![ऐतिहासिक तेस्रो कार्यकालको लागि शपथ लिँदै मोदी](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/PM-Parchanda-n-Modi-Hita-fornt-page.jpg)
औषधीय गुणलेयुक्त गाँजाको वैधानिकता र व्यावसायिकतासम्बन्धी प्रश्न केही वर्ष पहिलेदेखि उठ्दै आएको हो । नेपालका सन्दर्भमा यसलाई त्यति आश्चर्यको विषय मानिएको थिएन । किनभने गाँजा नेपालका विभिन्न गाउँठाउँमा आफैं उम्रिएर झाँगिने साना बुट्यान खालको वनस्पति हो । विशेषगरी चैत वैशाखतिर उम्रिने र पाँच/छ महिना जतिमा परिपक्व हुने यो वनस्पति हिउँद महिनामा मर्छ । लट्टे, बेथेजस्तै आकार प्रकार र औषत रूपको उचाइ हुने यस वनस्पतिमा भएको औषधीय गुणले गर्दा यो बहुउपयोगी मानिन्छ । तर, हरेक औषधीय गुण भएका वनस्पति वा औषधिहरू पनि मात्राभन्दा बढी उपयोग गरेका खण्डमा त्यो लाभको सट्टा हानिकारक बन्न जान्छ । गाँजाको सन्दर्भ पनि यस्तै हो ।
नेपाली समाजमा गाँजा लागूपर्दाथ मानिँदैनथ्यो तर तीसको दशकतिर अरू देशमा क्रमशः प्रतिबन्दित बन्दै गएको गाँजामाथि नेपालमा प्रतिबन्ध थिएन तब विदेशी विशेषगरी पश्चिमा देशका नागरिकहरू नेपालमा गाँजा प्रतिबन्धित छैन खुलेआम सेवन गर्न पाइन्छ भनेर नेपाल आउँने गर्थे । तिनमा अमेरिकीहरूको बाहुल्य थियो । विशेषगरी स्वयम्भूनाथको स्तूप छेउछाउको भागमा गाँजा तानेर लठ्ठ भएर बस्ने विदेशीहरूको झुण्ड देखिन्थ्यो । तिनलाई हिप्पी भन्न थालियो र साहित्यमा समेत त्यसले प्रवेश पाएर हिप्पिइजम भनेर अध्ययन नै गर्न सुरु भयो । अमेरिकाले आफ्ना नागरिकहरू यसरी लागूपदार्थ खाएर बरालिएको थाहा पाएपछि नेपाल सरकारसँग आग्रह गरेर गाँजामाथि प्रतिबन्ध लगाउन लगायो । त्यस बेलादेखि मात्र नेपालमा गाँजा प्रतिबन्ध भयो ।
त्यसपहिले र पछि पनि यसमा हिरोइन, ब्राउन सुगर, कोकिन, चरेर, अफिम आदिमा जस्तो कडाइ नभएका कारण आदत लागेकाहरू र साधुसन्तले यसलाई सेवन गर्दै आइरहेकै छन् । भाङजत्तिको लागूऔषध पनि यसलाई मानिँदैन । हुन त नेपाली समाजमा भाङको पनि अचार खाने गरिन्छ । गाँजा शिव भगवानले पनि सेवन गर्थे भन्ने मान्यताका आधारमा शिवरात्रिमा भारतबाट आउने हजारौं साधुसन्तलाई सरकारले नै गाँजा बाँड्ने गर्दै आएको छ । यस्ता अवसर पारेर त्यसदिन तिनै जोगीहरूसँग बसेर हजारौं नेपालीहरूले पनि गाँजा तानिरहेको देख्न सकिन्छ जसले गर्दा नेपालमा गाँजामाथि कडा प्रतिबन्ध छैनजस्तो देखिँदै आएको छ । परम्परागत रूपमा पहाडी गाउँघरमा गाँजाको खेती नगरिए तापनि कतै कतै फाट्टफुट्ट उम्रिएको नाँभो गाँजाको संरक्षण गरेर घरपालुवा जनावरहरू बिरामी हुँदा खाने कुरामा मिसाएर खुवाउने गरिन्छ ।
खसीबाख्राको पेट ढाडिँदा खोलेमा मिसाएर गाँजा खुवाइन्छ । त्यसरी उम्रिने गाँजालाई छिप्याएर राम्रो औषधि बनाउन गाउँका मानिसहरूले गाँजाको बेटलाई छेडेर जोड आकारमा छड्के घुसार्ने गर्दछन् । जति छिप्पियो त्यति त्यो राम्रो हुने मान्यता राखिन्छ । परम्परागत रूपमा औषधिका रूपमा प्रयोग गरिने गाँजा चार पाँच दशक पहिलेदेखि मात्र मित्रराष्ट्रको आग्रहबाट प्रतिबन्धमा परेको हो तर जसले गाँजालाई प्रतिबन्ध लगाउन नेपाललाई आग्रह ग¥यो सोही देशमा गाँजामा प्रतिबन्ध छैन । यसलाई औषधीय पदार्थका रूपमा तिनीहरूले उपयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोबीखोला लगायतका नदी किनारामा नाँभो गाँजा उम्रिएर बर्खाको समयमा घारी भइरहेको हुन्छ तर यहाँ त्यसलाई न औषधिका रूपमा न त लागूपदार्थका रूपमै प्रयोग गर्ने गरिन्छ ।
मधेस, भित्री मधेसलगायत चुरे र महाभारत पर्वतको पानीढलो दक्षिणतिर भने लुकीछिपी गाँजाको व्यावसायिक खेती गरेर अवैधानिक रूपमा भारततिर निकासी गर्ने गरेको पाइन्छ । यसो गर्दा खेती गर्ने किसान, बेच्न लैजाने व्यापारी र प्रहरीको कतिपय अवस्थामा मुडभेट हुने गरेको पनि कहिलेकाहिँ सुनिन्छ । गाँजा खेती प्रहरीले नष्ट गर्ने गरेका खबरहरू पनि बेलाबेलामा आउने गर्छन् । संसद्मा सांसदहरूले केही समय पहिलेदेखि घरमा बनाएको रक्सीलाई ब्राण्डिङ गर्नुपर्ने र गाँजालाई वैधानिक बनाउनुपर्ने माग गर्दै आएका छन् । अब भने यो वैधानिकताको बाटोतिर उन्मुख भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हालै गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि सरकारलाई निर्देशन दिएको छ ।
सरकारले नियमावली बनाएर यसको व्यावसायिक उत्पादन र औषधीय गुणबारे अनुसन्धान गरी नियमावलीको माध्यमबाट उत्पादनका लागि प्रोत्साहन गर्नेछ । गाँजाको व्यावसायिक खेती नेपालको समृद्धिका लागि सहयोगी सिद्ध हुनेछ भनिएको छ । केही विज्ञहरूको भनाइ अनुसार संसारमा सबैभन्दा राम्रो गाँजा अफगानिस्तानमा र त्यसपछिको दोस्रो गुणस्तरीय गाँजा नेपालमा उत्पादन हुन्छ । आफूखुशी जुनपायो त्यहीँ बिउ प्रयोग नगरी तोकिएको जातको बिउ प्रयोग गरेर गाँजा खेती गर्ने हो भने नेपाली किसानहरू यसबाट समृद्ध बन्नसक्ने र यसका माध्यमबाट देश धनी हुनसक्ने तर्क विज्ञहरूको छ । सरकारले गाँजा खेतीलाई वैधानिकता दिएर पूर्णक्षमतामा उत्पादन गर्ने हो भने नेपालको वार्षिक बजेटको एक तिहाइ आम्दानी गाँजाबाट मात्र हुनसक्ने आकलन तिनीहरूको छ ।
यदि भनेजस्तो हुन सक्यो भने रोजगारीका लागि विदेश गएको नेपालको ठूलो जनशक्ति नेपाल फर्किन पनि सक्नेछ । आयुर्वेदिक गुणले युक्त गाँजाको बजारका लागि पनि नेपालले चिन्ता गर्नुनपर्ने र विशाल छिमेकी देश भारत नै यसको बजारका लागि काफी हुने तिनको तर्कमा अविश्वास गर्नुपर्ने कारण छैन । तेस्रो मुलुकहरू पनि यसका लागि उत्साहित नै हुनेछन् । नेपालले गाँजामाथिको प्रतिबन्ध हटाउने चर्चा गर्दामात्र पनि नेपालको गाँजाप्रति लालायित बनेर अभिकर्ता बन्नका लागि धेरै विदेशहरूले चासो गरिरहेका छन् भनिएको छ । त्यसो हो भने यसको उचित उपभोग गरी राष्ट्रलाई समृद्ध बनाउनेतर्फ अग्रसर बन्नु कुनै पनि दृष्टिकोणबाट अनुचित हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच