![बोलीमा आक्रामक, परिणाम शून्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nepali-Congresh-Sherbahadur-deuba-Hita-fornt-page.jpg)
✍️ कुमार रञ्जित
शंखरापुर साँखु थातथलो भएका ‘श्री श्रेष्ठ मिखातग्वः स्वां समाज’ का अगुवा उत्तमलाल पिखा श्रेष्ठ आधा शताब्दी बढीदेखि काठमाडौंको लगन टोलमा बसोवास गर्दै हुनुहुन्छ । उहाँ प्रत्येक वर्ष वैशाख-जेठ महिनामा कुलदेवता पूजाका लागि सपरिवारमात्रै होइन अन्य इष्टमित्रहरूका साथ सालिनदीपारि पुग्ने गर्नु हुन्छ । त्यहाँ खेतैखेतको बीचमा गोरेटो बाटो हुँदै हिँडेर पुगिने स्थानमा रहेको कुल देवतास्थललाई उहाँकै अगुवाइमा गत वर्षमात्रै लाखौं खर्चेर छेउछाउका केही जमिनसमेत किनेर भव्य कुलदेवतास्थल बनाइएको छ ।
त्यसका लागि देश-विदेशमा छरिएर रहेका समाजका सदस्यहरूले उदारतापूर्वक आर्थिक सहयोगमात्रै गरेनन्, सँधियारका रूपमा रहेका स्थानीय श्यार्वा श्रेष्ठ परिवारले समेत बाटोका लागि प्रचलित मूल्यभन्दा सस्तोमा जमिन उपलब्ध गराएर मद्दत गरेका थिए । इलामका पुष्प श्रेष्ठ आफ्नो कुलदेवतास्थल बाघभैरब स्थान हो भन्ने आफ्ना पितापुर्खाबाट सुनेकै आधारमा काठमाडौंमा आएर खोजी गर्दै थिए, यसै पंक्तिकारले जानकारी दिएपछि उनी कीर्तिपुरस्थित बाघभैरब आफ्ना कुलदेवताको स्थान पुगेर दर्शन गरेपछि खुशी हुँदै धन्यवाद दिएर फर्किए ।
कुलदेवतास्थलमा भइरहेका अतिक्रमण साथै अवैध निर्माण सन्दर्भमा सम्बन्धित निकायले ध्यानदृष्टि पुर्याएर तत्काल अवैध निर्माण संरचना भत्काउनुका साथै देशको सर्वोच्च, अदालतको आदेश, संविधान साथै ऐन-कानुनको पालना गर्दै तदारुकतासाथ ऐतिहासिक सम्पदाको संरक्षण गर्न कार्यान्वयनमा उत्रनुपर्ने देखिएको छ ।
काठमाडौंकै कालिमाटीस्थित तरकारी बजारपछाडि रहेको नीलबाराही (तख्तीअजिमा) मैदानमा विभिन्न जाति तथा समुदायका कुलदेवता रहेको स्थानमा पञ्चायती कालदेखि सञ्चालित एक विद्यालयले खुला जमिन अतिक्रमण गरेर भवन बनाएपछि स्थानीय सम्पूर्ण अगुवाहरू साथै गुथी सम्पदा संरक्षण अभियन्ताहरूले संगठित भएर बनिसकेको भवनको अतिक्रमित भाग भत्काउन र थप बनाउन नदिन बाध्य पारिदिए । यस्ता अरू पनि थुप्रै उदाहरण दिन सकिन्छ जसले नेपाली समाज र यहाँ विकसित सभ्यतामा देगुद्यः (कुलदेवता) को महत्व र त्यसप्रति जनसमुदायको आस्था र समर्पण भाव प्रदर्शित गर्दछ । त्यसको संरक्षणका लागि जनता सडकमा उत्रेर जस्तोसुकै संघर्ष गर्न पनि तयार देखिन्छन् ।
विक्रम सम्वत्को नयाँ वर्ष सुरु भएलगत्तैको यसै मौसममा नेपालको पहिचान बोकेको राजधानी काठमाडौँ उपत्यका लगायत प्राचीन नेपाल मण्डल क्षेत्रका जनता आफ्ना देगुद्यः (कुलदेवता) स्थल पुगेर पूजा-अर्चना गर्ने धार्मिक तथा सांस्कृतिक जिम्मेवारी र परम्परा निर्वाह गर्दछन् । वैशाख, जेठ महिनादेखि शुक्लपक्षको महत्वपूर्ण सांस्कृतिक चाड सिथिनखःसम्म उक्त पूजा परम्परा समापन गर्नैपर्ने प्रचलन रहँदै आएको छ । त्यस्तो अवस्थामा सम्पूर्ण देगुद्यः (कुलदेवता) स्थलमा सरसफाइ गर्नुका साथै कुलवंशजका सन्ततिहरू भेला भएर भोज वा प्रसाद खान सहज वातावरण बनाइदिने सम्बन्धित गुथी साथै स्थानीय निकाय र संघ-संस्थाको जिम्मेवारी र कर्तव्य पनि हुन आउँदछ ।
यसै सन्दर्भमा काठमाडौं महानगरअन्तर्गतकै वडा नम्बर १७ धोबीचौरस्थित प्राचीन कलात्मक मन्दिर र दर्जनौं सम्पदासहितको देगुद्यः (कुलदेवतास्थल) को कथा भने अर्कै छ । धोबीचौरमा स्थानीय निकाय वडा कार्यालयकै साथ र सहयोगमा स्थानीय संघ-संस्थाले आफ्ना देगुद्यः (कुलदेवता) को पूजा–आराधना गर्न आउने भक्तजनलाई बाधा-अवरोध खडा गर्दै परम्परागत संस्कार-संस्कृतिविपरीत अवैध निर्माण कार्यसमेत गरिरहेको सम्बन्धित गुथियार समूह साथै पुरातत्व विभागकै आधिकारिक पत्रको माध्यमबाट थाहा हुन आएको छ ।
काठमाडौं शहरलाई व्यवस्थित रूपमा बसालेका शासक गुणकामदेवको शासनकालदेखि नै आफ्ना देगुद्यः (कुलदेवता) पुज्दै आएका सर्वसाधारण भक्तजनलाई अवरोध खडा गर्दै धार्मिक तथा सांस्कृतिक महत्वको सार्वजनिक स्थानमा अवैध निर्माण कार्य गर्नु भनेको देशको संविधान साथै प्रचलित ऐन-कानुनविपरीतको कार्य हो भन्ने तथ्यलाई बेवास्ता गर्दै धोबीचौर वरिपरि बसोवास गरिरहेका स्थानीय अतिक्रमणकारीले ताण्डव नृत्य प्रदर्शन गरिरहेको देखिन्छ । त्यस सम्बन्धमा नेपाल सरकारअन्तर्गत पुरातत्व विभागले गत वर्ष २०८० माघ १७ गते सम्बन्धित निकाय काठमाडौं महानगरपालिकालाई पत्र नै लेखेर त्यहाँ बनाइएका अनधिकृत संरचना हटाइदिन अनुरोध गर्दा पनि पुरातात्विक तथा सांस्कृतिक महत्व नबुझेको राजनीतिक पार्टीद्वारा संरक्षित समूहले अटेर गरिरहको देखिन्छ ।
पुरातत्व विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले लेख्नुभएको पत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौं संशोधनसहित)लाई अक्षरशः पालना गर्न उल्लेख गरिएको छ । सो पत्र काठमाडौँ महानगरपालिका अन्तर्र्गत नगर कार्यपालिकाको कार्यालय साथै वडा नम्बर १७ वडा कार्यालयलाई पनि पठाइएको पत्रमै उल्लेख छ ।
यस सन्दर्भमा सम्मानित सर्वोच्च अदालतले विगतमा २०६८ पुस १० गते न्यायाधीशद्वय प्रकाश वस्ती र तर्कराज भट्टको संयुक्त इजलाशले गरेको ऐतिहासिक फैसलाको नजिर पनि ध्यानाकर्षित गर्दै प्रस्तुत गर्न सकिन्छ । काठमाडौँकै साविक वडा नम्बर २६ (हाल २४) स्थित श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारका अध्यक्ष चन्द्रबहादुर शाक्यद्वारा दायर मुद्दामा गरिएको निर्णयमा सर्वोच्च अदातलतले गरेको छ, परम्परादेखि देवता पुज्ने इतुंबहालको देगुद्यः (कुलदेवता) को घरमा कसको कस्तो सम्बन्ध छ र त्यसको परम्परागत सञ्चालन पद्धति के छ भनेर यकिन गर्न यस विषयमा जानकार मानिसहरूको भनाइ र अनुसन्धाकर्ताहरूको लेख हेर्नुपर्यो ।
भाष्करदेव संस्कारित केशचन्द्र पारावत् महाविहार संरक्षण समाजद्वारा नेपाल सम्बत् ११२६ मा प्रकाशित ‘इतुंबाअभिलेख सङ्ग्रह’ पुस्तकमा प्रा. स्वस्तिरत्न शाक्य र भुवनलाल प्रधानले इतुंबहाल सम्बन्धमा लेख्नुभएको आलेख अध्ययन गर्दा का.म.न.पा.२६ मा पर्ने इतुंबहालमा बज्राचार्यहरूको मात्र हक हुने नभई शाक्यहरूको पनि समान हक रहेको देखिन्छ ।’
त्यसै क्रममा उक्त फैसलामा लेखक भुवनलाल प्रधानद्वारा लिखित लेखलाई उद्धृत गर्दै ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानहरूका विषयमा तथ्यबारे फैसलामा पत्रपत्रिका साथै पुस्तकहरूमा प्रकाशित अनुसन्धानात्मक लेख तथा रचनाहरूलाई महत्व दिइएको छ । सांस्कृतिक परम्परा तथा पुरातात्विक संरचनाहरूको आधारमा परम्परागत रूपमा चल्दै आएका संस्कार संस्कृति मास्नेहरूका लागि सर्वोच्च अदालतको उक्त फैसला ऐतिहासिक नजिर भएको थियो भने त्यसलाई नै नजिरका रूपमा वर्तमानमा पनि कतिपय अन्य सांस्कृतिक स्थलहरूमा हुने गरेका विवादहरूमा प्रस्तुत गर्ने गरिएको छ ।
यसै सन्दर्भमा धोबीचौरको देगुद्यः (कुलदेवतास्थल)मा भइरहेका अतिक्रमण साथै अवैध निर्माण सन्दर्भमा पनि सम्बन्धित निकायले ध्यानदृष्टि पुर्याएर तत्काल अवैध निर्माण संरचना भत्काउनुका साथै देशको सर्वोच्च, अदालतको आदेश, संविधान साथै ऐन-कानुनको पालना गर्दै तदारुकतासाथ ऐतिहासिक सम्पदाको संरक्षण गर्न कार्यान्वयनमा उत्रनुपर्ने देखिएको छ । त्यसो गरेमात्रै धर्म र संस्कृतिप्रेमी जनताका संस्कृति र परम्परालाई न्याय प्रदान गरिएको ठहर्दछ । यस सम्बन्धमा स्थानीय तहबाट भइरहेको उपेक्षाको अवस्थामा यति नै अपेक्षा गरिएको छ । त्यसो नभएमा देशको संविधान, कानुन, न्यायपालिकाको आदेशको कुनै अर्थ रहँदैन भन्नेमा दुईमत हुने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच