साहित्यकार रवीन्द्र समीरको नवीनतम उपन्यास कृति ‘पैसाको उडान’ हालै प्रकाशनमा आएको छ । छोटा-छोटा आयामका घोषित पचपन्न अध्याय र अध्याय उल्लेख नगरिएको एउटा थालनी र एउटा टुङ्ग्याउनीसहित जम्मा सन्ताउन्नवटा अध्याय भएको ‘पैसाको उडान’ उपन्यासको समग्र आयाम पनि छोटै छ । जम्माजम्मी एक सय उन्तीस पृष्ठमा सम्पूर्ण उपन्यास अटाएको छ । यद्यपि लघु आयामको उपन्यास भए पनि यसको गुणवत्ता भने बृहत् लाग्छ । यो उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ ।
साहित्यकार रवीन्द्र समीरका यसअघिका उपन्यासहरू ‘मृत्युको आयु’ र ‘कोरोनातन्त्र’ जस्तै ‘पैसाको उडान’ पनि कथानाकको लघु आयाम अर्थात् लघुकथा शैलीमा लेखिएको छ । यो उपन्यास कता-कता पैसाको विषयमा लेखिएको शृङ्खलाबद्ध लघुकथाहरूको योग जस्तो पनि लाग्छ । यो शैलीको लेखनलाई नेपाली आख्यान विधामा साहित्यकार रवीन्द्र समीरको निजात्मक विशेषताको रूपमा लिन सकिन्छ र यसलाई उपन्यास लेखनको क्षेत्रमा रवीन्द्र समीरको एउटा नवीन प्रयोगकै रूपमा पनि लिन सकिन्छ । नेपाली लघुकथा लेखनको क्षेत्रमा निकै ख्याति कमाएका रवीन्द्र समीरले पछिल्लो समय उपन्यास लेखनमा देखाएको सक्रियता र नवीन प्रयोगले उनलाई उपन्यास विधामा पनि ख्याति दिलाउनेमा विश्वस्त हुन सकिन्छ ।
उपन्यासको प्रारम्भमै उल्लेख गरिएको युद्ध र शान्तिवार्ताको सन्दर्भले यो उपन्यास निश्चय पनि नेपालको माओवादी सशस्त्र युद्धको पृष्ठभूमिका लेखिएको भनेर अन्दाज गर्न सकिन्छ । यद्यपि कतै पनि प्रस्टरूपमा उल्लेख भने गरिएको पाइँदैन । सर्वहारावर्गको मुक्ति र हितका लागि लडिएको युद्धका नायकहरू शान्तिवार्तापछि धनयुद्धका नायक बनेर प्रकट भएको सन्दर्भलाई बलियोसँग कटाक्ष गरिएको छ । हिजोको सशस्त्र युद्धका नायक भनिएकाहरू अहिले नवसामन्तको रूपमा उदाएका र सशस्त्र युद्धका अरू धेरै साना पात्रहरू भने अझै पनि युद्धको पीडा, आर्थिक अभाव र विक्षिप्त मनोदशा बोकेर बाँच्न विवश भएको यथार्थप्रति लक्षित छ यो उपन्यास ।
सशस्त्र युद्धपछि माओवादी नेताहरूको आचरणमा र उनीहरूको जीवनशैलीमा आएको परिवर्तन अनि त्यही परिवर्तनका कारण माओवादी लडाकुहरूले भोग्नुपरेको मानसिक पीडा, आर्थिक अभाव र विक्षिप्त मनोदशा सँगसँगै .... ।
देशमा अचानक आगो बलेको, आगोमा होमिएको, युद्धका सेनाहरूको मस्तिष्क धुलाई गर्दा नेताहरूले ‘तपाईंलाई हार्नको लागि एउटा ज्यान छ भने जित्नको लागि संसार’ भनेको, अरूको भागमा बन्दुक पर्यो, उसको भागमा बैंक लुटेको पैसा र सुन, उसले केही बोरा माथि पठायो, केही बोरा जमिनमा गाड्यो र गाडधन तुल्यायो’ जस्ता सशस्त्र युद्धकालीन सन्दर्भहरूले यो उपन्यास दशवर्षे सशस्त्र युद्धकै पृष्ठभूमिका लेखिएको ठोकुवा गर्न सकिन्छ । तर त्यो युद्ध देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि भन्दा पनि केही व्यक्तिहरूको स्वार्थपूर्तिका लागि थियो भन्ने सन्दर्भ पनि उपन्यासमा उल्लेख गरिएको छ ।
उपन्यासको थालनीमै उल्लेख गरिएको छ, ‘कोही मनैदेखि सामाजिक रूपान्तरणको लागि होमिएका, कोही पद र शक्तिको लालसा बोकेर होमिएका, कोही पराइसँग बदला लिने उद्देश्यले बन्दुक बोकेका, कोही हतियारको ठूलो कमिसनको लागि लडेका, कोही देहाग्नि शान्त गर्न अशान्त भएका, कोही धर्म र संस्कृति ध्वस्त गर्ने आदेश पालन गरेका, कोही फगत चेसको गोटी बनेका.....!’ (पृष्ठ ९) दश वर्षे सशस्त्र युद्धभित्र लुकेको यथार्थ र हामीले अनुभूति गरेको पनि यस्तै नै हो । त्यसैले यो उपन्यास सशस्त्र युद्धको सहारामा कुबेर बनेको एउटा पात्रको पैसाको उन्मादको कथा हो । जसले सोच्छ, पैसाले सबथोक पाउन सकिन्छ । हो, पैसाले सबथोक पाउन सकिन्छ । पैसाले जीवनका सम्पूर्ण आवश्यकताहरू पूरा गरिदिन सक्छ, तर जीवन दिन सक्दैन । शाश्वत सत्य यही नै हो ।
दश वर्षे सशस्त्र युद्धपछि माओवादी नेताहरूको चरित्र र आचरणमा भएको परिवर्तन र उनीहरूको जीवनशैलीमा आएको परिवर्तन अनि त्यही परिवर्तनका कारण माओवादी लडाकुहरूले भोग्नुपरेको मानसिक पीडा, आर्थिक अभाव र विक्षिप्त मनोदशासँगसँगै आमजनताले भोग्नुपरेको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका बहुआयामिक असरलाई यो उपन्यासले इंगित गर्न खोजेको छ ।
‘ऊ पैसा उडाएर सांसद भयो । पैसा उडाएर पटके मन्त्री भयो । उसलाई व्यापारी तथा दुई नम्बरी मान्छेमात्र प्रिय लागे । मन्त्री भइरहँदा उसले भन्सार कब्जा गर्यो । ठेक्कापट्टा एकलौटी हात पार्यो । नीतिगत भष्टाचार गर्यो । अनि, देश दोहनमा सक्रिय भयो । छोटो समयमै ऊ अर्बौंको मालिक भयो ।’ (पृष्ठ १०) उपन्यासको थालनी पृष्ठमा उल्लेख गरिएको यी सन्दर्भले यो उपन्यास नेपालको वर्तमान राजनीतिको कुन पात्रप्रति लक्षित छ र यसले कस-कसलाई र के-केलाई कटाक्ष गरिरहेको छ भनेर बुझ्न सकिन्छ । उपन्यासमा उल्लेखित सन्दर्भहरू वर्तमानमा हामीले दैनन्दिन जीवनमा चर्चा गर्दै र चर्चा सुन्दै आइरहेका छौं । त्यसैले यो उपन्यास हाम्रै भोगाइको अभिव्यक्ति हो ।
उपन्यासमा लेखक रवीन्द्र समीरको विचार पक्ष निकै सशक्तरूपमा आएको छ । पैसाको महत्व र यसको सीमितताका बारेमा उनको बुझाइ यो उपन्यासमा अभिव्यक्त भएको छ ।
सशस्त्र युद्धको आडमा प्राप्त अकल्पनीय धनसम्पत्तिले कुबेर बनेको र ‘आजको दुनियाँमा पैसाले किन्न नसक्ने के छ ? म हर चिज किन्न सक्छु’ (पृष्ठ १५) भन्ने पात्र कुबेरको पैसाले निद्रा, भोक, खुसी, माया, समय, सुख, प्रतिष्ठा, स्वास्थ्य, इमान, रूप, हाँसो, आँसु, आस्था, शान्ति, ज्ञान, परिवार, तिर्खा, सम्मान, सन्तुष्टि, बफादारी, कानुन, संस्कृति, चरित्र, मस्तिष्क, इज्जत, पुरस्कार, सम्बन्ध, सिद्धान्त, आयु, मित्रता, मृत्यु, पुण्य, भावना, धर्म, वात्सल्य, आत्मा, स्वतन्त्रता, सपना, भाग्य, बाबुआमा आदि यावत भौतिक र अभौतिक वस्तु किन्न सकिन्छ भन्ने अहंले ऊभित्र क्रमशः मानसिक विचलन आएको संकेत गरेको छ । पैसाकै कारण उसमा डर, चिन्ता र भय उत्पन्न भएको छ ।
उसले व्यक्त गरेको डर, चिन्ता र भयको भावनाले उसमा मानसिक विचलन आएको प्रस्ट हुन्छ । यो मानसिक विचलन उसले अनैतिक ढंगले आर्जन गरेको पैसाकै कारण उत्पन्न भएको हो । उभित्रको डर, चिन्ता र भयको कारण उसले आफूसँगै सशस्त्र युद्धमा लडेको साथी सुदामाको साथ र सहयोग खोजेको छ । सुदामाले उसको पैसाले सबै थोक किन्न सकिन्छ भन्ने अहंलाई शान्त पार्ने प्रयास गरेको छ । उपन्यासमा सुदामा दर्शन र कुबेर दर्शनको तुलनात्मक विश्लेषण महसुस गर्न सकिन्छ ।
उपन्यासमा कुबेर खराब र सुदामालाई असल पात्रको रूपमा उभ्याउने प्रयास गरिएको छ । कुबेरको पैसाले सबै थोक किन्न सकिन्छ र सुदामाको पैसाले नै सबै थोक किन्न सकिन्न भन्ने दुई विपरीत विचारको द्वन्द्वमार्फत् पैसाका विविध आयामहरूको बारेमा चर्चा गरिएको छ । उपन्यासमा युद्धमार्फत् सँगै राजनीतिक जीवन सुरुवात गरेका कुबेर र सुदामामध्ये सुदामाको जीवनको आदर्शलाई सन्देशको रूपमा संप्रेषण गर्ने प्रयास पनि उपन्यासमा गरिएको छ ।
पैसा धेरै थोक हो, तर सबै थोक होइन । पैसाले मान्छेलाई धेरै थोक दिन सक्छ । मान्छेका धेरै आवश्यकता पैसाले पूरा गर्न सक्छ । तर पैसाले मान्छेलाई जीवन दिन सक्दैन । पैसाले नै मान्छेका भौतिक र जैविक सबै आवश्यकता पूरा गर्न पनि सक्दैन । यो उपन्यासमा पैसाको उन्मादले अन्धो जस्तै भएको कुबेरलाई यही सत्यको बोध गराउन सुदामाले हरसम्भव प्रयास गरेका छन् । अत्यधिक पैसाले मान्छेमा सकारात्मक मात्रै होइन, नकारात्मक प्रभाव पनि पार्छ । यो उपन्यासको मुख्य पात्र कुबेरलाई पनि पैसाले नै यस्तो दुष्प्रभाव पारेको देखाइएको छ । जसको परिणामस्वरूप ऊ पैसाको बलमा आफ्नो दिमाग नै परिवर्तन गरेर मान्छेभन्दा फरक मेशिन जस्तै बनेको छ । जसले सुख, दुःख, प्रेम, घृणाजस्ता भावनात्मक तथा संवेगात्मक अनुभूतिलाई बिर्सेको छ ।
उपन्यासमा लेखक रवीन्द्र समीरको विचार पक्ष निकै सशक्तरूपमा आएको छ । पैसाको महत्व र यसको सीमितताका बारेमा उनको बुझाइ यो उपन्यासमा अभिव्यक्त भएको छ । उपन्यासमा वर्णित विभिन्न उक्ति र सन्दर्भहरूले हाम्रा विभिन्न सामाजिक मूल्य र मान्यताहरूको महत्व र तिनको सान्दर्भिकतालाई पनि यो उपन्यासले उजागर गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच