मनसुन नआएको हुनाले प्रचण्ड गर्मीको ताप अझै सहनु परेको अवस्था छ । यो मनसुन पूर्वको चिन्ता हो । तर, अब मनसुनको आगमनका संकेत आउनलागेका छन् र बाढीपहिरोको चिन्ता सुरु भएको छ । कहिले आगोजस्तो गर्मी कहिले बाढी । बाढी निम्त्याउने मनसुन सुरु भइसकेको छ । मनसुनसँगै मानिसमा चिन्ता पनि सुरु भएको छ । मनसुन सुरु हुँदा चिन्ता होइन खुशियालीको प्रारम्भ हुनुपर्ने हो तर हाम्रोमा विभिन्न कारणले खुशियाली पनि चिन्तामा परिणत हुनेगर्छ । ‘जागिर सप्रिन भनसुन चाहिन्छ, बाली सप्रिन मनसुन चाहिन्छ’ भन्ने उखान जसरी नै लोकप्रिय बनेर मानिसहरूका मुखमा झुण्डिएको छ तर बाली सप्रिनका लागि नभई नहुने मनसुन भित्रिँदा पनि हामी चिन्तित बन्नुपर्ने बाध्यता छ । हाम्रो देशमा बंगालको खाडीबाट उष्ण मनसुनी वायु पैदा भएसँग मनसुन भित्रिन्छ । प्रायः जुन १३ तारिखमा नेपालमा मनसुन भित्रिने गर्छ तर एक-दुई दिन यताउता हुन सक्ने गरेको छ । यसवर्ष भने नियमितभन्दा तीन दिनअगाडि नै १० जुनकै दिन पूर्वबाट मनसुन भित्रिएको समाचार छ ।
विज्ञहरूका भनाइ अनुसार झापाबाट भित्रिएको मनसुन आफ्नै गतिमा अघि बढ्दै जाने हो भने पश्चिम महाकालीसम्म पुग्न पाँच दिन लाग्छ । यसमा हावाको बहावको सुस्तता र तीव्रताले पनि केही समय यताउता हुनसक्छ भनिएको छ । जे होस् अबको केही दिनभित्र नेपालको सबै भागमा समानुपातिक रूपमा मनसुनले प्रभाव पारिसकेको हुनेछ । खेती-किसानी गर्नेहरूका लागि यो उत्साह र हर्षको कुरा हो । नेपाल कृषिप्रधान राष्ट्र भएका कारण समग्र नेपालका लागि यो हर्षको कुरो हो । समयमा मनसुन आएको छ । पानी पर्ने भएको छ । पानी नपरेर खडेरी पर्दा खेती लगाउन नपाउँदा किसानहरू चिन्तित बन्नुपर्ने हुन्थ्यो । नेपाली किसानहरूले चैत वैशाखमा रोपेका मकैका लागि पनि पानीको आवश्यता परिरहेकै छ ।
पानी नपरेर मकैका बोट ओइलाएको देखिन्छ । साथै उच्च पहाडी भूमिमा धान कम फल्ने भएका कारण खेती पनि कम गरिन्छ तैपनि कतै-कतै उच्च क्षेत्रमा फल्ने जातको धान रोप्ने गरिन्छ र मध्यपहाडी क्षेत्रमा अलिक बढी धानखेती गरिने भए पनि यस्ता ठाउँमा अलिक छिटो रोप्नुपर्ने हुन्छ । यी ठाउँहरूमा जेठको अन्तिम हप्तादेखि असारको दोस्रो हप्ताभित्र धानको रोपाइँ गरिसक्नुपर्ने हुन्छ । त्यसभन्दा पछि रोपेको धान ती ठाउँहरूमा फल्दैन । नदी किनाराका गड्तिर, बेंसी र भित्रीमधेस तथा तराई क्षेत्रमा भने साउनको दोस्रो हप्तासम्म पनि धानको रोपाइँ गर्ने गरिन्छ ।
पहाडी क्षेत्रको रोपाइँको समय भइसकेको छ तर कतिपय ठाउँमा वर्षा नभई खोला खोल्साहरूमा पानी नहुने र खेतमा कुलाबाट पानी ल्याएर लगाई रोपाइँ गर्न नपाइने भएका कारण वर्षा हुने समयको प्रतीक्षामा किसानहरू बसेका छन् । सिम खेतमा कम पानी भए पनि हुन्छ तर वर्षाको पानी चाहिन्छ नै । कतिपय टारीखेतहरू त वर्षको पानीको भरमा मात्र रोपाइँ हुने खालका छन् । वर्षाको भल थुनेर खेतमा भरेर रोपाइँ गर्नुपर्ने बाध्यता त्यस्ता खेतहरूमा रहेको छ । वर्षा वा मनसुनको प्रतीक्षामा किसानहरू रहेकै छन्, अबको केही दिनभित्र उनीहरूको प्रतीक्षा पूरा हुने भएको छ ।
मौसम विज्ञान विभागले हाल अग्रीम रूपमै यसको जानकारी दिने भएका कारण उनीहरूलाई आफ्नो तयारी गर्न पनि सजिलो भएको छ तर प्रकृतिको यस्तो वरदानका रूपमा रहने मनसुन सबैतिर उत्तिकै वरदान सावित हुने गरेको छैन । कतिपय ठाउँमा र कतिपय व्यक्तिहरूका लागि यो अभिशाप पनि हुनेगरेको छ । गरिबगुरुवाहरूका लागि मनसुन दुःखको प्रारम्भ पनि हो । राम्रो र महँगो जग्गाजमिनमा बस्ने आर्थिक हैसियत नभएका कारण भिराला जग्गाजमिनहरूमा र खोलाकिनारतिर साना-साना झुप्रे घर बनाएर बस्ने वर्गका लागि एकातिर घर चुहिने अर्कातिर पहिरोको चपेटामा परिने र यसका साथै खोलाले लाने गर्नाले वर्षेनी सयौं मानिस खोलापहिरोमा परेर मर्ने गरेका छन् ।
मधेसतिर समथर ठाउँ भएका कारण बसाइमा सहजता त छ तर पानीको निकास सहज नभएर डुबानमा पर्ने खतरा हुन्छ । यसरी हेर्दा सबैतिर त्यहाँको भू-अवस्थिति अनुसार कुनै न कुनै प्रकारको प्राकृतिक प्रकोपको खतराको प्रभावमा त रहेकै हुन्छन् । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान विज्ञहरूको छ । यस पटकको यस्तो मनसुनी प्रभावबाट १८ लाख नेपालीहरू प्रभावित हुने पूर्वानुमान गरिएको छ । यो संख्या भनेको हाम्रो जनसंख्याको १६ प्रतिशत भन्दा बढी हुन आउँछ । यत्रो ठूलो जनसंख्या यस वर्ष मनसुनी प्रभावबाट प्रभावित हुनुभनेको सामान्य अवस्था होइन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पनि नेपाली किसानहरूलाई पानी निकासको उचित व्यवस्थापन गर्न सुझाब दिएको छ ।
यो मौसममा मानिसहरू सधैं सतर्कताका साथ रहनुपर्ने र खतरनाक अवस्थाबाट जोगिन सावधान भइरहनुपर्ने आवश्यकता छ । अर्कातिर सरकारले पनि मनसुनी वर्षाका कारण देशमा धेरै क्षति नहोस् भन्नका लागि उचित व्यवस्था मिलाउनुपर्छ । भन्न त सरकारले यसका लागि पूर्वतयारी भएको बताएको छ तर साधन-स्रोतको उचित व्यवस्थापन गरेरमात्र हुँदैन यसलाई आवश्यक समयमा परिचालन गर्न पनि सक्नुपर्ने हुन्छ । यसका लागि तोकिएको क्षेत्रमा तोकिएको जनशक्ति प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो पुगेर उद्धार गर्न सक्नुपर्छ । प्रकृतिले वरदानका रूपमा प्रदान गरेको मनसुनलाई अभिशाप हुन नदिई वरदानकै रूपमा उपयोग गरेर बढीभन्दा बढी लाभान्वित हुनसक्ने प्रयास सबैतिरबाट हुनुपर्छ । मनसुन अभिशाप नभएर वरदान सिद्ध हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच