काठमाडौं । तीन दलको अडानका कारण काठमाडौं महानगरपालिकाको नगरसभा प्रभावित भएको छ । महानगरमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत समाजवादीका नगरसभा सदस्यको अडानका कारण नगरसभा बैठक प्रभावित भएको हो । तीन दलका सदस्यहरूको अडानका कारण नगरसभा असार १० गते सम्मलाई स्थगित भएको हो । गत आइतबार राष्ट्रियसभा गृहमा नगरसभा बैठक सुरु भएको थियो । बैठकबाट महानगरको नीति तथा कार्यक्रम छलफल गरेर पारित गर्ने तयारी थियो ।
मेयर बालेन साहले १५औँ अधिवेशनको दोस्रो बैठक प्रारम्भ गर्नुभएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन पाँच मिनेट समय दिनुभएको थियो । कांग्रेस, एमाले र एकीकृत समाजवादी सदस्यहरूले नीति तथा कार्यक्रममाथि साझा धारणा बनाउन र संशोधनका प्रस्ताव तयार गरेर हाल्न समय मागेका थिए । महानगरका प्रवक्तासमेत रहनुभएका कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल हलभित्र बस्दै नबसी निस्किनुभएको थियो । मेयर बालेनले पेस गरेको नीति तथा कार्यक्रममाथि साझा धारणा बनाउन र संशोधनका प्रस्ताव तयार गरेर हाल्न तीन दलका तर्फबाट तीन वडाध्यक्षहरू मानन्धर, पराजुली र डंगोल छलफलमा व्यस्त हुनुहुन्थ्यो । उनीहरूले आफूहरूलाई नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधनको प्रस्ताव तयार गर्न केही समय लाग्ने केही घण्टा नगरसभा बैठक सार्न आग्रह गरेका थिए । तर, मेयर तयार हुनुभएन ।
बैठक ११ बजेसम्म स्थगित गरेर छलफल सार्न उनीहरूले माग गरेका थिए । उनीहरूले केही विषयमा मेयर बालेनसँग छलफल हुनासाथ बैठकले तुरुन्तै नीति तथा कार्यक्रम पारित गर्नसक्ने बताएका थिए । तीन दलको गठनबन्धन देखेपछि मेयर बोलनले उनीहरूको मागअनुसार केही घण्टाका लागि बैठक रोक्ने प्रस्ताव स्वीकार्न नसकिने जवाफ दिनुभयो । १० असारको बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिदिनुभयो ।
दलहरूले संयुक्त छलफल गरेर संशोधन हाल्न खोजेको बुझेपछि मेयर बालेन रुष्ट हुनुभएको हो । काठमाडौं महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा नहुने भन्दै उहाँले दलको धङधङी बोकेर नआउनसमेत आग्रह गर्नुभएको थियो । ‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ मेयर बालेनले भन्नुभएको थियो, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने, अनि सार्वजनिक रूपमा त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन ।’
पर्याप्त छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याएको आरोप
मेयर बालेनले नगर सभामा पेस भएको नीति तथा कार्यक्रमका केही बुँदामा वडाध्यक्षहरूको असहमति छ । उनीहरू केही नयाँ कार्यक्रमहरू थप गर्न चाहन्छन् । मेयर बालेनले पर्याप्त छलफल नगरी एकतर्फी रूपमा नीति तथा कार्यक्रम ल्याएको उनीहरूको आरोप छ । नीति तथा कार्यक्रम बनाउँदा मेयरले आवश्यक सल्लाह नगरेको उनीहरूको आरोप छ । दलहरूले उठाएका विषयहरू समावेश हुनेगरी नीति तथा कार्यक्रम परिमार्जित हुनुपर्ने वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले बताउनुभयो । नीति तथा कार्यक्रम अध्ययन गर्न समय नपाएकाले बैठक रोक्नुपर्ने माग गरेको वडा नम्बर १ का भरतलाल श्रेष्ठले बताउनुभयो ।
अब १० गते नगरसभा राखिएको छ । त्यो दिन नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउनुपर्छ । किनकि १० असारभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । यो दिन या त मेयरले वडाध्यक्षहरूसँग छलफल गरेर नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ, वा उनीहरूले अडान छाडेर नीति तथा कार्यक्रम पास गर्न मद्दत गर्नुपर्ने हुन्छ । दुवै पक्ष आ-आफ्नो अडानमा रहे नीति तथा कार्यक्रम पासै नगरी काठमाडौं महानगरको बजेट आउन सक्छ ।
बैठक स्थगित गरेर मेयर ब्राजिल प्रस्थान
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन उहाँ सोमबार बिहान ब्राजिल प्रस्थान गर्नुभएको हो । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्सालसमेत ब्राजिल जानुभएको हो । प्रमुख साह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरू आबद्ध छन् । सहरी आवास र भवनको विषय यसपटक छलफलको मुख्य विषय रहेको छ । शहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख साहले सम्बोधन गर्नु हुनेछ । कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा प्रमुख साहले प्यानलिष्टका रूपमा धारणा प्रस्तुत गर्नु हुनेछ । शहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित रहेर नीति बहस हुनेछ । यसअघि काठमाडौंको नगरसभा स्थगित भएको थियो । नगरसभा स्थगित गरेर उहाँ ब्राजिल प्रस्थान गर्नुभएको हो ।
महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन
कबाडी व्यवसायीले काठमाडौं महानगरविरुद्ध विरोध प्रदर्शन गरेका छन् । महानगरले कबाडी संकलनमा रोक लगाएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका हुन् । आइतबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरूले सोमबार पनि नाराबाजी गरेका हुन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई उनीहरूले छोटे राजाको संज्ञा दिएका छन् । कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरूले छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर्, कानुनी शासन लागू गर्, अदालतको निर्णयको सम्मान गर् जस्ता प्लेकार्ड बोकेका थिए । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोड भित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नुपरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्थापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ । जनप्रतिनिधिहरूले कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरले जनाएको छ । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर, कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर चलाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच