काठमाडौं । सबल अर्थतन्त्रका लागि मात्रै नभई देशको खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागिसमेत धानको महत्वपूर्ण भूमिका रहेको छ । तथापि मागअनुसार धान उत्पादन बढ्न नसक्दा वार्षिक अर्बौंको धान चामल आयात गर्नुपर्ने बाध्यता रहेको छ । धान चामल मात्र नभई हरियो तरकारीबाहेक अधिकांश कृषिजन्य वस्तु आयात हुने गरेको छ । कृषिमा सरकारको स्पष्ट नीति नहुँदा कृषिप्रधान मुलुक व्यापार प्रधान मुलुकमा परिणत हुन पुगेको हो ।
अधिकांश साना किसान केन्द्रित नेपालको कृषि मल, बीउ, सिँचाइ, पुँजी र प्रविधि अभावबीच गुज्रिँदै आएको छ । जसका कारण धानको उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन । कृषिका लागि अति आवश्यक मानिने सिँचाइ आयोजना वर्षौंदेखि निर्माणाधीन अवस्थामै छन् । झण्डै चार दशकअघि सुरु भएका सिँचाइ आयोजना अझै सञ्चालनमा आउन नसकेको अवस्था छ ।
साढे तीन दशकअघि सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको पानी किसानको खेतमा पुग्न अझै कति कुर्नपर्ने हो ? उक्त सिँचाइ आयोजना २०४५ सालमा निर्माण सुरु भएको थियो । निर्माणाधीन अन्य सिँचाइ आयोजनाको अवस्था पनि उस्तै छ ।
सिँचाइ विभागका अनुसार नेपालमा करिब ३५ लाख ५७ हजार सातसय हेक्टर जमिन कृषियोग्य रहेको अनुमान छ । विकट भौगोलिक बनोट तथा जमिनको स्थितिका कारण उक्त कृषियोग्य जमिनमध्ये करिब २५ लाख ३६ हजार हेक्टरमा मात्र सतह र भूमिगत जलस्रोतबाट सिँचाइ सुविधा पुर्याउन सकिने अवस्था छ ।
कृषि विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्म धानको बीउ ८८ करोड ६५ लाख २१ हजार, धान ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार, चामल आठ अर्ब ६९ करोड र कनिका नौ लाख २० हजार बराबर आयात भएको छ ।
हालसम्म कुल सिञ्चित क्षेत्रफल १५ लाख ५५ हजार पाँचसय आठ हेक्टरमा पुगेको छ । जसमध्ये सतह सिँचाइबाट १० लाख २२ हजार तीनसय ३५ हेक्टर अर्थात् करिब ६५.७४ प्रतिशत, भूमिगत सिँचाइबाट पाँच लाख ३० हजार ६५४ हेक्टर अर्थात् करिब ३४.११ प्रतिशत र नयाँ प्रविधि सिँचाइबाट दुई हजार एकसय १९ हेक्टर अर्थात् करिब ०.१५ प्रतिशत रहेको विभागको दाबी छ । तर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र सिँचाइ विभागको सिँचाइ तथ्यांकबीच एकरूपता देखिँदैन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को एक अध्ययनले ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था रहेको देखाएको छ । विभिन्न तथ्यांकहरूले व्यापक खण्डीकरणका कारण खेतीयोग्य जमिन घट्दै गएको देखाएका छन् ।
नेपालमा करिब १४ लाख हेक्टरमा धानखेती हुने गरेको सरकारी तथ्यांक छ । मौसम अनुकूल भएको अवस्थामा ५७ लाख मेट्रिकटन हाराहारी धान उत्पादन हुने गरेको छ । हालको उत्पादकत्व ३.८ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । तथापि, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गतका धान जोन, सुपरजोनहरूको उत्पादकत्व भने ४.५ मेट्रिकटन प्रतिहेक्टर रहेको आयोजनाको दाबी छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ कुल उत्पादन गत आर्थिक वर्षभन्दा ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको थियो, जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत बढी हो । चालु आर्थिक वर्ष धान उत्पादन कोशी प्रदेशमा उच्च रहेको थियो भने कर्णाली प्रदेशमा न्यून रहेको थियो । चालु आर्थिक वर्ष उत्पादकत्वतर्फ कोशी प्रदेश ४.४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहेकोमा मधेश प्रदेश ३.४९ मेटिकटन प्रतिहेक्टर सीमित हुन पुगेको थियो ।
७२ लाख मेट्रिक टन धान आवश्यक
धानविज्ञ डा. रामवरण यादवका अनुसार नेपाललाई करिब ७२ लाख मेट्रिक टन धान आवश्यक पर्छ । जसमध्ये खाद्यान्नका लागि ६२ लाख मेट्रिक टन, बीउका लागि ६७ हजार मेट्रिक टन र नौ लाख ३३ हजार पशुपक्षीको दाना र रक्सी बनाउन चाहिन्छ । १५ लाख ९० हजार मेट्रिक टन धान अपुग रहेको वर्षेनी ५० अर्ब बराबरको चामल आयात हुने गरेको छ । नेपाल धानमा आत्मनिर्भर हुन चैते धान खेतीमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । जसका लागि हाल भइरहेको एक लाख २० हजार हेक्टर चैते धानखेतीको क्षेत्रफल दुई लाख ५० हजारदेखि तीन लाख हेक्टरसम्म पु¥याउनुपर्ने हुन्छ । साथै ३० प्रतिशत हाइब्रिड धानका जात र बाँकीमा उन्नत जात प्रयोग गर्न सकिएमा हाल अपुग झण्डै १६ लाख अर्थात् १५ लाख ९० हजार मेट्रिक टन धानको माग सजिलै पूरा गर्न सकिने डा. यादवको भनाइ छ ।
नेपालमा अहिले पनि गाउँमा धान प्रायः मिलले कुट्ने गरिन्छ । जसबाट पोष्टहार्वेष्ट क्षति १० देखि १२ प्रतिशत भइरहेको अवस्था छ । धान कुट्दा हलरको सट्टा सेलर मिल प्रयोग गर्दा करिब १० देखि १२ प्रतिशतसम्म चामल बढी प्राप्त गर्न सकिन्छ । कुल धान खेतमा ६० प्रतिशत उन्नत जात ३० प्रतिशत हाइब्रिड जात र १० प्रतिशत स्थानीय (बासनादार र जलवायु सुहाउँदो) को प्रयोग गर्न जरुरी छ । जलवायु अनुकूलित धानका जात र प्रविधिमा जोड दिनुपर्ने र १० वर्षसम्म धानको अनुसन्धान र विकासका लागि निरन्तर कार्यक्रम सञ्चालनका लागि सरकारले लगानी सुनिश्चित गर्नुपर्ने पनि उहाँको सुझाव छ । त्यसैगरी, जैविक र प्रांगारिक मल प्रयोगलाई प्राथमिकतामा राख्दै धानको उत्पादन लागत घटाउन यन्त्रिकीकरण, वैकल्पिक सिंचाई प्रविधि, असल कृषि अभ्यास, हाइब्रिड धानका जातको बीउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ ।
घट्दो क्रममा खेतीयोग्य जमिन, अनुसन्धान र विकासमा लगानीको कमीका साथै कम प्राथमिकता, मौसम परिवर्तन, उपभोक्ताको व्यवहारमा परिवर्तन (मसिना चामलको माग), समयमा मलखाद, उन्नत बीउ र विषादी अभाव र न्यून उपलब्धता, यन्त्रिकीकरणको प्रयोगको कमीलगायत धान उत्पादनमा चुनौतीका रूपमा रहेका छन् । पछिल्लो समय सरकारले कतिपय कृषि प्रविधि आयातमा अत्यधिक कर लगाएका कारण कृषि यान्त्रिकीकरण निरुत्साहित हुने खतरा बढेको कृषि यान्त्रिीकरण व्यवसायीले बताएका छन् । कृषि सामग्रीमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र भन्सार गरी ५० प्रतिशतभन्दा बढी कर असुल्ने गरेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताउनुभयो । त्यसैगरी, नेपाल बीउ व्यवसायी संघका समेत अध्यक्ष रहनुभएका गोेर्खा एग्री गु्रपका अध्यक्ष वसन्त मरहठ्ठा पनि आयातित कृषि प्रविधिमा कर थोपरेर सरकारले कृषि लगानी दशकको कुरा गर्नु हास्यास्पद भएको बताउनुहुन्छ । त्यस्तै, लामो समयदेखि इजरायलको कृषि क्षेत्रमा काम गरेर हाल स्वदेशमै व्यवसाय गर्दै कृषि प्रविधि काम गर्दै आउनुभएका सलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारी सरकारले कृषि प्रविधिमा अधिक कर लगाएर किसानलाई अनुदानको नाटक गरिरहेको बताउनुहुन्छ । प्रविधि आयातमा सहुलियत दिए, प्रविधि सस्तो हुने र किसानलाई अनुदान दिनै नपर्ने उहाँको जिकिर छ ।
अर्को कुरा, कृषिका लागि नभई नहुने रासायनिक मल अभाव नेपालको कृषि क्षेत्रमा ठूला समस्या बनेको छ । रासायनिक मलकै लागि सरकारले वर्षेनी ठूलो रकम खर्च गर्ने गरेको छ । तर, पनि किसानले समयमै मल पाउन नसकिरहेको अवस्था छ । मुक्तिनाथ कृषि कम्पनीका उपमहाप्रबन्धक रामशरण तिमल्सिना धानको बीउ मात्रै सुधार गर्ने हो भने पनि धान उत्पादन ३० देखि ४० प्रतिशतसम्म बढ्ने बताउनुहुन्छ । तर, बीउ सुधारतर्फ ध्यान नदिँदा हाइब्रिड बीउको आयात बढेको छ । बीउ बिजन कम्पनी र एग्रोभेटहरू पनि स्वदेशी जातभन्दा आयातित जात कारोबारमा रमाइरहेको अवस्था छ । तिमल्सिनाका अनुसार नार्कले विकास गरेका कतिपय जात धेरै राम्रा छन् तर किसानसम्म पुग्न सकेका छैनन्, ती जात अझै सुधार गर्न सकिन्छ, मुक्तिनाथले पनि त्यसमा काम गरिरहेको छ । नार्कले विकास गरेको रामपुर हाइब्रिड १०, रामपुर हाइब्रिड १६ धेरै राम्रो रहेको र थप सुधार गर्न सकिने उहाँ बताउनुहुन्छ । नार्कले विकास गरेका कतिपय जात किसानसम्म नपुग्ने समस्याका कारण पनि किसानले आयातित बीउ प्रयोग गर्न बाध्य भएका छन् ।
८८ करोड बढीको बीउ आयात
कृषि विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म धानको बीउ ८८ करोड ६५ लाख २१ हजार बराबरको २१ लाख सात हजार २३३ केजी आयात भएको छ । त्यस्तै, ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार बराबरको ३० करोड ५३ लाख १० हजार ५२० केजी धान आयात भएको छ भने आठ अर्ब ६९ करोड ६८५ बराबरको आठ करोड २७ लाख ६९ हजार ९८९ केजी चामल र नौ लाख २० हजार बराबरको २१ हजार १२४ केजी कनिका आयात भएको छ ।
उत्पादन मोटा धान, माग मसिना
बजार माग र उपभोक्ताको रुचि अनुसारको उत्पादन हुन नसक्दा र खानेबानीमा परिवर्तन हुन नसक्दा पनि आयात बढ्ने गरेको छ । मुक्तिनाथ कृषि कम्पनीका उपमहाप्रबन्धक तिमल्सिनाका अनुसार नेपालमा ४२ प्रतिशत मोटा, ३४ प्रतिशत मध्यम र सात प्रतिशत मात्रै मसिनो धान उत्पादन हुने गरेको छ । तर, माग भने जिरा मसिनोको छ । सोही कारण पनि प्रशोधन उद्योगहरूले बाहिरबाट मसिनो धान ल्याउने गरेका छन् भने व्यापारीले मसिना चामल । खाने बानीमा परिवर्तन नहुँदा ६७ प्रतिशत उपभोग चामलकै रहेको छ । भातभन्दा अन्य मकै, गहुँ, कोदो, फापर लगायतका खाद्य पदार्थ बढी स्वस्थकर हुने भए पनि आवश्यक जनचेतना अभावमा चामलको भात मात्रै राम्रो खाना हो भन्ने धेरैमा छाप परेको देखिन्छ । त्यसो त शहरी क्षेत्रमा खानपानकै कारण स्वास्थ्य समस्या बढेपछि वैकल्पिक खानपानको क्रम पनि सुरु हुन थालेको छ । तर, पनि अन्य खाद्यान्न सहज र सर्वसुलभ नहुँदा चाहेरै पनि सर्वसाधारण उपभोक्ता वैकल्पिक खानापानमा जान नसक्ने अवस्था छ । चामलभन्दा कोदो फापर झन् महँगो छ भने विगतमा प्रचलनमा रहेको खाद्यवस्तु रैथाने नाममा महँगो बनाइएको अवस्था छ । जस्तै जुम्लाको सिमी, चिनो, कागुनोलगायत । मुसुरोभन्दा सिमी सस्तो हुँदो हो त आयातित मसुरो उपभोक्ताको रोजाइमा पर्ने थिएन होला ।
प्रधानमन्त्रीले मेसिनबाट धान रोप्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शनिबार) मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । राष्ट्रिय धान दिवस यसवर्ष चितवनमा मेसिनबाट एक हेक्टर जमिनमा खेत रोपेर मनाउन लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेर धान दिवस मनाउन लागिएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोप्ने कार्यक्रम रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपिनेछ । कृषि विभागका महानिर्देशक तथा मूल आयोजना समितिका संयोजक डा. नरहरिप्रसाद घिमिरेले चितवन धान खेतीको जोन क्षेत्र भएकाले यसपटक चितवनमा धान दिवसको आयोजना गरिएको बताउनुभयो । जलवायु परिवर्तनअनुकूल कृषि प्रविधिलाई कृषकसम्म प्रचारप्रसार गर्न चितवनमा धान रोपाइँको आयोजना गर्न लागिएको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच