काठमाडौं । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना मध्य भोटेकोशी जलविद्युत् आयोजना धराशायी बन्दै गएको छ । केही व्यवस्थापकहरूको लापरबाही र आर्थिक अनियमितताका कारण हाल अन्तिम अवस्थामा रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजना अनिश्चिततातर्फ धकेलिएको हो । कम्पनीका माथिल्लो व्यवस्थापकले गरेका गल्ती तथा बदमासीका कारण लाखौँ जनताको लगानी रहेको आयोजना धराशायी बनेको हो । काम सकिनै लागेका बेला आयोजनाको सुरुङबाट पानी भर्ने क्रममा लिकेज भएपछि थप समस्या उत्पन्न भएको छ । निर्माणाधीन सब स्टेसनको कार्य सम्पन्न हुन अझै बाँकी छ ।
पानी लिकेज भएको सुरुङ मर्मत गर्न कति समय लाग्ने हो भन्ने पनि अन्योल देखिएको छ । सुरुङमा आएको समस्या समाधान गर्नुको साटो ढाकछोप गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) रामगोपाल शिवाकोटी र प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठले माथिल्लो तहका कर्मचारीहरूलाई निष्कासन गरेपछि आयोजना थप अनिश्चिततातर्फ धकेलिएको हो । जटिल समयमा परामर्शदाता कम्पनीमा वर्षौंदेखि कार्यरत टिम लिडरलाई बिदा गर्ने निर्णय गर्नु र प्रसारण लाइनको विवाद समाधान अन्तिम अवस्थामा पुर्याएका आयोजना प्रमुखको काज फिर्तालगायत निर्णयले थप अन्योल सिर्जना गरेको हो । सानोभन्दा सानो विषयमा समेत कमिटी गठन गरी भत्ताको व्यवस्ता गर्ने कम्पनीले गम्भीर विषयमा किन छानविन कमिटी गठन गरेन रहस्यको विषय बनेको छ । यस्तै, लगभग समाधानउन्मुख भइसकेको प्रसारण लाइनको विवाद पनि झनै पेचिलो बन्दै गएको छ । साथै ४०० केभी पलांतीदेखि लप्सीफेदी तथा खिम्तीको प्रसारण लाइनको कार्य अझै अनिश्चित छ । तर, आयोजना कम्पनीले भने प्रसारण लाइनको विषय देखाएर पन्छिन खोजेको छ ।
लागत बढेर २१ अर्ब पुग्यो, म्याद थपेको थप्यै
सन् २०१६ मा निर्माण सम्पन्न गर्नेगरी सन् २०१३ मा आयोजनाको काम सुरु भएको थियो । तीन वर्षमा सकिनुपर्ने आयोजना हाल ११ वर्ष भइसक्दा पनि विद्युत् उत्पादन अनिश्चित छ । कर्मचारी सञ्चय कोषले ५० प्रतिशत ऋण लगानी गरेको आयोजनको कुल लागत १४ अर्ब ७२ करोड रहेको थियो । हाल आयोजनाको लागत बढेर ब्याजबाहेक १६ अर्ब पुगेको छ भने ब्याजसमेत करिब २१ अर्ब पुगेको छ ।
करिब ६ अर्ब लागत बढेको आयोजनाको लागत अझै कति बढ्ने हो अनिश्चित छ । वार्षिक ५४२.२ गिगावाट आवर बिजुली उत्पादन गर्ने आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ८.४ र वर्षाको समयमा ४.८ रुपैयाँको दरले विद्युत् खरिद बिक्री सम्झौता गरेको थियो । आयोजना सम्पन्न भएको भए हालसम्म आठ वर्षमा करिब २२ अर्ब ५० करोड आम्दानी गरिसकेको हुन्थ्यो । ठेकेदार कम्पनीको मागबमोजिम ११ पटक समय थपिएको छ । हाललाई परामर्शदाताले आगामी साउन २४ सम्म समय थप गर्न सिफारिश गरेको छ ।
अनियमितता गर्न सेटिङमा सिइयो नियुक्त
कम्पनीका प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठ हुनुुहुन्छ । उहाँ कम्पनीका पूर्व–एमडीसमेत हुनुहुन्छ । उहाँले व्यक्तिगत फाइदाको लागि अर्बौं रकम बराबरको एलसीबिना कुनै सूचना र प्रतिस्पर्धा नेपाल इन्भेष्टमेन्ट बैंकलाई दिएर अनियमितता गरेको स्रोत बताउँछ । स्रोतका अनुसार बैंकको एलसी विभाग प्रमुखमा श्रेष्ठकै श्रीमती हुनुहुन्छ । उहाँकी श्रीमती अवकाशपछि पनि कानुनविपरीत बैंकको दरबारमार्ग शाखामा थप सुविधासहित कार्यरत रहिरहेको स्रोत बताउँछ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइयो) रामगोपाल शिवाकोटी विगत चार वर्षदेखि साइट कार्यालयमा नगई केन्द्रीय कार्यालयमा बसेर सेवासुविधा लिइरहेको पाइएको छ । जबकि उहाँको नियुक्ति नै जालझेलपूर्ण थियो । उहाँलाई सिइयो नियुक्ति गर्न पहिलो आवेदनमा भएको उमेर हद ५७ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको थियो । नियुक्ति गर्दा कम्तीमा १५ दिन साइट कार्यालय उपस्थित हुनुपर्ने उल्लेख थियो । नियुक्ति प्रतिक्रियामा प्रश्न उठ्ने डरले कम्पनीले आफ्नो वेबसाइटबाट समेत आवेदनको सूचना हटाएको छ । शिवाकोटीले आफूलाई सिइयो नियुक्ति गरेबापत साधारण सेयरबाट संकलित रकम कम्पनीको हितमा जम्मा नगरी केही सञ्चालकहरूलाई खुसी पार्न उनीहरू अनुकूलको बैंकमा जम्मा गरी अपचलन गरेको पाइएको छ ।
इलेक्ट्रो मेकानिकलको ठेकेदार एण्ड्रिज हाइड्रोसँग सन् २०१३ मा प्री क्वालिफिकेसनको लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पावर हाउसका मेसिन तथा उपकरण सप्लाई गर्ने विभिन्न कम्पनीबाट उपकरण नल्याई अर्कै कम्पनीबाट ल्याउन खोजिएको थियो । तर, तत्कालीन समयका निमित्त सिइयो विजयलाल श्रेष्ठ तथा त्यसपछिका सिइयो मणिकुमार काफ्लेले सात वर्षदेखि स्वीकार नगरेको विषय शिवाकोटीले भने स्वीकृति दिई सामान ल्याएको पाइएको छ । शिवाकाटी नियुक्तिपश्चात् सन् २०२१ मा अरूलाई बाईपास गरेर तुरुन्त निर्णय गर्न लगाई सम्झौताभन्दा बाहिरका कम्पनीका उपकरण ल्याएर जडान गरिएको पाइएको छ । सामान ल्याएबापत् करोडौँ रुपैयाँको अनियमितता गरेको स्रोत बताउँछ । निर्णयमा वरिष्ठ व्यवस्थापकहरूको हस्ताक्षर हुनुपर्नेमा तत्कालीन प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठ, करार महाशाखा प्रमुख रामप्रसाद सिलवाल र आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले हस्ताक्षर नगरेको स्रोतको दाबी छ ।
२४५ केभी एसएफ ६ जिआइएस भन्ने उपकरण सप्लाईका लागि पिक्यु गर्दा एबिबी लिमिटेड अथवा हाइसुङ लिमिटेड कोरिया भन्ने कम्पनीको जडान गर्ने सम्झौता भएकोमा हाल सोबाहेक जिई इण्डिया कम्पनीको जडान गरी आर्थिक अनियमितता गरेको हुनसक्ने स्रोत बताउँछ । जेनेरेटर ट्रान्सफर्मर भन्ने उपकरण सप्लाईको लागि पिक्यु गर्दा एबिबी लिमिटेड इण्डिया वा इम्को इण्डिया नाम गरेका कम्पनी मध्येको गर्ने भनिएकोमा सम्झौताविपरीत सोबाहेक इण्डो टेकम इण्डिया भन्ने कम्पनीको जडान गरिएको छ । २४५ केभी एसएफ ६ भन्ने उपकरण सप्लाईको लागि पिक्यु गर्दा एबिबी लि. इण्डिया/चाइना अथवा हाइसुङ लि. कोरिया भन्ने कम्पनीको जडान गरी आर्थिक अनियमितता गरेको स्रोत बताउँछ । यी सामान ल्याएर अर्बौं अनियमितता गर्न शिवाकोटीलाई सिइयो नियुक्त गरिएको स्रोत बताउँछ ।
अख्तियारको चरम दुरुपयोग
गुणस्तरीय उपकरण सप्लाई गर्न एकथरी कम्पनीको नाममा ठेक्का सम्झौता गर्ने तर, पछि विभिन्न बहानाबाजी गरी अर्बौंको चलखेल गर्ने परम्पराको निरन्तरतास्वरूप मिसन एण्ड्रिज नामक ठेकेदार कम्पनीले शिवाकोटीमार्फत स्वार्थ पूरा गरेको जानकारहरू बताउँछन् । मध्य भोटेकोशी कम्पनी अर्धसरकारी संस्था भए पनि शिवाकोटीले कम्पनीको नियम र सार्वजनिक खरिद ऐनविपरीत २२ मेगावाट क्षमताको शिवश्री हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्रसारण लाइनको निर्माण गर्ने बहानामा पाँच करोड निकासा गरेको पाइएको छ । पाँच करोड निकासामा उहाँले अधिकारको दुरुपयोग र आर्थिक अपचलनसमेत गरेको हुनसक्ने स्रोत बताउँछ । साथै उहाँले परामर्शदाता कम्पनीमा समेत सम्झौताविपरीत मापदण्ड पूरा नगरेका आफू अनुकूलका व्यक्तिलाई दबाब सिर्जना गरेर नियुक्ति गर्न लगाएको स्रोतको दाबी छ । उहाँले २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का पाएको कम्पनीलाई आर्थिक प्रलोभनमा पारी निर्माणाधीन सब स्टेसनको करोडौँको थप निर्माण कार्य बिना प्रतिस्पर्धा ठेक्का दिई अख्तियारको चरम दुरुपयोग गरेको पाइएको छ ।
ढाकछोप गर्न परामर्शदातालाई चर्को दबाब
सुरुङ निर्माणको क्रममा हाल पानी चुहिएको स्थानमा कंक्रिटको ढलान गर्नुपर्ने भए पनि अनयिमितता ढाकछोप गर्न प्राविधिक प्रबन्धक श्रेष्ठ र सिइयो शिवाकोटीले चुहिएको स्थानमा ढलान नगर्न परामर्शदातालाई चरम दबाब दिएका छन् । पानी चुहिएको ठाउँमा मर्मत गर्न एक वर्ष लाग्ने देखिएको छ । आफ्ना अनियमित हर्कतका कारण अर्बौंको क्षतिको दोषबाट बच्न शिवाकोटीले तत्कालीन आयोजना प्रमुख सूर्यनाथ भुर्तेल, परामर्शदाताका प्रमुखहरू लगायतलाई हटाएर आफू निकटकालाई परामर्शदाता कम्पनीको प्रमुख र सुरुङको कार्य सुपरभिजन कार्य गर्न लगाइरहेको र हाल आयोजना प्रमुखको समेत जिम्मा आफैँले लिएको स्रोतको दाबी छ । आफ्नो कमजोरी लुकाउन शिवाकोटीले अहिले प्रसारण लाइनलाई दोष दिएर उम्किन खोजेको स्रोतको दाबी छ ।
अख्तियार र अदालत जाने तयारीमा स्थानीय
प्रसारण लाइनमुनिका जग्गाधनीलगायत त्यस भेगका जनताले जनप्रतिनिधिमार्फत आफ्नो गुनासो राखे पनि शिवाकोटीले आफ्नै कारण अझै एक वर्ष पछाडि धकेलिएको आयोजनको दोष अरूलाई लगाई बदनाम गराउने कुचेष्टा गरेको पाइएको छ । स्थानीय लगानीकर्ता र सरोकारवालाले भने चुहिएको सुरुङको निरीक्षण गरी जडान गरिएका विभिन्न उपकरणहरूको वास्तविक अवस्थाबारे गहन अध्ययन गर्ने तयारी थालेका छन् । निरीक्षणपश्चात् जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजकमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण, जालसाजी तथा मानहानि मुद्दा दर्ताको लागि अदालत जाने तयारी गरेका छन् । सत्यतथ्य छानविन नभएसम्म विभिन्न स्थानीय सरोकारवालाहरूले दैनिक एक घण्टाको दरले निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रमको आयोजना गर्नेसमेत स्रोतले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच