नेपाली सेनाद्वारा गलकोट कोतघर जीर्णोद्धार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । शक्तिशाली राज्यको सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा जीर्णोद्धार गरिएको छ । कोतघर जीर्ण हुँदा चुहिने, अन्य भौतिक संरचना विग्रन थालेपछि नेपाली सेनाको आर्थिक तथा जनशक्ति व्यवस्थापनपछि अहिले गलकोट कोतघरको धमाधम जीर्णोद्धारको काम चलिरहेको छ । कोतघरलाई पुरानै मौलीक शैलीमा जीर्णोद्धार भइरहेको छ ।

गलकोट नगरपालिका-३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका-३ का वडा अध्यक्ष फम बहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुननिर्माण चलिरहेको र अहिले पुननिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मत संभार गर्दै आएपनि भत्काएर पुननिर्माण भने गरिएको थिएन ।

“बाहिरबाट रङ्गरोगन गरिएपनि भित्र काठहरु कुहिँएको रहेछ, ढुङ्गाको छाना चुहिँएर कोतघर जीर्ण भनेको थियो, नगरपालिकाले डिपिआर बनाएर कोतघरको पुननिर्माण गर्ने तथा कोतघर क्षेत्रको समग्र विकास गर्ने योजना चलिरहेको छ” वडा अध्यक्ष खत्रीले भन्नुभयो “नगरपालिकाको योजनामा नेपाली सेनाले साथ दिएको छ, अहिले सेनाले आर्थिक तथा श्रमदान गरिरहेको छ, स्थानीयले साथ र सहयोग गरेका छन् ।” खत्रीका अनुसार नगरपालिकाले हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी र शौचालय लगायत संरचना बनाइसकेको छ ।

नेपाली सेनाको श्रीमेहर गण, घोडाबाँधे बागलुङले दु्रत प्रभाव योजना अन्तर्गत गलकोट स्थित कोतघर जीर्णोद्धार गरिरहेको प्रमुख सेनानी धन बहादुर रानाले जानकारी दिनुभयो । ९ लाख बजेट तथा नेपाली सेनाको श्रमदानमा अहिले गलकोट कोतघरको जीर्णोद्धारको काम भइरहेको र असार भित्रै नगरपालिकालाई कोत घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने रानाको भनाई छ । कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गत पश्चिम पृतनाको बजेटमा कोतघर जीर्णोद्धार गरिएको रानाको भनाई छ ।

“बजेट नौ लाख भएपनि नेपाली सेनाले श्रमदान गरिरहेको छ भने स्थानीयले काठ समेत सहयोग गरेका छन्, थोरै बजेटमा धेरै काम गर्नका लागि सेनालाई स्थानीयले निरन्तर गरेको सहयोगले ऐतिहासिक कोतघर जीर्णोद्धार भइरहेको छ” प्रमुख सेनानी रानाले भन्नुभयो “गत आर्थिक वर्षमा पञ्चकोटमा नागरिकमैत्री हेलिप्याड निर्माण गरेको सेनाले अहिले कोतघर जीर्णोद्धार गरेको हो ।”

वैशाख २३ गतेबाट कोतघरको पुननिर्माण थालेको नेपाली सेनाले असार भित्रै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । कोतघर पुननिर्माणमा नेपाली सेनाका झण्डै ३० जना जनशक्ति दैनिक रुपमा परिचालन भइरहेको छ । ऐतिहासिक र पुरातात्विक महत्व झल्कने गरी कोतघरको जीर्णोद्धारले आन्तरिक पर्यटकहरुलाई समेत आकर्षित गर्नेछ । कोतघरमा टुडाल, झ्याल तथा ढोका पोखराबाट मगाइएको छ । काठलाई पुरानै स्वरुपमा ढालेर प्रयोगमा ल्याउन थालिएको छ ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी रु. ५० लाख बढीको पूर्वाधारको काम भइसकेको जानकारी दिनुभयो । उहाँले कोतघर क्षेत्रमा पूर्वाधार बनेपनि कोतघर भने पुननिर्माण गर्न नसक्दा कोतघर जीर्ण बनिरहेको थियो ।

उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएको स्थानीयको भनाई छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि त्यहाँ छ ।

राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । स्थानीयका अनुसार त्यहाँ झिँगटीले छाएको भुइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको छ । संगैको कोतघर २०४० तिर पुननिर्माण गरिएको थियो । कोतघरका झ्याल, ढोका मक्किएका थिए भने छानाबाट पानी चुहिने समस्याले कोतघर संरक्षणमा चुनौती थपिएपछि पुननिर्माण गरिएको छ ।

कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति र शिला छन् । खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार राख्नका लागि नेपाली सेनाले छुट्टै भवन समेत बनाइरहेको छ ।

कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएपछि कोतघरमा आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । अहिलेको गलकोट नगरपालिकाको नाम समेत यही कोबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ ।

कोतघरमा वडादशैँ र चैते दशैँमा विशेष पूजा गरिन्छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पर्थ्याे । विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?