![मधेस प्रदेशमा पानीको संकट : सरकारको मौनता र जनताको पीर](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Ujjwal-Jha.jpg)
बागलुङ । उप्किएका भित्ता । जीर्ण बनेका झ्याल ढोका । मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी राम्ररी नछेक्ने टहरो । हेर्दै दयनीय रहेको भवनमा ओत लागेर पढ्छन्,
निसेलढोरका बालबालिका । बागलुङको निसीखोला गाउँपालिका-६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीलाई चुहिने छानो र बतास नछेक्ने भवनमा पढ्न निकै असहज भइरहेको छ ।
२०६४ सालमा विद्यालय स्थापना भए पनि अहिलेसम्म विद्यालयको गतिलो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत सेवाको अभाव छ । आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठनको जोडतोड चलिरहेको बेला कुँडेढोरका विद्यार्थी चुहिने छानोमा बर्खाको बेला ओेत लागेर पढ्न बाध्य भएका हुन् । तीनवटा विद्यालय भवनमध्ये दुईवटा भवन कच्ची छन् । हावाहुरी चल्दा र वर्षा हुँदा कक्षा कोठामा बस्नै मिल्दैन । बागलुङ जिल्लाको सबैभन्दा विकटको विद्यालय हो निसेलढोरको कुँडेढोर प्राथमिक विद्यालय । विद्यालयमा अहिले ५२ जना विद्यार्थी अध्ययनरत छन् ।
बर्खा लागेपछि घुम्ती बसाइँमार्फत २५ जना विद्यार्थी थपिन्छन् । विद्यार्थी घट्दै गएका विद्यालयमा सुविधा सम्पन्न भवनहरू खाली हुँदै गइरहेको सन्दर्भमा यहाँको कुँडेढोर प्राथमिक चुहिने फलेकको छानोमुनि विद्यार्थी पढ्न बाध्य छन् ।
तीनवटा ब्लकमा रहेको विद्यालय भवनमध्ये एउटा भवन जीर्ण भएको छ । जीर्ण भवनभित्र बसेर पढ्न बाध्य छन् कक्षा पाँचका विद्यार्थी । पढाउने क्रममै छानोको रूपमा रहेको फलेक कुहिएर झर्ने गरेको र बर्खामा विद्यार्थीलाई पढाउने क्रममा पानी चुहिने समस्या रहेको कुँडेढोर प्राथमिक विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिनुभयो ।
‘विकटको विद्यालयमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई राम्रै कक्षा कोठामा अध्ययन गराउँदै आएका छौँ तर कक्षा पाँचका विद्यार्थीलाई कक्षा कोठाको अभावले समस्या भएको छ’ विकले भन्नुभयो, ‘गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यस पटकको बजेटमा भवन पर्ला ।’
कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहजता भएको कक्षा पाँचमा अध्ययनरत सृष्टि मगरले बताउनुभयो । मगरले दुर्गमको विद्यालयमा भौतिक पूर्वधारको खाँचो रहेको गुनासो गर्नुभयो । २०६४ सालअघि काठका फलेकले छाएर निर्माण गरिएको भवनको काठको फलेक कुहिएर पानी चुहिने भएको छ । उक्त भवनमा तत्कालै कुहिएका काठ हटाएर जस्ताले छाउन सकेमा विद्यार्थीलाई अध्ययनमा राहत हुने विद्यालयको भनाइ छ । ‘कक्षामा पानी पर्दा चुहिन्छ भने हिउँ पग्लेर कक्षा कोठा भरिन्छ’ विद्यार्थी मगरले भन्नुभयो, ‘पाँच कक्षासम्म मात्रै अध्ययन गर्न सकिने विकट गाउँमा यस पछिको अध्ययनका लागि आवसीय रूपमा बसेर पढ्न बाध्य छन् ।’
निसेलढोरमा अस्थायी र स्थायी गरी दुईथरी बस्ती रहेको छ । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट गर्मीको समयमा यहाँ आउने खेतीपाती गर्ने र चिसोमा बेँसी छर्ने गर्दछन् भने ५० घर स्थायी रूपमा भने निसेलढोरमै बस्ने गरेका छन् ।
निसीखोला-५ निसीको ज्ञानेन्द्र माध्यमिक विद्यालयलाई २०६४ साल अघिसम्म घुम्ती विद्यालयको रूपमा निसेलढोरमा विद्यालय चलाइए पनि २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको थियो । निसीखोला-५ निसीबाट सोही वडाको निसेलढोरमा आउनका लागि पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
निसेलढोरमा अहिले ढोरपाटन नगरपालिका-९ ढोरपाटन उपत्यकाबाट सडक पुगे पनि निसीखोलाबाट सोझै सडक पुर्याउन सकिएको छैन । पाँच महिना अघि मात्रै निसेलढोर सञ्चार दुनियाँमा जोडिए पनि अहिलेसम्म विद्युत्को पहुँच पुग्न नसकेको विकट गाउँ हो । घुम्ती बसाइँ रहेको निसीखोला गाउँपालिका-५ निसेलढोर प्राकृतिक रूपमा मनोरम भए पनि भौगोलिक रूपमा निकै विकट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच