सुर्खेत । सुक्खा खडेरीले खानेपानीको मुहान सुकेपछि चरम अभाव झेलिरहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाबासी पानीसमेत पेटभरी पिउन पाउँदैनन् । वर्षौंदेखि तिर्खाएका रेक्चावासी बिहीबार पानी माग्दै आन्दोलनमा उत्रिए । पेटभरी पानी खान पाउँ भन्दै सिंगो रेक्चावासी गुटुबजार आएर पालिकाको कार्यालय घेराउ गर्न बाध्य थिए । किनकि यो गाउँमा खडेरीको समयबाहेक अन्य समयमा प्रतिदिन बढीमा दुई गाग्री मात्रै पानी वितरण हुन्थ्यो । त्यही पानीले खाना पकाउने, पिउने, हातमुख धुने, शौचालयका लागि समेत प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यही पानीको स्रोत पनि सुकेपछि गाउँ काकाकुल भएको छ ।
पिठ्युँमा गाग्री सहितको डोको र हातमा पर्चा, पम्प्लेट बोकेर नारा लगाइरहेका उनीहरू सबैको एउटै स्वर थियो, ‘२१औँ शताब्दीमा एक गाग्री पानीका लागि कति वर्ष कुर्ने सरकार ? महिला, बालबालिकादेखि बुढापाकाहरू समेत डोको र गाग्री बोकेर आन्दोलनमा उत्रिएका थिए । रेक्चा पालिकाको मुकाम गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौँदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ । रेक्चावासीले खानेपानी संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय तपेन्द्र क्षेत्रीले संघर्ष समितिको नेतृत्व गर्नुभएको छ । उहाँ आफैँ वडा सदस्यसमेत हुनुहुन्छ । गाउँमा खानेपानी नहुँदा मर्नुपर्ने स्थिति आएको उहाँ बताउनुहुन्छ । ‘गाउँ वरपर पानीको स्रोत छैन, खडेरीले भएका कुवासमेत सुकिसके’ उहाँले भन्नुभयो, ‘खाना पकाउने पानी त छैन, गाईवस्तुलाई खाने र सरसफाइ गर्ने धेरै टाढाको कुरा हो ।’
पाँच वर्ष अघिसम्म ११५ घरधुरी रहेको रेक्चामा खानेपानीकै अभावका कारण अहिले ८० घरधुरी छन् । गाउँमा रहेका १० वटा कुवामध्ये हाल आठवटा पूरै भत्किसकेका छन् । बाँकी रहेका दुईवटा कुवामा खडेरीका कारण पानी सुकेको हो । यो गाउँका लागि खानेपानीको योजना बुनिएको छ । तर, अहिलेसम्म अधुरो छ । खानेपानीका लागि प्रत्येक घरधुरीबाट पैसा उठाइए पनि उपभोक्ता समितिले समेत नदिएको स्थानीयवासी बताउँछन् ।
बाराम्बार आवाज उठे पनि पानीको चरम अभाव भएको रेक्चा गाउँलाई तीनै तहका सरकारले कहिल्यै प्राथमिकता दिएका छैनन् । प्रदेश सरकारले एक करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना सुरु गरे पनि हाल यो आयोजना अलपत्र छ ।
यता, चौकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विश्वकर्मा पानीको स्रोत नहुँदा समस्या भएको बताउनुहुन्छ । खानेपानी संंकट टार्न आवश्यक पहल गरिने उहाँको भनाइ छ ।
खडेरीले रित्तिँदै बस्ती
पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण खडेरीले पानीका मुहान सुकेपछि रेक्चावासीसँगै चौकुने–१ का तोलीसैन र सोता बस्ती पनि रित्तिन थालेका छन् । पहिले पाखोबारीमा अन्नबाली राम्रै फल्थ्यो । सिजनअनुसार तरकारी खेती हुन्थ्यो । तर, पछिल्लो एक दशकयता गाउँमा उत्पादन घट्दै गइरहेको छ । सुक्खा र खडेरीका कारण उब्जनी हुन छाडेपछि सुर्खेतको चौकुने र पञ्चपुरीका बस्तीहरू रित्तिँदै गएका हुन् । उब्जनी हुन छाडेपछि स्थानीयको बसाइँ सर्ने क्रम बढेको छ । बढ्दो खानेपानीको संकट र सिँचाइको अभावले गर्दा उब्जनी हुन छाडेपछि स्थानीयले बस्ती नै छाड्न थालेका हुन् । छाक टार्न हम्मेहम्मे हुन थालेपछि धेरै परिवार गाउँ नै छाडेर अन्यत्रै गएको तोलीसैनकी देवीकला रानामगर बताउनुहुन्छ । ‘खानेपानी नै पाउन मुस्किल भइरहेका बेला खेतीमा सिँचाइ कसरी गर्नु ? सिँचाइको अभावमा अन्नबाली तथा तरकारीको उत्पादन हुन छोड्यो’ उहाँले भन्नुभयो, ‘उब्जनी नहुँदा स्थानीयहरू पछिल्लो समय बस्ती नै छाडेर चौकुनेकै लगाम, पोखरे र छिमेकी जिल्ला कैलालीको लम्कीतर्फ बसाइँ सरेर जान थालेका छन् ।’
तोलीसैन गाउँमा रहेको दुई लाख १५ हजार ५४२ वर्गमिटर जमिनमध्ये हाल अधिकांश जग्गा बाँझो छ । हाल यहाँ करिब ५५ हजार १७३ वर्गमिटर जमिनमा मात्रै खेती हुँदै आएको स्थानीय बताउँछन् । यस्तै, तोलीसैनदेखि पश्चिम क्षेत्रमा पर्ने सोता गाउँमा केही वर्ष अघिसम्म ३५ परिवारको बसोबास थियो । तर, गाउँमा उब्जनी हुन छाडेपछि अहिले यहाँ केवल ३ परिवार मात्र बसोबास गरिरहेका छन् । बाँकी परिवार आफ्नो घरजग्गा छाडेर अन्यत्रै गएका छन् । यो गाउँमा रहेको दुई लाख ८८ हजार २८६ वर्गमिटर खेतीयोग्य जमिनमध्ये हाल करिब ४० हजार वर्गमिटर क्षेत्रफल जमिनमा मात्र खेती गर्ने गरिएको छ ।
गाउँमा उब्जनी हुन छाडेपछि अधिकांश परिवारले बस्ती नै छाडेर गएका हुन् । चौकुनेमा मात्र होइन, जिल्लाको पञ्चपुरी नगरपालिकाकामा पनि यस्तै समस्या छ । पञ्चपुरी नगरपालिका-१ मा रहेका हाँसेगाउँ, फार्सेकाँडा र भक्तडीका बस्तीहरू पनि पछिल्लो समय पातलिँदै गएका छन् । पूर्व–वडाध्यक्ष धनबहादुर थापाका अनुसार खानेपानीको अभाव र खडेरीले उत्पादन घट्दै गएपछि यो वडाबाट हालसम्म करिब डेढ सय घरधुरी बसाइँ सरेर गइसकेका छन् । खानेपानी र सिँचाइको सुविधा उपलब्ध नभए बस्तीहरू विस्तारै रित्तिँदै जान थालेको उहाँ बताउनुहुन्छ ।
सिँचाइ सुविधाको व्यवस्थापन नभए ग्रामीण क्षेत्रमा खाद्यान्नको संकट बढ्ने र यसले बसाइँसराइको दरलाई थप बढाउने विज्ञहरू बताउँछन् । यसलाई रोक्न ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा उपलब्ध गराउनुपर्ने र खडेरीमा पनि फल्न सक्ने अन्नबालीको खेतीतर्फ स्थानीयलाई आकर्षित गर्नुपर्ने उनीहरूको सुझाव छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच