काठमाडौं । कवि दिलीप श्रेष्ठको लघुकविता संग्रह ‘नबनाएको घर’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच कवि एवं संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यता र प्राडा.सुरेन्द्र केसीको विशेष आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि दिवसले छुट्टै काव्य शैली निर्माण गर्नसक्ने नै साँचो कवि हुने बताउँदै दिलीप श्रेष्ठ पृथक शैली बनाइसकेका कवि भएको पुष्टि संग्र्रहका कविताले गर्ने बताउनुभयो । कविता लामोछोटो जस्तो भए पनि विचार, भाव र पृथक शैली हुनुपर्ने उहाँको भनाइ थियो ।
इतिहासविद् प्राडा.केसीले साहित्यको इतिहासमा धेरै लेखकले विभेद भोग्नुपरेको यथार्थको चर्चा गर्नुभयो । वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षाका क्रममा श्रेष्ठका कविता पढ्दा आफू सुखद् आश्चर्यमा परेको बताउँदै कवितामा कविका विचार, अनुभूति र संवेदना अत्यन्त कलात्मक र पृथक शैलीमा आएको धारणा राख्नुभयो । कार्यक्रममा अध्यक्ष लेकाली, वरिष्ठ कवि ज्ञान उदास, भारतीय दूतावासका प्रतिनिधि सर्जक सत्येन्द्र दहिया, कृतिकार दिलीप श्रेष्ठलगायतले आ-आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा कृतिकार दिलीप श्रेष्ठलाई सम्मान पनि गरिएको थियो भने लोकार्पित कृतिबाट साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ कवि ज्ञान उदास र कवि रिमा केसीले कविता वाचन गर्नुभएको थियो । सो अवसरमा आफ्नो तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका भारतीय दूतावासका प्रतिनिधि सर्जक सत्येन्द्र दहियालाई विशेष सम्मानसहित बिदाइ गरिएको थियो । सर्जक दहियाले दूतावासमार्फत नेपालर भारतका सर्जकबीच साहित्यिक र सांस्कृतिक कार्यक्रमका लागि सेतुको काम गर्दै आउनुभएको छ । कार्यक्रममा उहाँको परिचय अध्यक्ष लेकाली गर्नुभएको थियो । सापस सचिव नीता श्रेष्ठको जन्मदिनको अवसरमा विशेष बधाई ज्ञापन गरिएको सो कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।
कवि दिलीप श्रेष्ठको यसअघि ‘जिन्दगीको यात्रा कहाँ रोकूँ ? (केही कविता केही गीत, २०५६), ‘रेल चढेपछि’ (केही कविता केही गीत,२०७४) र ‘खोलापारिकी आमा’ कवितासंग्रह (२०७४) प्रकाशित छन् । कवि यादव भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि दिवस, विशेष अतिथि केसी, प्रमुख वक्ता प्रधान, कविहरू ज्ञान उदास, दिलीप श्रेष्ठ, सत्येन्द्र दहिया, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, रिमा केसी, रुद्र अधिकारी, नीता श्रेष्ठ, बुनु दाहाल, सुरेन्द्र श्रेष्ठलगायतलाई अध्यक्ष लेकालीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच