राक्षस भुलाउन हुम्लामा मनाइयाे ‘चैतलो पर्व’

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 6 mins

हुम्ला । सुन्दा अचम्म लाग्न सक्छ, राक्षस भुलाउन नृत्य गरिन्छ । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका-१ र २ ठेहे गाउँमा हरेक वर्षको फागुन १२, १३ गते दुई दिन लाग्ने चैतलो पर्व सम्पन्न भएको छ । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन् ।

ठेहे गाउँनजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो (देउडा) खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको स्थानीय सोभा भण्डारीले बताउनुभयो । परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले चैतलो खेलिरहेकी सुन्दर महिलालाई प्रत्येक वर्ष भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको भण्डारीको भनाई छ । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लाने भएकाले यो पर्वमा माने नाच पनि गर्ने गरिन्छ ।

दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको छ । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा लगाएर बोहरा र भण्डारी दुई जातिका पुरुषले प्रतिस्पर्धाका रूपमा तरबार समातेर नाच देखाउने गरेको अर्का स्थानीयवासी गौगोरी बोहराले बताउनुभयो । यो पर्वमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ ।

एक दुई दिन पैदल हिँडेर पनि छिमेकी गाउँका नागरीक यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् । ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले पनि चाडपर्वका रूपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि फागुन १२ गतेकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्व मनाउँदै आइएको छ । विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमानको मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् ।

चैतलो वर्षलाई यहाँका महिलाले पहेँलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गरिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ । गाउँगाउँ, टोलटोलबाट पहेँलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो ।

यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ । गीत गाउन आएका महिलाहरुलाई घरघरमा बोलाएर मिठामिठा परिकार खुवाउने गरिन्छ । त्यो संगै चैतलो मेलामा देउडा, चैतलो गीत, छेलो (सटफुट) र ढुगां उठाउने प्रतियोगिता आयोजना गरिने गरिन्छ ।

हुम्लाका दूरदराजमा मनाइने यस्ता खालका पर्व र संस्कृतिको प्रचारप्रसार र उचित व्यवस्थापन गर्न सकिए पर्यटकलाई आकर्षण गर्न सकिने र आयआर्जन बढाउन सकिने सिमिकोट गाउँपालिका वडा नं.२ वडाध्यक्ष देवजङ्ग बोहराले बताउनुभयो ।

हरेक गाउँको फरक-फरक चालचलन र संस्कृति हुम्लाको पहिचान हो । एउटा गाउँमा एक खालको संस्कृति पाइन्छ भने अर्को गाउँमा अर्को । एक गाउँको बासिन्दाले अर्को गाउँको संस्कृतिमा सहयोग गर्नु अर्को विशेषता हो । पहिचान, संरक्षण र प्रवर्द्धनको अभावमा यस्ता चाडपर्व, रहनसहन, चालचलन, रितिरिवाज बाहिर ल्याउन सकिएको छैन ।

सदरमुकाममै रहेको सिमकोट गाउँपालिका वडा नं. ५ का स्थानीय चैतलो पर्वको अवसर पारी देउडा प्रतियोगिता समेत सञ्चालन गरेका छन् । आज आइतबार देउडा प्रतियोगिता सञ्चालन गरिएको हो । संस्कृति जर्गेना गर्ने भन्दै उक्त आयोजना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?