काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो । संसद् बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू आ-आफ्नो स्थानमा उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविन गर्न संसदीय समिति गठनको माग राख्नुभयो । तर, सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै उहाँले समिति नबनेसम्म कुनै पनि काम कारबाही अगाडि नबढाउन आग्रह गर्नुभयो । लगत्तै सभामुखले गृहमन्त्री लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झालाई बोल्ने समय दिनुभएको थियो, तर कांग्रेस सांसदहरूले उभिएर विरोध जनाइरहे ।
सत्तापक्षका सांसदहरू पनि केहीबेर उभिइरहे । सत्तापक्षले यो हाउस प्रतिपक्षीको मात्रै होइन भनिरहेका थिए भने प्रतिपक्षीले सत्ताअनुसार सभामुख चलेको आरोप लगाइरहे । सदन सुचारु गर्न सहयोगको लागि पटक-पटक आग्रह गरे पनि कांग्रेस सांसदहरू उभिइरहेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गर्नुभयो । बैठक स्थगित गरेर सभामुख घिमिरेले संघीय संसद्मै प्रमुख राजनीतिक दलका शीर्ष तहका नेतासहित प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभयो । तर, संसदीय छानविन समिति गठनको मागबाट कांग्रेस पछि नहटेपछि छलफल बिनानिष्कर्ष सकियो । दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक बुधबार बिहान ११ बजेसम्मको लागि स्थगित ग¥यो ।
रवि लामिछानेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? : सचेतक थिङ
प्रतिनिधि सभाको मंगलबारको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिनुभएको थियो । सचेतक थिङले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गर्नुभयो । उहाँले सूर्यदर्शनलगायत ६ वटा सहकारीबाट एक-एक अर्ब रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रूपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भनी सरकारसँग प्रश्न गर्दै भन्नुभयो, ‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ? रवि लामिछाने कानुनभन्दा माथि हो ?’
प्रतिशोध साँध्न कांग्रेसले सहकारी ठगीमा छानविन समिति माग गरिरहेको छ : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णीम वाग्लेले कांग्रेसले एकजना व्यक्ति खुइल्याउन सहकारी ठगीमा छानविन समिति माग गरेको आरोप लगाउनुभएको छ । उपसभापति वाग्लेले मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरू सँगको कुराकानीमा रास्वपाको उदय भएको एक वर्षमै सबै बेथिति देखापरेको जस्तो भाष्य कांग्रेसले बनाउन खोजेको टिप्पणी गर्दै भन्नुभयो, ‘व्यक्ति खुइल्याउने, प्रतिशोध साँध्ने विधि र औजारका रूपमा संसदीय छानविन समितिको दुरुपयोग गर्नु हुँदैन । ०४७ सालदेखिका भ्रष्टाचारबारे छानविन गर्ने कुरा त सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रममा समेत उल्लेख गरिएको छ । कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारबारे ग्राण्ड पब्लिक इन्क्वायरी आहृवान गर्छौं । त्यसमा सहकारी पनि पर्छ । सहकारी ठगीभन्दा मान्छेले पत्याउँछन् भन्ने छ कांग्रेसलाई ।’
गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बदमासीको शंका गर्ने ठाउँ छ : पाण्डे
सत्तारूढ दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले गृहमन्त्री रवि लामिछानेले जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘यस्तो विवाद आउँदा पनि गृहमन्त्री पदमै बसिरहनुले तमाम शंका उब्जाएको छ । प्रमुख प्रतिपक्षले आवाज उठाइसकेपछि सत्तापक्षले सुन्नैपर्छ । सत्तापक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर त्यो काम लाग्दैन । सभामुख देवराज घिमिरेले संसद्मा दुई पक्षलाई लडाउने उपाय गरेको देखिन्छ । प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनै हुँदैन । किनभने त्यो लडाउने उपाय हो ।’ सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पाण्डेको भनाइ छ ।
सभामुखबाट त्रुटि भएकाले संसद् बैठक चल्न सकेन : यादव
सत्तारूढ दलको एक घटक जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटिका कारण संसद् बैठक चल्न नसकेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले संसद् बैठकमा सभामुख घिमिरेको त्रुटि भएको बताउनुभएको हो । संसद्मा भएको साँढे जुधाइले संसद्को गरिमालाई घटाउने उल्लेख गर्दै यादवले भन्नुभयो, ‘लोकतन्त्रमा जनताले प्रश्न गर्न पाउनुपर्छ र प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनुपर्छ । सभामुखले यो परिस्थितिलाई मुकाविला गर्नका लागि सर्वपक्षीय, सर्वदलीय सहमतिको वातावरण बनाउनुपथ्र्यो । प्रमुख प्रतिपक्षले संसद्मा कुरा राखिसकेपछि उहाँले अरूलाई बीचमा बोल्ने अवसर दिनु हुँदैनथ्यो । उहाँले अर्कोलाई पनि समय दिनुभयो । संसद्मा विपक्षीको कुरा सुन्ने, वातावरण बनाउने भन्ने हुन्छ । यहाँ त साँढे जुधाइ भयो ।’
कांग्रेसको प्रस्ताव : सहकारीमा भएका सबै अनियमितताको छानविन गरौँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानविन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार बालुवाटारमा बैठक बोलाउनुभएको थियो । बैठकमा सभामुख देवराज घिमिरे, कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीका शीर्ष नेता उपस्थित थिए । बैठकको सुरुमै सभामुख घिमिरेले सदनलाई नियमित रूपमा सञ्चालन गर्न अहिलेसम्म भएको पहलबारे जानकारी दिनुभयो । त्यसपछि कांग्रेस नेताहरूले संसदीय दलको निर्णयबारे जानकारी गराए । नेताहरू बालुवाटार जानुअघि बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय छानविन समिति गठन गर्नैपर्ने निष्कर्ष निकालेको थियो । यसबारे सरकार गम्भीर नभए संसद्को बैठक वा काम कारबाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने भन्दै उसले संसद् अवरुद्ध गर्ने प्रष्ट सन्देश दिएको थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई जवाफ दिँदै पूर्वाग्रह राखेर माग अघि सारेकोले कुनै हालतमा संसदीय छानविन समिति नबनाउने अडान लिनुभएको थियो । बैठकमा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्नुभएको थियो । बैठकमा कांग्रेस नेताहरूले संसदीय समिति बनाएर आफूहरूले उठाएको प्रश्न आग्रहपूर्ण हो भन्ने प्रमाणित गर्न चुनौतीसमेत दिएका थिए । तर, सत्तारूढ दलका नेताहरू सहमत नभएपछि प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानविन समिति गठन हुनैपर्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर संसदीय छानविन समिति गठन हुनैपर्ने बताउनुभएको छ । मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएकोले संसदीय छानविन हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘रवि लामिछानेविरुद्ध यति धेरै प्रमाण छन् । लाखौँ ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ । यो मुद्दा यसै छोड्नु हुँदैन । यस्तो मुद्दा हामीले छोड्दा जनताले हाम्रो साथ छाड्छन् । यसलाई हामीले सशक्त ढंगले उठाउनुपर्छ । संसदीय छानविन समिति बन्नैपर्छ । नागरिकका मुद्दा छोडेर जान सकिँदैन ।’ बैठकमा महामन्त्री गगन थापाले गृहमन्त्री लामिछाने, लामिछाने जोडिएको सहकारी ठगीको विषय पार्टीले उठाउनुको आधार प्रस्तुत गर्नुभएको थियो ।
विश्व प्रकाशको आग्रह : ‘रास्वपाले भने अनुसारकै उच्चस्तरीय छानविन समिति बनाऔँ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मागअनुसार नै उच्चस्तरीय छानविन समिति बनाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभएको छ । २०४७ यता सार्वजनिक पद धारणा गर्नेको सम्पत्तिउपर ‘उच्चस्तरीय छानविन समिति’को माग विगतदेखि गर्दै आएको भन्दै सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा महामन्त्री शर्माले लेख्नुभएको छ, ‘रास्वपाले अहिले जे अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौँ । सहकारी ठगीबारे पनि संसदीय छानविन समिति गठन गरौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच