गलेश्वरमा एक महिनामा १९ लाख भेटी सङ्कलन

हिमालय टाइम्स
Read Time = 5 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनामा मात्रै झण्डै १९ लाख भेटी चढेको छ । साउन महिनामा गलेश्वर शिवजीको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरूबाट उक्त रकम (भेटी) चढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ । साउनमा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरूबाट कुल १८ लाख ९० हजार २५३ रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष साउनको पहिलो सोमबार तीन लाख ३३ हजार ५६६, दोस्रो सोमबार तीन लाख १९ हजार ३३२, तेस्रो सोमबार तीन लाख सात हजार १३ रुपैयाँ, चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौँ तथा अन्तिम सोमबार चार लाख ६९ हजार ९२९ भेटी सङ्कलन भएको हो । यस वर्ष साउनमा परेका पाँचवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम तेस्रो सोमबार भेटी सङ्कलन भएको छ ।

गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, काठमाडौँ र बझाङ जिल्लाका साथै छिमेकी भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । पाँचवटा सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाका कारण पूजाअर्चना गर्न नपाएका भक्तजनहरूले यस वर्ष गलेश्वर पुगेर पूजा गरेका छन् ।

यस वर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरूबाट एक लाख ३० हजारभन्दा बढी भक्तजनहरू आएको कोषले जनाएको छ । मन्दिरमा सङ्कलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा गणना गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको दुईपटक गन्ने गरिन्छ । दान सङ्कलन गर्नेक्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी, स्वास्थ्य निकाय र ज्येष्ठ नागरिकको व्यवस्थापन र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएकाले पनि भक्तजनलाई यस वर्ष सहज भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पवित्र कृष्णगण्डकीबाट उठेर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति भई ज्योतिलिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । सत्ययुगमा सतीदेवीले अग्निकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेवले पृथ्वीको भ्रमण गर्नेक्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । ज्योतिलिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्रहरू, नागमणि आदि चक्राकाररूपी चिहृन मानवनिर्मित नभई स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?