उठान गर्न खोजिएको छ ।

नवराज दाहालको जन्म लोकतान्त्रिक नेपालको खुला आकाशमुनि विसं २००९ सालमा रामेछाप जिल्लाको रातमाटेमा भएको हो । आर्थिक दृष्टिले सम्पन्न, सामाजिक दृष्टिले कुलीन र सभ्यताका दृष्टिले उच्च आदर्श बोकेको परिवारमा जन्मिएका दाहालको बाल्यकाल सुखसयलमै बितेको थियो । घरैमा अक्षरारम्भ गरेर युवावस्थामा अध्ययनका निमित्त उहाँ जनकपुर पुग्नुभएको थियो । जनकपुरमा शहीद सरोज कोइराला, बोध दादा, महेन्द्रनारायण निधि आदि नेताका सानिध्य र अभिप्रेरणाबाट दाहाल नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्नुभएको थियो । जनकपुरमा छँदा दाहाल नेपाल विद्यार्थी संघको विद्यालयस्तरीय समितिमा निर्वाचत हुनुभएको थियो ।

उच्च शिक्षा अध्ययन गर्दागर्दै दाहाल विद्यार्थी आन्दोलनमा सरिक हुन थाल्नुभएको हुनाले र समाजमा आएका आधुनिकताका अभिलक्षणले उहाँलाई स्पर्श नगरी छाडेनथ्यो भन्ने कुरा उहाँलगायत परिवारका सदस्यबाट बेलाबखत मैले सुन्ने गरेकी थिएँ । दाहालको विद्यालय शिक्षा रामेछाप र जनकपुरबाट पूरा भएको थियो । आइकम (व्यवस्थापन) विराटनगरबाट पूरा गरे पनि विद्यार्थी आन्दोलनको संलग्नता र पञ्चायतकालीन राजनीतिक उतारचढावले गर्दा स्नातक तहको अध्ययन भारतबाट र स्नानकोेत्तर (व्यवस्थापन) त्रिभुवन विश्वविद्यालयबाट पूरा गर्नुभएको स्वर्गीय नवराज दाहालले निरन्तर लोकतान्त्रिक आन्दोलनको सहभागिताका कारणले पञ्चायतकालीन अवधिभर कुनै पेशा व्यवसाय गर्न नपाएको भए तापनि उहाँले विसं २०४६ सालमा प्रजातन्त्रको आगमनसँगै वित्तीय प्रशासक एवं व्यवस्थापकका रूपमा प्रवेश गरी जीवनको उत्तराद्र्घसम्म काम गरिनै रहनुभएको थियो ।

पञ्चायत कालमै अध्ययनको निरन्तरता, समुचित अभिभावकत्वको अभाव र लोकतान्त्रिक आन्दोलनमा निरन्तर लागिरहँदा प्रायः सबै पैत्रिक सम्पत्ति सकिएको कुराको चर्चा स्वर्गीय दाहालले गर्ने गरेको सुनिन्थ्यो । घरपरिवारको जीविकोपार्जनका निम्ति सरकारी वित्तीय संंस्थामा प्रशासक भई कार्य गरेका दाहालले अर्थ संग्रहका लागि कहिल्यै अनुचित काम गरेको कतै कसैबाट सुनिएन । सायद पारिवारिक संंस्कार र लोकतान्त्रिक आन्दोलनप्रतिको निष्ठाले उहाँलाई सही मार्गमा हिँडाएको हुनुपर्दछ । सादगी, इमानदारीता र निष्ठा स्वर्गीय दाहालका परिचायक थिए । बीपी कोइरालाको मार्ग निर्देशन र सरोज कोइराला, शैलजा आचार्य, भीमबहादुर तामाङ, आनन्दप्रसाद ढुंगााना, प्रदीप गिरि, दुर्गा सुवेदीलगायत नेताहरूको संंगतले दाहालको गान्धीवादी चरित्र निर्माणमा र लोकतन्त्रप्रतिको निष्ठा अटुट रहनुमा महत्वपूर्ण भूमिका रहेको पनि हुनसक्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय दाहालको महत्वपूर्ण योगदान रहेको छ । उहाँ विद्यालयस्तरीय शिक्षा आर्जन गर्दादेखि नै प्रजातन्त्रको पुनर्वहलीका निम्ति विद्यार्थी आन्दोलनमा संलग्न रहनुभयो । करिब २ वर्ष जनकपुरमा जेलजीवन व्यतीत पनि गर्नु भएको थियो भने उच्च शिक्षा हसिल गर्ने क्रममा थप दुई वर्ष विराटनगरमा राजबन्दीका रूपमा बन्दी जीवन बिताउनुभएको थियो । पञ्चायतकालीन अवधिभर गिरफ्तारी दिँदै उहाँले लामो समय जेलजीवन व्यतीत गरेको देखिन्छ । यसका अतिरिक्त २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापूर्व ६ महिना काठमाडौंस्थित सेन्ट्रल जेलमा राजबन्दीका रूपमा रहनुभएका दाहालले आफ्नो जीवनको युवा तथा ऊर्जावान समय प्रजातन्त्रको पुनःस्थापनाका निम्ति सर्मपण गर्नु भएको थियो ।

बीपी कोइरालाको सानिध्यमा रहेर प्रतिवबन्धित कालमा नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीति गरेका दाहाल शैलजा आचार्य, भीमबहादुर तामाङ, प्रदीप गिरि, दुर्गा सुवेदीलगायत नेताहरूका प्रभावले गान्धीवादी जीवनदर्शनमा नै अविचल रहने प्रयत्न गर्नुभएको थियो । राजनीतिलाई सेवाभावका रूपमा बुझेका दाहालले आफूले गरेको राजनीतिक योगदानको कहिल्यै पनि प्रतिफल माग्नुभएन र जीवनभर कुनै लाभ लिनुभएन । यसले पनि उहाँको वैचारिक स्पष्टता कुन तहको थियो भन्ने कुरालाई इंगित गर्दछ । पछिल्लो समय गत स्थानीय निर्वाचन २०७९ मा उहाँका कान्छा छोरा (अष्ट्रेलिया बसोवास गर्ने) ले काठमाडौंको मेयर पदमा बालेन्द्र साहलाई मतदान गर्न अग्रह गर्नुभएको थियो ।

जवाफमा दाहालले ‘जुन विचार मूल्य पद्घतिका लागि जीवनभर लडेँ तिमीले भन्दैमा म भोट दिन्न, मैले भोट दिने भनेको कांगे्रसलाई हो चाहे कांगे्रस जति नै वैचारिक र व्यावहारिक रूपमा स्खलित होस्’ भन्नुभएको थियो । यसर्थ दाहालले कहिल्यै पनि प्रजातान्त्रिक मूल्यपद्घति र आफ्नो राजनीतिक निष्ठाबाट विचलित भएको व्यवहार तथा विचार प्रकट गरेको देखिएन । सम्भवतः यिनै जस्ता धेरै निष्ठावान शुभेच्छुकका कारणले नै नेपाली कांग्रेसलाई जीवन्त लोकतान्त्रिक पार्टीका रूपमा उभ्याइराखेको छ ।

लोकतान्त्रिक आन्दोलन र पार्टीमा क्रियाशील रहँदै गर्दा पार्टीका नेता तथा कार्यकर्ताको पद प्राप्तिका लागि अस्वाभाविक प्रतिस्पर्धा देखेपछि दाहालले कुनै पेशामा संलग्न भएर जीविका चलाउने, देश र जनताको सेवा पनि हुने आफूले बाल्यकालदेखि अवलम्बन गरेको वैचारिक वृत्तका निष्ठामा अविचलित भई अडिन पाउने भन्ने ठानेर जागिरे जीवन रोज्नुभएको रहेछ जस्तो पनि परिवारका सदस्यले लख काट्ने गरेको भेटिन्छ ।

प्रजातन्त्रको पुनःस्थापनासँगै पूर्णकालीन राजनीति गर्न पैत्रिक सम्पत्तिको कमी र अनुचित तरिकाले अर्थ संंग्रह गर्न नैतिकताले नदिने भएपछि सरकारी वित्तीय संस्थामा प्रशाशकका रूपमा पेशा सुरु गरी दाहालले करिब २५ वर्ष सेवा गरेर परिवारको भरणपोषण गर्नुभएको थियो । नेपालभरि नै शाखाहरू रहेको कृषि विकास बैंकको शाखा प्रबन्धक, क्षेत्रीय कार्यलय प्रमुख र केन्द्रीय कार्यलयमा व्यवस्थापक जस्ता उच्च श्रेणीमा रही कार्य गर्नु भएका दाहालको जीवन भने सादगी नै रहेको भेटिन्छ । नियम र विधिभन्दा बाहिर गएर कार्य नगरेकाले उहाँलाई कुनै पनि शाखामा लामो समय बस्न नदिई सरुवा गरिन्थ्यो । यसो हुनुमा अनुचित र नियमविपरीत तरिकाबाट अर्थोपार्जन नगर्नु र विभिन्न प्रभुत्वशाली व्यक्तिलाई भेटी नचढाउनु नै हो भन्ने ठम्याइ शुभेच्छुकजनको पाइन्छ ।

निष्ठा र इमानदारीताको राजनीतिक पृष्ठभूमिबाट आएकाहरूले अनियमित कार्य गर्नु सम्भव थिएन । यस्ता इमानदार र निष्ठावान व्यक्तिहरूका कारणले नै कृषिविकास बैंकले वित्तीय क्षेत्रमा सफलता पाउँदै आएको हुनसक्छ । वित्तीय संंस्थाको उच्च पदमा रहेर कार्य गरे तापनि उहाँको सादगीयुक्त जीवनको प्रतिबिम्ब गौरीघाटस्थित सामान्य घर, घरपरिवारको जीवनशैली र उच्च आर्दश बोकेको अध्यात्म चिन्तनस्थलका रूपमा खुला किताब जस्तै छ । एउटा आदर्श जीवनको नमुना कस्तो हुनुपर्दछ भन्ने विषयको सिकाइ स्वर्गीय दाहालको घरलाई पढ्दा पुग्छ । भावी सन्ततिका लागि पे्ररणाको स्रोत बन्नेछ ।

दाहालको निष्ठा, इमानदारीता र सादगीपनलाई निरन्तरता दिन उहाँले अनुसरण गरेको अध्यात्म चिन्तनलाई उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । नवराज दाहालका जीवनको उत्तरार्ध भने भगवच्चरणानुरागीका रूपमा व्यतीत भएको थियो । भगवच्चरणानुरागी हुनुमा उहाँकी धर्मपत्नी सुदेवी सिग्देल दाहालको महत्वपूर्ण भूमिका थियो । अखिल भारतीय निम्बार्क पीठ सलेमावदका पीठाधीश्वर अनन्त विभूषित जगद्गुरु श्रीजी श्री राधासर्वेश्वरशरणका शिष्य दाहाल श्रीनिम्बार्क दर्शनको चिन्तन, भक्तिमार्गको दिनचर्या र संंस्थागत रूपमा श्रीनिम्बार्क दर्शनको प्रचार–प्रसार एवं त्यस दर्शनको प्रर्बधनमा जीवन पर्यन्त क्रियाशील रहेको देखियो ।

निष्ठा र इमानदारीताको राजनीतिक पृष्ठभूमिबाट आएकाहरूले अनियमित कार्य गर्नु सम्भव थिएन । यस्ता इमानदार र निष्ठावान व्यक्तिहरूका कारणले नै कृषिविकास बैंकले वित्तीय क्षेत्रमा सफलता पाउँदै आएको पनि हुनसक्छ ।

श्रीनिम्बार्क दर्शनले निर्देशित गरेको जीवनशैली, नित्य शालीग्रामको सेवा, दर्शनका पुस्तकको अध्ययन र समाजसेवा नियमित कर्मअन्तर्गत पर्दथे । निम्बार्क दर्शनलाई नेपालीहरू माझ स्थापित गर्न श्रीजी महाराजको नाममा संस्थागत स्वरूपमा कार्य गर्दै आइरहनु भएको थियो । पाशुपत क्षेत्रको निवासले दैनिक पशुपतिनाथको दर्शन र शैव संस्कृतिको मानवीय व्यवहार नवराज दाहालका विशिष्ट गुण थिए । पंंक्तिकारले चिने र जानेदेखि मृत्युपर्यन्त दाहालले कुनै व्यक्तिलाई उचोनिचो व्यवहार गरेको अनुभव भएन । स्नेह, सम्मान र सद्भाव हरेक व्यक्तिको चाहनालाई राम्रोसँग बुझेका दाहालले जीवन र जगतलाई फराकिलो दायरामा राखेको पाइन्थ्यो । वेदान्त दशश्लोकीको पहिलो र दोस्रो श्लोकको भावलाई जीवन दर्शनका रूपमा अनुसरण गरेकाले हरेक मानवलाई
ज्ञानस्वरूपञ्च हरेरधीनं शरीरसंयोगवियोगयोग्यम् ।
अणुं हि जीवं प्रतिदेहभिन्नं ज्ञातृत्ववन्तं यदनन्तमाहुः ।।१।।
अनादिमायापरियुक्तरुपं त्वेनं विदुर्ये भगवत्प्रसादात् ।
मुक्तञ्च बद्घं किल बद्घमुक्तं प्रभेदबाहुल्यमथापि बोध्यम् ।।२।।
ज्ञानस्वरूपका दृष्टिकोणले हेरिनु पर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो । जसले गर्दा हरेक व्यक्ति ईश्वरका दृष्टिले समान हुन्छन् भने मानवले मानवलाई किन विभेद गर्ने भन्ने प्रश्न उहाँ गर्नुहुन्थ्यो । पंक्तिकार पनि दाहालले नेतृत्व गरेको लामो तीर्थ यात्रामा सहभागी हुँदा उहाँका जीवनका विविध पाटालाई जान्ने र सिक्ने मौका मिलेको थियो । एक निष्ठावान र धर्मात्मा व्यक्तिको जीवनको अन्तिम यात्रा कति सहज हँुदोरहेछ त्यसलाई अनुभूति गर्नेसम्मको मौका मिल्यो ।

अन्तमा, भगवच्चरणानुरागी स्वर्गीय नवराज दाहालको भगवत् प्राप्ति होस् । दाहालकी धर्मपत्नि श्री सुदेवी सिग्देल दाहाल (श्री निम्बार्क वैष्णव परिषद् नेपालका केन्द्रीय सदस्य), छोराहरू अरौद्र दाहाल र अधृत दाहाल एवं सम्पूर्ण दाहाल परिवारका साथै सम्पूर्ण शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । (अधिकारी बानेश्वर बहुमुखी क्याम्पसको समाजशास्त्र विषयकी उप-प्राध्यापक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?