कालो अरिङगालले टोकेर ओखलढुंगामा एक जनाको ज्यान गयो

हिमालय टाइम्स
Read Time = 3 mins

-राजकुमार कार्की
ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ५ मा अरिङगालले चिलेर एक पुरुषको ज्यान गएको छ । अरिङगाल चिल्दा ५९ वर्षिय भुवन सिँह मगरको ज्यान गएको हो ।

सोमबार विहान करिब ११ बजेको समयमा अरिङगालले चिल्दा बेहोस भएका मगरको उपचारको लागी सामुदायिक अस्पताल मिसन सोब्रुमा लगिएको थियो । उपचारकै क्रममा दिँउसो करिब २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

बिहान करिब साँढे १० बजेको समयमा घरनजिकै काभ्राको रुखमा अरिङगाल झिक्न रुखमा चढेका मगरलाई रुखमै अरिङगालले टोक्न थाले पछी रुखबाट झरेका थिए । रुखबाट झरेर भागेका बृद्धलाई लखेटी लखेटी टोकेर बेहोस बनाएको थियो । बृद्ध मगर भाग्दै गाईगोठको नजिक पुग्नु भएको थियो । अरिङगालको गोलै खनिएपछी भाग्न नसकेर उक्त गोठ नजिकै ढल्नु भएको थियो । कान्छी बुहारी गोठमा जाँदा ससुरा ढलेको र ढलेकै अवस्थामा टोकीरहेको देखेपछी हारगुहार गर्नुभएको थियो । कान्छा छोरा र छिमेकी समेत उपस्थित भएर धपाउने प्रयास गरेका थिए । धपाउने मान्छेलाई पनि टोक्न आएपछी -येनकोट (बर्सती) लगाएर गएपछी धपाउन सफल भएको कान्छी बुहारीले जानकारी दिनुभयो । ढलेकै अवस्थामा नाँक र मुखबाट रगत बगेको थियो । उपचारको लागी सामुदायिक अस्पताल मिसन सोब्रुमा १२ बजे पु¥याईएको थियो । उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा मृत्यु भएपछी जिल्ला प्रहरी कार्यालयमा आफन्तले खबर गरेका थिए । खबर प्राप्त हुनसाथ प्रहरी अस्पतालमा पुगी आवश्यक कानुनी प्रकृया पुरा गरेर लासको पोष्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । मृतक मगर, ३ छोराबुहारी मध्य जेठा छोराबुहारी सँग श्रीमती हर्कमाया मगरको साथमा बस्दै आउनु भएको थियो । जेठा छोरा रोजगारीको सिलसिलामा बिदेश हुनुहुन्छ भने बुहारी काठमाण्डौमा हुनुहुन्छ । घरमा बृद्ध श्रीमान श्रीमती मात्रै बस्दै आउनु भएको वडा समिति सदस्य नन्द बहादुर मगरले जानकारी दिनुभयो ।

अरिङगालले टोकेर गोठमा भएका गाई गोरुलाई समेत घाइते बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?