![बजेटमा सबै बेखुसी](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Finance-Minister-Barshman-Pune-budgeted-Hita-fornt-page.jpg)
काठमाडौं । नेपालको मध्य तथा पश्चिम तराईमा उखरमाउलो गर्मी छ । यी क्षेत्रका अधिकांश स्थानको तापक्रम ४० डिग्रीभन्दा माथि छ । दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, बुटवललगायत क्षेत्रको तापक्रम ४० डिग्रीसम्म पुगेको हो । अझै केही ठाउँमा योभन्दा पनि बढी ४२/४३ डिग्रीसम्म पुगेको छ । तराईं मात्रै होइन पश्चिमका पहाडी क्षेत्रमा पनि गर्मी बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि केही दिनदेखि अत्यधिक गर्मी महसुस भइरहेको छ । काठमाडौंको तापक्रम नियमित ३२/३३ र ३४ डिग्रीसम्म पुग्ने गरेको छ ।
नेपालमा मनसुन प्रवेश गरेको पाँच दिन भइसक्दा पनि देशका धेरै ठाउँमा पानी पर्न सकेको छैन । पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन सक्रिय हुन नसक्दा मुलुकभर अचाक्ली गर्मी बढेको छ । मनसुनी प्रणाली नेपाल प्रवेश गरेको पाँच दिनसम्म पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन । गत सोमबार कोशी प्रदेशमा मनसुनी प्रणाली प्रवेश गरेको थियो । शुक्रबारसम्म पनि यो प्रणाली पश्चिम सर्न सकेको छैन ।
पश्चिमी वायुको प्रभावले मनसुनी प्रणाली पश्चिमतर्फ सर्न नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ हावा चलेकाले मनसुन पश्चिमतर्फ सर्न नसकेको विभागका मौसमविद् विनु महर्जनले बताउनुभयो । मनसुन पश्चिमतर्फ आउन अझै केही दिन लाग्ने उहाँको भनाइ छ ।
देशको पश्चिमी क्षेत्रमा चर्को गर्मीले जनजीवन प्रभावित भइरहेका बेला पूर्वी क्षेत्रमा भने विनाशकारी वर्षा भइरहेको छ । अत्यधिक वर्षाका कारण पूर्वी पहाडको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बाढीपहिरो जान थालेको छ । बाढी र पहिरोमै परेर पूर्वमा ठूलो जनधनको क्षति भइसकेको छ । दुई/तीनदेखि परेको वर्षासँगैको बाढीले पूर्वमा पाँच जनाको ज्यान गइसकेको छ । बाढी पहिरोमा परेर ताप्लेजुङका पाँच जनाको ज्यान गएको हो । यस्तै, बाढी पहिरोले भौतिक क्षति पनि थुप्रै गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोले केही घर बगाएको छ भने केही सडकमा समेत क्षति गरेको छ । कार्यालयका सूचना अधिकारी सुमनकुमार तिम्सिनाका अनुसार खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ । एक महिना अघिदेखि सञ्चालनमा आएको नयाँ पुलको आधा भाग बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण सिरिजंघा गाउँपालिका-८ मा दुईवटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।
बाढी पहिरोले खोटाङ संखुवासभा र ताप्लेजुङमा समेत घर र सडकमा क्षति गरेको छ । यस्तै, लगातारको वर्षाका कारण संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न क्षेत्रमा पहिरोले तीन घर बगाएको छ भने २५ परिवार विस्थापित भएका छन् । त्यस्तै, संखुवासभामा पहिरोले चार घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारी-११ सिम्लेमा पहिरोले चार घर बगाएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमनकुमार तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार वर्षाका कारण चिचिला गाउँपालिका जोड्ने तीन ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । बुधबार रातभरको वर्षाका कारण ताप्लेजुङको तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाका विभिन्न पाँच ठाउँमा रहेका काठेपुल (गाडी गुड्ने काठका पुल) बाढीले बगाएको प्रहरीले जनाएको छ । यातायात सेवा अवरुद्ध बनेको छ ।
पूर्ण रूपमा वर्षा सुरु नहुँदै बाढी पहिरोले क्षति गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । यसपालि मनसुनमा विगतभन्दा बढी वर्षा हुने अनुमान छ । वर्षासँगै क्षति पनि बढ्ने पूर्वानुमान छ । गत वर्ष पनि मनसुन प्रवेशसँगै पूर्वमा बाढी पहिरोले ठूलो क्षति गरेको थियो ।
अझै केही दिन गर्मी बढ्ने
मध्य-पश्चिम नेपालको गर्मी अझै केही दिन कायमै रहने भएको छ । मनसुन देशका अरू ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुन काठमाडौं उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो भएकैले भारत तर्फबाट तातो हावा आइरहेको महाशाखाले जनाएको छ । गर्मी बढ्ने क्रम कम्तीमा पनि आइतबारसम्म कायम रहने महाशाखाको पूर्वानुमान छ । डाक्टरहरूले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिएमा डाक्टरहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।
एक रातको पहिरोले ताप्लेजुङमा चार जनाको मृत्यु
पहिरोमा परेर बिहीबार राति मात्रै ताप्लेजुङमा एकै घरमा चार जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा उहाँका बुवा, आमा र दुई बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार फक्ताङलुङ-२ खेजिनिममा रहेको लिम्बूको घर माथिबाट राति १ बजेतिर पहिरो खसेको थियो । पहिरोमा लिम्बूका बुबा ७१ वर्षीय रामबहादुर साम्रा, आमा जसमाया र जुम्ल्याहा छोरी बहिनीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको उहाँले बताउनुभयो । राति सुतिरहेकै बेला पहिरो खस्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी साम्रा परिवारकै दुईजना घाइते भएका छन् । ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते भएको रावलको भनाइ छ । ताप्लेजुङमा पहिरोमा पुरिएका यसअघि नै एक व्यक्तिको ज्यान गइसकेको छ । बिहीबार सडक माथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङमा काबेली तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुर २५ वर्षीय सबिन राईको मृत्यु भएको थियो । बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अब बाढी आउनुअघि मोबाइलमा म्यासेज आउने
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यससम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउनेछ ।
बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनुअगावै सर्टकोड ११५५ मार्फत् ती क्षेत्रका मोबाइल फोन वाहकले प्राप्त गर्नसक्ने छन् । यसअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन डढेलो जस्ता विपद्हरूको पूर्वसूचना उपलब्ध गराइने टेलिकमले जनाएको छ । यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिलेदेखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिमसमेत गरी ७०० थान सिम उपलब्ध गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच