हेटौंडा । बागमती प्रदेश सरकारले आगामी वर्षको लागि स्वास्थ्य मन्त्रालय तर्फ ४ अर्व ८ करोड बजेट बिनियोजन गरेको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१ /०८२ को लागि प्रदेशको १३ वटै जिल्लाको स्वास्थ्य क्षेत्रमा ४ अर्व ८ करोड बजेट बिनियोजन गरेको हो ।
शनिबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा जानकारी गराएका हुन् ।
बागमती प्रदेश सरकारको "स्वस्थ नागरिक गुणस्तरीय जीवन" को सोच अनुरुप संघ तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सबै प्रकारका स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । जनस्वास्थ्यका मापदण्ड सुनिश्चित गर्दै सबै नीतिमा स्वास्थ्य कार्यान्वयन गर्न विषयगत मन्त्रालयसँग सहकार्य र साझेदारी गरिनेछ ।
त्यसैगरी सरोकारवाला क्षेत्र, निकाय र संघ/संस्थासँगको समन्वय र सहकार्यमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दरलाई न्यूनीकरण गर्न प्रदेशका १३ वटै जिल्लामा मानसिक स्वास्थ्यको प्रवर्धन, आत्महत्याको न्यूनीकरण अभियान सञ्चालन गर्नका लागि १ करोड ७३ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी गर्भवती र प्रसूति अवस्थामा जोखिममा परेका महिलाको निःशुल्क हवाइ उद्धार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रकम विनियोजन गरेको छ । प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि सुरक्षित मातृत्व, नवशिशु तथा बाल स्वास्थ्य, किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य एवं ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई विकास र विस्तार गर्दै लगिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी महिलाहरूमा हुन सक्ने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । संघीय सरकारसँगको सहकार्यमा महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित उमेरका किशोरीहरूलाई निःशुल्क रुपमा एचआईभी खोप लगाउने व्यवस्था गरेको छ ।
त्यसैगरी क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोग, अब्स्टेट्रिक फिष्टुला लगायतका नसर्ने रोगहरुको पहिचान, परीक्षण, निदान र उपचार गर्न मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशभित्रका विपन्न नागरिकलाई क्यान्सर, हृदयघात र मस्तिष्कघात उपचार सहुलियत कार्यक्रमलाई विशिष्टीकृत अस्पतालमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको लागि २१ करोड विनियोजन गरेको छ ।
त्यसैगरी चितवनको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची र सिन्धुलीको दुधौली अस्पताललाई क्रमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छ।
नसर्ने रोगको रोकथामका लागि मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियान अन्तर्गत सिकलसेल एनिमिया, हेमोफिलिया, चालासेमिया, अटिजम लगायतका आनुवंशिक तथा जन्मजात स्वास्थ्य समस्या र उमेर सापेक्ष विकाससँग सम्बन्धित रोगहरुको निःशुल्क परीक्षण गर्ने व्यवस्था सुरु गरेको छ ।
बागमती प्रदेशका विभिन्न वडाहरुमा सेवा गराउदै आएका ९ हजार ४ सय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ताको लागि ४ करोड ६५ लाख विनियोजन गरेको छ ।
त्यसैगरी एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ। यस कार्यक्रमलाई स्थानीय तहको समन्वयमा क्रमशः समुदाय स्तरमा विस्तार गर्दै लैजान ४९ करोड विनियोजन गरेको छ ।
त्यसैगरी प्रदेश अन्तर्गतका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चितताका लागि दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन कार्यक्रम मार्फत आवश्यक रकम विनियोजन गरेको छ । स्वास्थ्यकर्मीहरुको प्राविधिक ज्ञान र सीप विकासको लागि ४ करोड ३७ लाख विनियोजन गरेको छ ।
यस्तै प्रदेशका अस्पतालहरुमा आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, जलन (वर्न), मुख तथा दन्त सेवा, मानसिक स्वास्थ्य सेवा लगायतका विशेषज्ञ सेवा विकास र विस्तार गर्न बजेट व्यवस्था गरेको छ ।
त्यस्तै प्रदेशमा बसोबास गर्ने अति सीमान्तकृत तथा लोपोन्मुख जाति, आश्रममा आश्रित व्यक्ति. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, गरिबदलित, सशस्व द्वन्द्व र जनआन्दोलनका घाइतेलगायतका लक्षित वर्गका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य वीमा प्रदेश सरकारले गरिदिने व्यवस्था मिलाएको छु । यस कार्यक्रमका लागि रु. ११ करोड ५७ लाख विनियोजन गरेको छ ।
प्रदेशमा विशेषज्ञ चिकित्सक लगायत प्राविधिक जनशक्ति उत्पादन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षदेखि स्नातकोत्तर तहको अध्ययन तथा अध्यापन सुरुवात गर्न बजेटको व्यवस्था गरेको छु । साथै हेटौंडा अस्पताललाई विशेषज्ञ सेवासहित ३ सय शैय्या अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
त्यस्तै प्रदेशमा स्थायी रुपमा बसोवास गर्ने ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था शुरुवात गर्न बजेट व्यवस्था गरेको छ । बागमती प्रदेशका प्रादेशिक अस्पतालहरुमा ६५ वर्षभन्दा माथिका विपन्न जेष्ठ नागरिकहरुका लागि दन्त सेवा तथा दन्त सहायता सामग्रीहरुको निःशुल्क वितरणको व्यवस्था मिलाएको छ।
बागमती प्रदेशका प्रादेशिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अति आवश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्थापनका लागि रकम विनियोजन गरेको छ ।
प्रदेश भित्रका लोपोन्मुख र सीमान्तकृत जातिहरुको सुरक्षित मातृत्व सेवा तथा खोप सेवामा पहुँच वृद्धिका लागि प्रोत्साहन स्वरुप रु. ५ हजार प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । प्रदेशका विपन्न नागरिकका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिन रु. १ करोड ६४ लाख विनियोजन गरेको छ ।
डेंगु, स्क्रबटाइफस लगायतका जनस्वास्थ्य विपद् तथा महामारी व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना सहित स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्न रकम विनियोजन गरेको छ ।
प्रदेश सरकार मातहतका बज्रवराही चापागाँउ अस्पताल, मकवानपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र ललितपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको भौतिक पूर्वाधार निर्माण तथा निरन्तरताका लागि रु. १६ करोड ६६ लाख विनियोजन गरेको छ ।
जीवनचक्रमा आधारित पोषण विशेष योजना तर्जुमा गरी स्थानीय तहसँगको सहकार्यमा पोषण उपचार तथा पुनर्स्थापना केन्द्र सुदृढीकरण र विस्तार गरिनेछ। मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मान्यतालाई प्रभावकारी बनाउन स्वस्थ भान्छाको अवधारणा अनुरुप भान्छा नै औषधालय हो, भान्छालाई विषमुक्त बनाऔं भन्ने अभियानका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।
योग, होमियोप्याथी, अकुपन्चर लगायतका वैकल्पिक चिकित्सा उपचार पद्धतिलाई प्रवर्धन गरिनेछ। चितवनस्थित आयुर्वेद औषधी उत्पादन केन्द्रबाट असल उत्पादन अभ्यास (Good Manufacturing Practices -GMP) मापदण्ड अनुसार आगामी वर्षदेखि आयुर्वेदिक औषधी उत्पादन सुरुवात गर्न रकम विनियोजन गरेको छ।
प्रादेशिक अस्पतालहरूमा अनलाइन टिकट प्रणाली तथा इलेक्ट्रोनिक मेडिकल अभिलेख र प्रतिवेदन प्रणाली क्रमशः लागु गर्दै स्वास्थ्य सेवामा डिजिटाइजेसन र सूचना प्रविधिको प्रयोगका लागि आवश्यक रकम विनियोजन गरेको छ।
आन्तरिक तथा बाह्य बसाइसराई, बढ्दो सहरीकरण र जनसाङ्ख्यिक परिवर्तनको प्रवृत्ति अध्ययन गरी जनसाङ्ख्यिक लाभ प्राप्त गर्न प्रदेश जनसङ्ख्या नीति तर्जुमा गरिनेछ । स्थानीय तहमा स्वास्थ्य सेवा सञ्चालन तथा सुदृढीकरणका लागि सशर्त अनुदान मार्फत ५६ करोड विनियोजन गरेको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच