काठमाडौं । संघीय सरकारमा संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहँदा मधेश प्रदेशमा भने सरकारको नेतृत्व प्रदेश सभाको चौथो ठूलो दल जनमत पार्टीले गर्ने भएको छ । संसदीय अंकगणित र राजनीतिक उतारचढावबीच संघमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन पाएन भने मधेशमा ठूलो दल नेकपा एमालेले सरकारको नेतृत्व गर्न पाएन । २०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि संघीय संसद्मा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी तेस्रो र रास्वपा चौथो ठूलो शक्ति बनेका थिए । कांग्रेस र एमाले दुवैले सरकारको नेतृत्वमा दाबी पुर्याउन नसक्दा तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएको थियो । त्यसयता प्रधानमन्त्री प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेको समर्थन लिएर सरकार टिकाइरहनु भएको छ ।
मधेश प्रदेश सभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बन्दै हुनुहुन्छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबार बिहान १० बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिनुभएको छ । सिंहलाई नेकपा एमालेका २४, नेकपा माओवादीका नौ र एकीकृत समाजवादीका सातजना सांसदको समर्थन रहनेछ । जनमत आफैँसँग भने मधेश प्रदेश सभामा १३ सांसद छन् । मुख्यमन्त्रीको रूपमा संसदीय दलका नेता महेशप्रसाद यादवको चर्चा भए पनि सिंहले अवसर पाउन लाग्नुभएको हो । यादव र सिंह दुवै जनमतका केन्द्रीय अध्यक्ष डा.सिके राउतले जितेको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गतका प्रदेशसभा क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।
मधेशमा लगातार जनता समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गर्दै आएको थियो । २०७९ को प्रदेशसभा निर्वाचनपछि तेस्रो दल बने पनि जसपाले नै सरकारको नेतृत्व गर्ने अवसर पायो । जसपा नेपाल विभाजन भएसँगै संघीय सत्ता समीकरणमा परेको असरका कारण मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार ढल्न पुग्यो । नेपाली कांग्रेस र लोसपाको समर्थन पाए पनि जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत हासिल गर्न सक्नुभएन ।
मधेश सरकारको नेतृत्वमा नयाँ गठबन्धनबाट नेकपा एमालेले दाबी गरे तापनि जनमतले अडान नछाडेपछि परिस्थिति बदलिएको हो । ‘मधेशको सबैभन्दा ठूलो दलका रूपमा हामीले सरकारको नेतृत्वमा दाबी गरे पनि गठबन्धनका केही बाध्यता र अंकगणितका कारण जनमतको नेतृत्व स्वीकारेका हौँ’, एमालेका एक नेताको भनाइ छ । मधेशमा सरकारको नेतृत्व लिनकै लागि जनमतले संघमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।
‘जनमतमा विवाद छैन’
संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रचलनविपरीत मधेशमा जनमत पार्टीले प्रदेशसभा सदस्य सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय लियो । यसबाट जनमत पार्टीभित्र केही असन्तुष्टि बढेको आँकलन गरिन्छ । सतहमा प्रस्तुत नभए पनि संसदीय दलको नेता महेशप्रसाद यादव पार्टी अध्यक्ष डा.सिके राउतको निर्णयबाट सन्तुष्ट नरहेको बताइन्छ । जनमत पार्टीले भने सरकारको नेतृत्वको विषयमा पार्टीभित्र कुनै पनि विवाद नरहेको दाबी गरेको छ । जनमत पार्टीका राष्ट्रिय सचिव बिपी साह मधेशमा कुनै विवाद नरहेको बताउनुहुन्छ । ‘हाम्रो पार्टीको नीति भनेकै नयाँ नेतृत्वलाई अवसर दिने हो । यसअघि सरकारमा जाँदा संसदीय दलको नेता मन्त्री बन्नुभएको थियो अहिले सतिशजी मुख्यमन्त्री बन्नुहुन्छ । यसले पार्टीभित्र केही फरक पार्दैन’, साहले हिमालय टाइम्ससँग भन्नुभयो । जनमतभित्र विवाद सिर्जना गराउन विपक्षी पार्टीहरूले प्रयत्न गरेको हुनसक्ने साहको आरोप छ ।
‘बलियो विपक्षी’
चौथो ठूलो दलको नेतृत्वमा बन्दै गरेको मधेश प्रदेशको गठबन्धन सरकारले विपक्षी पनि बलियै पाउने भएको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल जसपा नेपाल र पाँचौँ ठूलो दल लोसपा मधेशमा प्रतिपक्षी बेञ्चमा हुनेछन् । कांग्रेससँग २२, जसपासँग १९ र लोसपासँग नौ सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकारको निरन्तरताका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ । हाल विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन् ।
को हुन् सिंह ?
सतिशकुमार सिंह मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति हुनुहुन्छ । स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएका सिंह २०७९ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनावमा उठ्दा नेपाली कांग्रेसका अरुणकुमार मण्डलसँग पराजित हुनुभएको थियो । त्यसपछि प्रदेशसभा सदस्य निर्वाचनको केही महिनाअघि डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित हुन सफल हुनुभयो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ घर हुनुभएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य हुनुहुन्छ । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिनुभएको हो । सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय हुनुहुन्थ्यो । सतिशका परिवारको अहिले पनि गाउँमा दबदबा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच