
झापा । भारतको इस्लामपुरमा सार्क स्तरीय कल्चरल कार्यक्रम सम्पन्न भएको छ । सार्क कल्चरल सोसाइटी जिल्ला समिति दिनाजपुरले सम्पन्न गरेको वार्षिक कार्यक्रममा सहभागीले आ-आफ्नो कला र साहित्यक सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपालका तर्फबाट नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ तथा बहुभाषिक साहित्य सङ्गीत कला प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद पौडेल, झापा जिल्ला सदस्य पुनित वंशल, अन्तर्राष्ट्रिय बहुभाषिक सांस्कृतिक प्रतिष्ठानका महासचिव मिलनकुमार ढुङ्गाना, सचिव कुमार अनुरागी, नवोदित गायिका अनिता पौडेलको सहभागिता थियो ।
नेपाली सहभागीका तर्फबाट पौडेलको भ्वाइलिन वादन, वंशलले कविता, ढुङ्गानाले गजल , अनिताले गीत गाएर कार्यक्रमको माहोललाई बहुआयामिक बनाउनु भएकाे थियाे ।
राष्ट्रिय र स्थानीय कवि, कलाकार र नृत्याङ्गनाहरुको प्रस्तुतिले कार्यक्रम आकर्षक बनेको थियो । वक्ताले आगामी दिनमा नेपाली साहित्यकार, सङ्गीतकर्मी र कलाकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने बताउनु भयाे ।
सार्क कल्चरल सोसाइटी भारतका अध्यक्ष अमलकांति सिन्हा प्रमुख अतिथि रहेको कार्यक्रममा प्राज्ञ पौडेल, वंशल र ढुङ्गानालाई सम्मान गरियो । नेपाली सहभागीले अतिथि तथा आयोजकलाई ढाकाको खादा र टोपी तथा रुद्राक्षको माला उपहार प्रदान गर्नुभएकाे थियाे ।
आयोजक समितिका अध्यक्ष निसिकान्त सिन्हाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता मोहम्मद मोसर्रफ हुसैन, इस्लामपुर नगर परिषदका सभापति कन्हैयालाल अग्रवाल लगायत विशिष्ट व्यक्ति पाहुनाका रूपमा सहभागी हुनुहुन्थ्याे ।
धन्यवाद राजेन्द्रजी !