काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विभिन्न डमी कम्पनीहरूमार्फत नेपालमा ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरेको सिआइबीले विभिन्न सातवटा डमी कम्पनीमध्ये पाँचबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेकसु गरी कुल तीन हजार १९४.६६८ किलोग्राम अवैध सुन चोरी पैठारी गरेको निष्कर्ष निकालेको हो । यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार रुपैयाँ हुने सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले बताउनुभयो । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सकेर सिआइबीले सोमबार नै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
उहाँका अनुसार २०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् प्रहरीले संगठित अपराधतर्फ अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा ब्रेक सुमा लुकाई छिपाइ ल्याएको अवैध सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएको उहाँले बताउनुभयो । त्यसरी ल्याइएको सुन गाल्न दुईटा समूहसमेत परिचालन भएको सिआइबीले फेला पारेको छ । टोखामा एलेक्स भन्ने याओ प्युचेङलगायत समूह यसअघि नै पक्राउ परिसकेका थिए । दोस्रो चरणको अनुसन्धानबाट लाजिम्पाटमा साम भन्ने झोङ जिङ्चुआन लगायतको समूह पक्राउ परेका हुन् ।
चार भारतीय र दुई चिनियाँ नागरिकसहित २० जना पक्राउ
सिआइबीले दोस्रो चरणको अनुसन्धानबाट तस्करीमा संलग्न २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरुङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, राजु खत्री भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रहृमादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठ छन् । सिआइबीले तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएपछि पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल आचार्य र लेखा प्रमुख सुरज शमशेर जबरा पक्राउ गरेको छ । त्यस्तै अवैध भुक्तानीमा संलग्न रहेको भेटिएपछि पेमेन्ट गेटवे सजिलो पे का प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र सुशीला जाकिबन्जा पनि पक्राउ परेका छन् । एजेन्टहरू लालबहादुर कुँवर र अरूणकुमार यादवसहित सिआइबीले विभिन्न मितिमा गरी हालसम्म २० जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा १४ जना नेपाली नागरिक, चारजना भारतीय र दुई चिनियाँ नागरिक छन् ।
४६ जना प्रतिवादी, साढे दुई खर्ब बढी बिगो दाबी गर्न सिफारिश
सिआइबीले पक्राउ परेका २० जना र फरार रहेका २६ जना गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ । उनीहरूविरुद्ध दुई खर्ब ६६ अर्को ६७ करोड नौ लाख नौ हजार ३०८ रुपैयाँको बिगो दाबी गरिएको सिआइबीले जनाएको छ । भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन–२०७०, मुलुकी अपराध संहिता २०७, नागरिकता ऐन २०२०, राहदानी ऐन २०२४, नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही सिफारिश गरिएको छ । सिआइबीले बुझाएको प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ । मंगलबारसम्म जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी कार्यालयको छ । ६० किलो सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान गर्दा सिआइबीले चिनियाँ नागरिक दाओजिन वाङ नै मुख्य व्यक्ति रहेको बताएको थियो । दोस्रो चरणको अनुसन्धानमा पनि वाङकै लगानीमा विभिन्न कम्पनी खोलेर तीन हजार १९४ किलो सुन तस्करी भएको सिआइबीले फेला पारेको छ । वाङ अहिले फरार छन् । ६० किलो सुन समातिसक्दा पनि सुन तस्करी रोकिएको थिएन । पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेका थिए । तीमध्ये अदालतको आदेशबाट २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
‘हाई प्रोफाइल’ को संलग्नता भेटिएन : सिआइबी
६० किलो सुन तस्करी सिआइबीले गरेको अनुसन्धानबाट हाई प्रोफाइल व्यक्तिको संलग्नता नभेटिएको पाइएको छ । सिआइबीको दोस्रो चरणको अनुसन्धानबाट हाई प्रोफाइलको संलग्नता नभेटिएको हो । सिआइबी प्रमुख श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करी प्रकरणमा हाई प्रोफाइल नाम नभेटिएको बताउनुभयो । यसअघि कृष्णबहादुर महरा र दीपेश पुनलगायत हाई प्रोफाइल व्यक्तिको नामसमेत सुन तस्करी प्रकरणमा जोडिएको थियो । तर, यही प्रकरणमा नाम नजोडिएको र अर्को भेपमार्फत भएको सुन प्रकरणमा उनीहरूको नाम जोडिएको सिआइबीले बताएको छ । ‘भेपमार्फत भएको तस्करी प्रकरण फरक हो,’ ज्ञवालीले भन्नुभयो, ‘यो ६० किलो सुन प्रकरणमा उनीहरूको कनेक्सन अहिलेसम्म भेटिएको छैन ।’ यद्यपि, सिआइबीका अनुसार ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकिइसकेको छैन । यतिबेला दोस्रो चरणको अनुसन्धानबाट देखिएको तथ्यका आधारमा मात्रै प्रतिवेदन बुझाइएको सिआइबीले जनाएको छ । थप अनुसन्धानका क्रममा हाई प्रोफाइलको नाम जोडिएमा सिआइबीले थप कार्य अघि बढाउने ज्ञवालीले बताउनुभयो ।
पेवेल र सजिलो-पे प्रयोग गरी ५५ अर्ब ७९ करोड भुक्तानी
भुक्तानी साधन पेवेल र सजिलो-पे प्रयोग गरी सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ । सिआइबीले लामो समय लगाएर दुई भुक्तानी साधन ‘वालेट’माथि गरेको अनुसन्धानबाट सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको हो । नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे भुक्तानी साधन सञ्चालन तथा व्यवस्थापनको इजाजत पत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक-पटक गरी कुल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार आठ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको सिआइबीले सार्वजनिक गरेको हो । काठमाडौं अनामनगर केन्द्रीय कार्यालय रहेको पेवेल नेपालले स्थापना कालदेखि हालसम्म पटक-पटक गरी कुल एक खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकोमा भौचर डिपोजिटका आधारमा ९६ अर्ब बराबरको कारोबार गरेको देखिएको सिआइबीले जनाएको छ । जसका आधारमा अनुसन्धान गर्दा कम्पनीले सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको देखिएकाले आठ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ । दुई नम्बरी कारोबारमा संलग्न देखिएपछि अनुसन्धान थालेको सिआइबीले यी दुई कम्पनीको बैंक खाता रोक्का गर्न नियामक केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’ लाई पत्राचार गरेको थियो । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि. र सजिलो पेमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच