काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, ५ एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरण परीक्षण भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत भदौ दोस्रो साताभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोशीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । बाह्रबिसे सबस्टेसन सम्पन्न भइसकेकाले मध्यकोटेकोशीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको उहाँको भनाइ थियो ।
घिसिङले भन्नुभयो, ‘सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिने हो कि भन्ने अवस्था थियो, अब २२० केभीे सबस्टेसन निर्माण भइसकेपछि आयोजनाको विद्युत् जोड्न विभिन्न विकल्प तयार भएका छन्, चुहिएको सुरुङ मर्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारण लाइन तथा सबस्टेसन अभावमा आयोजनाको विद्युत् खेर नजाने अवस्था बनेको छ ।’
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब दुई किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका-३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको छैन ।
मध्यभोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत् सोही सबस्टेसनमार्फत् १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिनेछ । जसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिनेछ । सोही प्रसारण लाइनबाट मध्यभोटेकोशीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती-बाह्रबिसे वा बाह्रबिसे-काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ ।
तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण १ वटा टावर निर्माण हुन सकिरहेको छैन ।
सोही क्षेत्रमा प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले जग्गाको शतप्रतिशत क्षतिपूर्ति माग गरेका कारण १.३ किलोमिटर तार तान्न समस्या छ । ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ ।
त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ५ वटा टावरको निर्माण बाँकी छ । अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले बताउनुभयो । ४६ किलोमिटर प्रसारण लाइनमध्ये ४२ किलोमिटर तार तानिसकिएको छ । अवरोध भएको ठाउँको मात्र काम बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच