बर्दघाटमा सुरक्षित वैदेशिक रोजगारका लागि समुदाय र ब्यक्ति केन्द्रित शिक्षा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन समुदाय र ब्यक्ति केन्द्रित शिक्षा सञ्चालन गरिएको छ । बर्दघाट नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत सुरक्षित वैदेशिक रोजगारसंग सम्बन्धित रहेर आर्थिक बर्ष २०८०/०८१ मा २ सय १२ जनालाई अभिमुखिकरण गरिएको हो ।

बर्दघाट नगरपालिका वडा नम्बर २ सुखौरा, वडा नम्बर १३ धनेवा, वडा नम्बर ०४ शिवस्मृति, वडा नम्बर ५ सखुवानीमा ३० देखी ४० जनाको समुह बनाइ १ सय ६५ जनालाई समुदायमा नै सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण गरिएको छ । नगरले टोल/टोलमा पुगेर समुदाय स्तरमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सूचना प्रवाह, निशुल्क सीप सम्बन्धि तालिम सञ्चालन गरिएको बर्दघाट नगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका रिट्रनी स्वयंसेवक सुर्य प्रसाद पाण्डे जानकारी दिनुभयो ।

नगरले वैदेशिक रोजगारीमा बढी जाने समुदाय केन्द्रिय र ब्यक्ति केन्द्रित गरि अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो । बर्दघाट ०७ मा २५ जना र बर्दघाट ०५ पालडाडाको सर्बोदय टोलमा २२ जना गरि ४७ जना वैदेशिक रोजगारीमा जान तयार भएका ब्यक्तिहरुलाई सूचना प्रवाह गरिएको पाण्डेले उल्लेख गर्नुभयो ।

बर्दघाट नगरपालिकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन टोल टोलमा गएर समुदाय स्तरमा नै कक्षा सञ्चालन गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।"नगरबाट वैदेशिक रोजगारीमा जान चाहाने र वैदेशिक रोजगारीमा रहेका घर परिवारका सदस्यलाई लक्षित गरि बित्तीय साक्षरता र मनोसामाजिक परामर्शका कक्षाहरुको सञ्चालन गरिएको थियो । ती कक्षाहरुको उपलब्धि राम्रो आएको छ । त्यसैले नगरले यो बर्ष पनि निरन्तरता दिने गरि अगाडि बढेका छौं ।" नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

वैदेशिक रोजगारमा जान लागेका र वैदेशिक रोजगारीमा गएका घरपरिवारहरुलाई लक्षित गरेर बित्तीय साक्षरता सञ्चालन गरेको छ । कमाउन भन्दा पनि कमाएको लाई बचाउने तथा कमाइ परिचालन गर्ने बिषयमा केन्द्रित रहेको सञ्चालन गरिएको कक्षाको उपलब्धि राम्रो आएको नगर उपप्रमुख रुद्र प्रसाद उपाध्यायले बताउनु भयो । "बिदेशबाट रेमिटेन्स आएको पैसा खर्च गर्ने मात्रै भन्दा पनि आफुले गर्न सक्ने काम गरेर केहि कमाउनु पर्छ र बचत गर्नु पर्छ भन्ने भावना विकास भएको पाएका छौं ।" उपाध्यायले भन्नुभयो ।

पश्चिम नवलपरासीमा बर्दघाट, सुनवल, रामग्राम नगरपालिका र प्रतापपुर गाउपालिकामा सामि कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनु भयो । सामी कार्यक्रमबाट यो बर्ष पश्चिम नवलपरासीका करिव १२ हजार जनालाई सूचना तथा परामर्श दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?