पञ्चवर्षीय योजनामा पर्यटन र पूर्वाधार विकासमा प्राथमिकता दिन आग्रह

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 8 mins

हुम्ला । कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धि जिल्ला स्तरिय परामर्श गोष्ठी जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । २०८०/०८१ देखि २०८५/०८६ सम्म लागु हुने पञ्चवर्षीय योजनाहरुका विषयमा छलफल गरिएको हो ।

कर्णाली प्रदेशका दशवटा जिल्ला मध्ये सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने जिल्ला हुम्ला भएकाले यसलाई पर्यटन पूर्वधार विकासका लागि पञ्चवर्षीय योजनामा प्राथमिकता दिनुपर्नेमा हुम्लीको आग्रह छ । नेपाली भूमि लिमी लाप्चाबाटै कैलाश मानसरोवरको दर्शन गर्न सकिने भएकाले सदरमुकामदेखि लिमीसम्मको सडक स्तरउन्नतीका साथै सडक पूर्वधारमा प्राथमिकता दिन पर्ने, विभिन्न स्थानमा होमस्टेका लागि प्रथामिकता दिएर समेटिनु पर्ने बताइएको छ । लिमी लाप्चादेखि कैलाश मानसरोवर दर्शनका लागि भारतीयलगायत विभिन्न देशका धार्मीक पर्यटक आउने भएकाले सदरमुकाम सिमकोटदेखि लिमी लाप्चासम्मको सडक पूर्वधारमा पञ्चवर्षीय योजनामा प्राथमिकता दिनुपर्ने आग्रह छ ।

आज भएको परामर्श छलफल गोष्ठीमा जिल्लामा पूर्वाधार केन्द्रित विकास, लिमी, लाप्चा पर्यटन विकासलाई जोड दिन दोस्रो पञ्चवर्षीय योजनामा प्राथमिकता दिन आग्रह गरिएको छ । पाँच वर्षभित्र कर्णाली करिडोरको सडकले हुम्लाका स्थानीय तहका केन्द्रदेखि वडासम्म पुर्याउनलाई पञ्चवर्षीयमा प्राथमिकता दिनुपर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले सुझाव दिनुभएको थियो ।

यस्तै हुम्ला कर्णाली ह्याप्कालगायतका नदीहरुमा जलविद्युतको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडी बढाउने, सिमकोटसहित उच्च क्षेत्रमा पाइने जडिबुटी र फलफुल अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, नेपालको सबैभन्दा उत्तरी विन्दु चाङ्ला भन्ज्याङ, ऐतिहासीक रलिङ्ग गुम्बा, पञ्चमुखी हिमाल क्षेत्र, खार्पुनाथ, रामपाल माडु, शिवमन्दिर, कालाशिल्ता, रानीशैन, लिमीलगायतका क्षेत्रलाई समेटेर विशेष पर्यटन क्षेत्र घोषणा गरी धार्मीक एवम् सांस्कृतिक पर्यटनका लागि पदमार्गका साथै होमस्टेलगायतका पूर्वाधार निर्माणका लागि समेट्नु पर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तै सिमकोट बजारलाई पर्यटकीय शहरकारुपमा विकास गर्न टाउनपलानिङको पहल गर्नुपर्ने, नेपाल चीन व्यापारलाई व्यवस्थित गर्न हिल्सा नाकामा क्वारेन्टटाइन चेकपोष्ट तथा यारीमा सुख्खा बन्दरगाहा स्थापनाका लागि पञ्चवर्षीय योजनामा प्राथमिकता दिनुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

हुम्लामा भेडाको उनबाट स्थानीय स्तरमा उत्पादन हुने उनको रातोकाम्लो, बख्खु, कोट्यापाखोलगायतको विशेष उत्पादन हुने भएकाले सिमकोटलाई स्थानीय स्तरमा उत्पादन हुने भएकाले उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि विशेष कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयो । यस्तै कैलाश मानसरोवर र हिमालका दृश्य अवलोकनका लागि सिमकोट विमानस्थलबाटै माउटेण्ड फलाइट गर्नका लागि विमानस्थल विस्तार गरी आवश्यक पूर्वधारको निर्माण गर्नुपर्ने सुझाव दिइएको छ ।

हुम्लामा उत्पादित अर्ग्यानिक चिनो, कागुनो, सिमि, महलगायतको विश्व बजारीकरणका लागि प्राथामिकता दिनुपर्ने सुझाव दिइएको छ । हुम्लामा उत्पादित चिनो, सिमि र महमा हुने मिठास र स्वादिलोपना देशका अन्य जिल्लामा नपाइने भएकाले यसलाई विश्व बजारीकरणका लागि जोड दिनुपर्ने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवास आलेले बताउनुभयो ।

हुम्लाको उत्तरी नाम्खा, सिमकोट खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा ढुंगा धेरै हुने हुँदा यहाँ सिमेन्ट कारखानका लागि पञ्चवर्षीय योजना समेट्न समेत अधिकृत आलेले आग्रह गर्नुभयो । हुम्लासहित कर्णालीमा उत्पादन हुने रैथानेबालीको उत्पादन वृद्धि र बजारीकरणलाई सहज बनाउन कोल्डस्टोर स्थापना, ढुवानीमा सहुलियतलगायत विषयमा प्रदेश सरकारको ध्यान केन्द्रित गराउनुपर्नेमा जोड दिइएको थियो ।

समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीको प्रमुख आथित्यमा सम्पन्न भएको छ । जिल्ला स्तरीय परामर्श तर्जुमा गोष्ठीमा प्रदेश योजना आयोगका सदस्य जीत बहादुर शाही, जिल्ला समन्वय समिती हुम्लाका उपप्रमुख दलु फडेरा (सञ्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध), खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया(भाम), प्रमुख जिल्ला अधिकारी अधिकारी विनोद कुमार पोखरेल, प्रहरी नायव उपरिक्षक रविन्द्र खलान, जिल्ला समनवय समितिका सदस्यलगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सञ्चारकर्मीको सहभागी रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?