काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक परेको भेटिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिनुभएको हो । त्यसबेला उहाँ १७ वर्षको हुनुहुन्थ्यो । रुपन्देहीको नागरिकताअनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिनुभएको हो ।
उहाँले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिनुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपिअनुसार उहाँ २०२३ साउन २९ मा जन्मिएको देखिन्छ । उहाँले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गर्नुभएको हो । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुनेगरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, उहाँले प्रतिलिपि लिँदा जन्मेको महिना र गते परिवर्तन गरेको देखिन्छ ।
पुरानो समयमा नागरिकता वितरण गर्दा पूरा जन्ममिति उल्लेख गर्ने चलन थिएन । नागरिकता दिँदा उल्लेखित महिना र वर्षलाई नै जन्मेको समय मानिन्छ । पुस ४ मा प्रधानसेनापति प्रभुराम शर्माले राज्य व्यवस्था समितिमा भन्नुभएको थियो, ‘अशोक सिग्देलको नागरिकताको प्रतिलिपिमा एउटै विवरण छ, ढाँटेको भए पो मैले समात्ने ।’ तर, सेनापतिले त्यस्तो दाबी गरे पनि दुई नागरिकता तुलना गर्दा सिग्देलको विवरण फरक देखिन्छ ।
नागरिकतामाथि प्रश्न उठेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सिग्देलले एउटा पत्र ल्याउनुभएको छ । ‘जो जससँग सम्बन्ध राख्दछ’ भन्ने पत्रमा जाजरकोट प्रशासनले हामीले दिएको नागरिकता नै सही छ भन्ने बेहोरासहित जारी मिति ‘२०४० साल साउन २९’ उल्लेख गरेको छ । सेनाको ३ महले सिटरोलमा भएको जन्ममितिसँग भिडाउन सिग्देलले जाजरकोटबाट प्रतिलिपि लिएको आरोप छ । ३ महले सिटरोलमा उहाँको जन्ममिति दुईथरी उल्लेख छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ घर भएका सिग्देलविरुद्ध जेठ ९ मा राष्ट्रपति कार्यालयसहित ११ निकायमा उजुरी परेको छ । ललितपुर बस्ने नागेश्वर चौधरीले उहाँविरुद्ध उजुरी गर्नुभएको हो । सिग्देलको वास्तविक जन्म २०२१ चैत १९ भए पनि उहाँले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको उजुरीमा उल्लेख छ ।
प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सुपिङ क्याम्पसबाट सिग्देलले जन्ममिति २०२३ साल माघ १९ उल्लेख गरेर ‘जो जससँग सम्बन्धित छ’ भनेर एउटा पत्र लिएको भेटिएको छ । तर, क्याम्पसको अभिलेखमा उहाँको जन्ममिति २०२१ नै उल्लेख छ । सुपिङ क्याम्पसको पत्रको आधारमा नागरिकतामा उल्लेखित १९ वर्षलाई केरमेट गरेर १६ वर्ष उल्लेख गरेर उहाँ २०४३ फागुनमा नेपाली सेनामा भर्ना भएको उजुरकर्ताले दाबी गरेका छन् ।
हाइस्कुल र क्याम्पसको रेकर्डअनुसार सिग्देल २०२१ साल चैत १९ मा जन्मेको देखिन्छ । हाइस्कुल र उहाँ पढेको सुपिङ क्याम्पसको रेकर्डमा उल्लेख भएअनुसार उहाँले नागरिकतामा झण्डै डेढ वर्ष उमेर घटाएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयको रेकर्डमा केरमेट गरेर जन्ममिति २०२३ साल बनाएको उजुरीकर्ताले दाबी गरेका छन् । त्रिविको रेकर्ड सिग्देलले २०७६ साउनमा सच्याउनुभएको हो । उमेर नाम वा जात सच्याउने नियम-२०१७ अनुसार प्रक्रिया पूरा गरेर मात्रै उमेर सच्याउन मिल्छ । प्रमाणपत्र पाएको ६ महिनाभित्र निवेदन दिएमा परीक्षा नियन्त्रण कार्यालयले साक्षी-सर्जिमन गराएर उमेर सच्याउन पाउँछ । तर, सिग्देलले बन्द कोठामा करेक्सन गराएको आरोप छ । २०७६ मा उपरथीमा बढुवा हुनेबेला उजुरी परेपछि उहाँले त्रिभुवन विश्वविद्यालय र प्रवेशिका परीक्षा (एसएलसी) को अभिलेखमा समेत केरमेट गरेको उजुरकर्ताले दाबी गरेका छन् ।
सिग्देल अहिले बलाधिकृत रथी हुनुहुन्छ । प्रभुराम शर्मापछि उहाँ प्रधानसेनापति हुने लाइनमा हुनुहुन्छ । २०८० मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँको ‘जन्ममिति विवाद’ छानविन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । अख्तियारको निर्देशनअनुसार समिति बनाएर सिग्देलको उमेर विवादबारे छानविन गरिएको रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यले बताउनुभयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच