अहिले आएर राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि धाँजाहरू फाट्न थालेको देखिन आएको छ । यस्तो अवस्थाको सिर्जना अहिले भएको होइन, पहिलेदेखि नै बीज रोपिन गएको थियो र त्यसले अंकुराउने मौकामात्र अहिले पाएको हो भन्ने गरिएको छ । पहिलो पटक सरकारमा जाँदा र सरकारबाट बहिरगमन हुँदादेखि नै उक्त पार्टीमा मतभेद थियो । पहिलो पटक चुनावमा सहभागी हुँदा नै सोचेभन्दा बढी ठाउँमा विजयी बन्न पुगेको हुनाले ज्यादा उत्तेजित बन्न पुगेको उक्त पार्टीका अध्यक्ष तथा उहाँका केही सहयोग सदस्यहरूले सरकारमा जाने निर्णय गरेका थिए । पार्टीका केही सदस्यहरूले सिंगापुरका लि क्वान युजस्तै सरकारमा जान हतार गर्नुहुँदैन पनि भनेका थिए तर अध्यक्ष रवि लामिछाने र केही सदस्यहरूको मन्त्री बन्ने महत्वाकांक्षाले गर्दा रास्वपा सरकारमा गयो ।
तत्काल अध्यक्ष लामिछानेको नागरिकता र पासपोर्टको प्रश्न उठाएर अदालतमा मुद्दा परेपछि अदालतले उहाँको सांसद पद र पार्टीको अध्यक्षसमेत खारेज गरिदियो । उहाँले त्यसलाई कानुनी रूपमा उपचार खोज्नुभयो र पुनः पार्टी सभापति तथा त्यसपछि भएको उपनिर्वाचनबाट सांसदमा विजयी बन्नुभयो । नेपाली कांग्रेस र माओवादीको गठबन्धनको सरकार छउन्जेल उक्त पार्टी प्रतिपक्षमा रहृयो र हालको नयाँ गठबन्धनमा सामेल भएर पुनः सरकारमा बसेको छ । यसरी सरकारमा संलग्न बन्ने निर्णय भएर पार्टीका केही सदस्यहरूलाई सरकारमा पठाउने बेलादेखि नै बाहिर छताछुल्ल नभएको भए पनि उक्त पार्टीमा विवाद पैदा हुन थालेको थियो । विशेष गरी निर्वाचित सांसदहरूलाई पाखा लगाएर समानुपातिकका सांसदलाई मन्त्री बनाइएको भनेर विरोधका आवाजहरू बाहिर आउन थालेका थिए ।
सुमना श्रेष्ठलाई मन्त्री बनाएकोमा पहिलोपटक छोटो समय मन्त्री बनेर छिट्टै हट्नु परेको तोसिमा कार्की र अर्की निर्वाचित सांसद सोभिता गौतमहरूको असन्तुष्टि रहेको थियो । यसो हुँदाहुँदै अरू पार्टीहरूमा देखिँदै आएको मतमतान्तरको सुरुवात यस पार्टीमा पनि देखिन थालेको थियो । त्यसको झांगिएको स्वरूप चाहिँ हालको अवस्था हो । अरू पार्टीहरूको इतिहास हेर्ने हो भने सबैको यस्तै छ । मतमतान्तर, कलह र अन्तिममा विभाजनसमेत भएका छन् । नेपाली कांग्रेस स्थापिना कालदेखि नै यस्तै इतिहासबाट गुज्रिँदै आएको छ । एमाले र यी दुईभन्दा पछिको पार्टी माओवादी केन्द्रको इतिहास पनि अरूकै जसरी पुनरावृत्ति हुँदै आएको छ ।
सबै पार्टीमा यही प्रकारको इतिहास दोहोरिँदै आएको अवस्थामा रास्वपाको सुरुवाती दिनमा नेपाली नागरिकहरूले अबको आफ्नो सपना उक्त पार्टीबाट पूरा हुनसक्ने ठानेर यस पार्टीलाई मत दिएका हुन् । आशालाग्दो देखिएको नै निराशामा परिणात भएको भन्ने नेपाली उखानको अहिले रास्वपाको मतमतान्तरले पुष्टि गरेको छ । सरकारमा गएकाहरू त्यही विषयमा विवादमा तानिएलान् तर सरकारमै नगएका पार्टीहरू पनि विवाद गर्दागर्दै अन्ततः सानो पारिवारिक पार्टीमा पुगेको अवस्था केही पार्टीहरूमा देखिएका छन् । तिनका टुक्रिएका चोइटाहरू अन्तिममा विलय नै भएका पनि छन् । राप्रपा, माले र मधेसवादी विभिन्न पार्टीहरूलाई हेर्दा तिनमा पनि मतमतान्तर, विभाजन, पुनर्मिलन र विलय देखिँदै आएको छ ।
यसो हुनाले कतिपय पार्टीको त जनताले नाम पनि सुनेका हुँदैनन् । यस्तो विवादले हो केही गर्छन् भनेका ठूला पार्टीहरूले समेत आशातीत काम गर्न नसकेको । अब आएर जनताले सपना सिर्जना गरेको भनिएको पार्टी रास्वपा पनि अग्रजहरूको पदगामी बन्नपुगेको छ । यस पार्टीले पार्टी महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको लोकपृयताको बारेमा समीक्षा गर्न यात्रामा पठाएकोमा उहाँले यसको कठोर समीक्षा गरी पार्टीको लोकप्रियता खस्किँदै गएको प्रतिवेदन तयार गर्नुभएको थियो । उहाँले आफ्नो प्रतिवेदन अध्यक्षसमक्ष पेश गर्नुभन्दा पहिले नै त्यसको केही अंश सार्वजनिक भइसकेको थियो । यसलाई विषय बनाएर उहाँमाथि कारबाही हुनुपर्ने माग केही सदस्यहरूबाट भइरहेको छ ।
डा.ढकालले ग्रासरुट तहका जनताहरूसम्म पुगेर गरेको भेटघाटबाट जे जस्तो प्रतिक्रिया पाउनुभयो त्यसको निर्मम समीक्षा उहाँबाट भएको हुनसक्छ । उहाँले अहिलेकै जस्तो अवस्था रहिरहने हो भने आगामी निर्वाचनपछि पार्टी राष्ट्रिय पार्टी बन्न मुस्किल हुने र एक दुई सिटमा मात्र विजयी बन्नसक्ने निष्कर्षसहितको प्रतिवेदन तयार पार्नुभएका कारण उक्त पार्टीमा तरंग पैदा हुनपुगेको हो । तर, पार्टीमा प्रतिवेदनका कारण विवाद भएको जस्तोभन्दा पनि प्रतिवेदन अध्यक्षलाई बुझाउनुभन्दा पहिले किन सार्वजनिक भयो भनेर विवाद गरेको जस्तो देखाइएको छ । यस विषका आधारमा महामन्त्री ढकाललाई कारबाहीको माग गरिएको छ ।
उहाँले पार्टी अर्को विवेकशील पार्टी बन्ने सम्भावनातर्फ गर्नुभएको संकेत रास्वपालाई पाच्य बन्न नसकेको भएर उहाँलाई कारबाही गर्ने माग गर्नपुगेको छ र मतमतान्तरहरू सार्वजनिक बनिरहेका हुन् भन्नेजस्तो देखिएको छ । केहीले उहाँको कारबाहीको कुरा उठाएका छन् भने केही सदस्यहरूले पार्टी सरकारमा बस्नुको औचित्य पुष्टि गर्नुपर्ने आवाज पनि उठाइएको छ । हुन त यो पार्टीको आन्तरिक मामिला भयो तर यसले के संकेत गरेको छ भने पहिलो कुरा जुनसुकै पार्टी पनि विवादरहित भएर एक ढिक्का भई आफ्नो राजनीतिक मार्गमा अगाडि बढ्न सकेनन् भन्ने देखाएको छ । अर्को कुरा कुनै पनि पार्टीमा विवादमा हुनुभनेको त्यसको नकारात्मक प्रभाव राष्ट्रिय विषयमा समेत पर्न सक्छ भन्ने हो । यसकारण यसलाई विडम्बनाका रूपमा लिनुपर्र्ने हुन्छ र आशा गरिएको नै जेठाजु नाता परेको रूपमा रास्वपाको विवादलाई लिन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच