अख्तियारद्वारा भन्सार विभागका तत्कालीन सुब्बाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्व दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेविरुद्ध मुद्दा दायर भएको जानकारी दिनुभएको हो ।

अवकाश प्राप्त आरोपित घिमिरेविरुद्ध एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरेर करोडौं सम्पत्ति कमाएको आरोप लागेको छ । यसरी गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती र परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद र जग्गा खरिदमा लगानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्मको अनुसन्धान जाँच अवधिमा वैधानिक आय भन्दा बढी कमाएको देखिएको हो ।

घिमिरेसहित निजको श्रीमती शारदा गौतम, छोरीको पारिश्रमिक आय, कर्मचारी संचय कोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल यी सबैको आय पाँच करोड २५ लाख १६ हजार ३२७ रुपियाँ रहेको खुल्न गएको आयोगले जनाएको छ ।
कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ को वैधानिक स्रोतको पुष्टि हुन नसेकोले सार्वजनिक पद धारण गरेको कर्मचारीले अस्वभाविक रकम आर्जन गरेको देखिएको हो ।

आरोपितमाथि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम असुल उपर गरी पाउन माग दाबीसहित विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको हो । उनलाई २०७९ जेठ १४ गते मध्यरात अर्थ मन्त्रालय पुगेर बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोप लागेको थियो ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिनासहित तीनजनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि आयोगले गलत लिखत तयार गरेको आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ ।

तिमल्सिना हाल सर्लाहीकै लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुखमा कार्यरत छन् । सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएका पाँचु रायलाई नियुक्ति दिएको, हाजिरी रेकर्डलगायत अभिलेखबिना र शिक्षक सरुवा गर्ने अधिकारीको निर्णय नै नगराई तिमिल्सिनाले नियुक्ति दिएको अख्तियारको आरोप छ । तिमल्सिनाले रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा गर्न नक्कली लिखत बनाएर गरिब जनता माविमा सरुवा गरेका आयोले जनाएको छ ।

साबिक डिम जनता उच्च माध्यमिक विद्यालय परवानीपुरका तत्कालीन प्राचार्य हाल रामअवतार जनता मावि हरिवनमा रहेका प्रधानाध्यापक नारायणप्रसाद बरालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनले शिक्षक रायलाई केश्वर माविको उमावि शिक्षक अनुदान कोटामा सरुवा गर्न डिम जनता परवानीपुरको निर्णयानुसार भनी अर्थशास्त्र विषयमा करार नियुक्त गरेको भनी नक्कली लिखत तयार पारेका थिए ।

साथै श्री केश्वर मावि हरिपुर्वाका शिक्षक रायलाई पनि प्रतिवादी बनाई अख्तियारले मुद्दा चलाएको प्रवक्ता भोला दाहालले जनाएका छन् । रायले उमावि शिक्षक अनुदान कोटाको शिक्षकको पदमा कार्यरत रही सोही ओहोदाबाट २०७४ सालको निर्वाचनमा मतदान अधिकृतको समेत काम गरेको नक्कली कागजात बनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?