
झापा । छ बुँदे निर्देशनात्मक जिम्मेवारी तोकेर नेपाली कांग्रेस झापाले पालिका समन्वय तथा सहजीकरण संयन्त्र गठन गरेको छ ।
संयन्त्र संयोजकको जिम्मेवारी सम्बन्धित पालिकाका प्रमुख तथा अध्यक्ष र स्थानीय तह निर्वाचनमा सोही पदमा उम्मेदवार भएका व्यक्तिले पाएका छन् । केन्द्रीय निर्देशन अनुसार १५ वटै पालिकामा गठित संयन्त्रलाई स्थानीय तहमा योजना छनोट तथा समन्वय र सहजीकरण गर्न भनिएको छ।
भद्रपुर नगरपालिकामा गणेश पोखरेल , गौरीगञ्ज गाउँपालिकामा फुलवती राजवंशी, कचनकवल गाउँपालिकामा कालिन्द्रप्रसाद सिंह राजवंशी, कमल गाउँपालिकामा हुकुमसिंह राई, बुद्धशान्ति गाउँपालिकामा मनोज प्रसाईं र झापा गाउँपालिकामा जयनारायण साहलाई संयोजक तोकिएको छ । यी छवटा कांग्रेसले झापामा प्रमुख र अध्यक्ष जितेका पालिका हुन् ।
झापा गाउँपालिकामा उपाध्यक्ष अञ्जुदेवी थपलिया कार्यबाहक अध्यक्ष हुनुहुन्छ । केही महिना अघिदेखि साह निलम्बनमा पर्नु भएको छ । कांग्रेसले कार्यबाहक अध्यक्ष होइन, निलम्बित अध्यक्ष साहलाई संयोजकको जिम्मेवारी दिएको हो । यसमा कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ ।
स्थानीय एक नेताले भन्नुभयो, "मैले जयनारायणजीको विरोध गरेको होइन, उहाँ निलम्बनमा हुनुहुन्छ, उपाध्यक्ष अञ्जुजीलाई संयोजकको जिम्मेवारी दिएको भए राम्रो हुन्थ्यो ।" साह झापा ४ को कांग्रेस क्षेत्रीय सभापति र संयन्त्र गठन पार्टीको आन्तरिक विषय भएकोले पनि पार्टीले साहलाई नै संयोजकको जिम्मेवारी दिएको एक जिल्ला सदस्यले बताउनुभयो ।
दमक नगरपालिकामा संयोजक रेगिना भट्टराई र कनकाई नगरपालिकामा नेत्रप्रसाद चिमरियाले संयोजकको जिम्मेवारी पाएका छन् । भट्टराई दमक नगरपालिका उपप्रमुख हुनु हाे । कनकाई नगरपालिकामा आशा शर्मा शिवाकोटी उपप्रमुख भएपनि प्रमुखका पराजित उम्मेदवार चिमरियाले संयोजकको जिम्मेवारी पाउनु भएकाे छ ।
दमकमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी समीकरण गरेको थियोे । त्यहाँ राप्रपाका राम थापा प्रमुख हुनुहुन्छ । स्थानीय निर्वाचनमा प्रमुखमा कांग्रेस उम्मेदवार नभएकोले निर्वाचित उपप्रमुख भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
तर, कनकाईमा उपप्रमुख शिवाकोटीले संयोजकको जिम्मेवारी नपरेकोमा एक स्थानीय नेताले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो," दमकमा उपमेयरले संयोजकको जिम्मेवारी पाउँदा कनकाईमा पनि उपमेयरलाई संयोजकको जिम्मेवारी दिँदा के बिग्रन्थ्यो ? "
त्यसैगरी बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, गौरादह र मेचीनगर नगरपालिकामा क्रमशः भोजराज सिटौला , रञ्जिता कार्की , पर्शुराम ढुंगाना, रोहितकुमार साह र इन्द्रबहादुर बुढाथोकीले संयोजकको जिम्मेवारी पाउनु भएको छ । उहाँहरु स्थानीय तह निर्वाचनमा पराजित प्रमुखका उम्मेदवार हुनुहुन्छ ।
झापा कांग्रेसले हल्दिबारी र बाह्रदशी गाउँपालिकाको संयन्त्र संयोजकमा क्रमशः तुलसीप्रसाद ओली र खड्गप्रसाद राजवंशीलाई जिम्मेवारी दिएको छ । ओली र राजवंशी स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । राजवंशी बाह्रदशी गाउँपालिकाको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
संयन्त्रलाई विकास निर्माण, शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत कार्यमा एकताबद्ध भएर अघि बढ्ने, समस्या समाधान गर्न स्थानीय सरकार र पार्टी बीच समन्वय गर्ने,जनताको चासोको विषय पालिका सरकार समक्ष पुर्याउने, वार्षिक नीति, योजना र कार्यक्रम समन्वय गर्ने, स्थानीय तह र जितेका जनप्रतिनिधि बीच निरन्तर समन्वय गर्ने क्षेत्राधिकार तोकिएको छ ।
त्यसैगरी संयन्त्रलाई प्रत्येक दुई महिनामा अनिवार्य वैठक बस्न र आफूले सम्पादन गरेको कामको विवरण र प्रगति प्रत्येक छ महिनामा पार्टीको माथिल्लो निकायमा अनिवार्य पठाउन निर्देश गरिएको छ ।
यो निर्णय कांग्रेस झापा जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्र, प्रदेश तथा गाउँ / नगर सभापति, निर्वाचित जनप्रतिनिधि र तत्कालीन उम्मेदवारको संयुक्त बैठकले गरेको हो । निर्णय विवादरहित हुन नसकेको चर्चा कांग्रेस वृत्तमा चलेको छ । यद्यपि, संयन्त्र निर्माण गर्ने काम जिल्ला समितिले पार्टी केन्द्रीय निर्देशन अनुसार गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच