कृष्णप्रसाद सुवेदी/हिटा
काठमाडौं । वैदेशिक रोजगारीका आडमा पछिल्लो समय मानव तस्करीको धन्दा फस्टाइरहेको छ । जसमा म्यानपावर कम्पनी प्रमुख कारकको रूपमा देखिएका छन् । यस्तै ठगीका एउटा घटना सार्वजनिक भएको छ । एचएमटी ओभरसिजबाट दुबई पुगेका ११ जना नेपाली कामदार त्यहाँ पाँच महिनादेखि अलपत्र परेका छन् । एचएमटी ओभरसिज नेपालमा दर्ता भएको म्यानपावर कम्पनी हो । तर, उनीहरूको करार सम्झौता भने दुबईमा रहेको वेष्ट गोर्खा सेक्युरिटी सर्भिस कम्पनीसँग भएको छ । उनीहरूको श्रम स्वीकृति लाइसेन्स नम्बर १४२९ भने एचएमटी ओभरसिजबाटै निकालिएको छ । यो घटनाले वेष्ट गोर्खा सेक्युरिटी सर्भिस कम्पनी र एचएमटी ओभरसिजको मिलेमतोमा खाडीलगायत युरोपियन मुलुकहरूमा मानव तस्करी भइरहेको पुष्टि भएको छ ।
पाँच महिना अघि दुबई पुगेका नेपालीहरूको अवस्था भने दयनीय बन्दै गएको छ । उद्दारका लागि उनीहरूले सामाजिक सञ्जालमार्फत सरकारलाई गुहारेका छन् । राम्रोसँग खान, बस्नसमेत नपाएको उनीहरूले गुनासो गरेका छन् । मानव तस्करीकै लागि एचएमटी ओभरसिजले ‘युएई’ मा उक्त कम्पनी खडा गरेको पुष्टि भएको छ । युएईस्थित नेपाली दूतावास र वैदेशिक रोजगार विभागकै मिलेमतोमा यसरी मानव तस्करी गर्ने गरेको रहस्य खुलेको हो ।
युएईमा रहेको नेपाली दूतावासको सहयोगमा वेष्ट गोर्खा सेक्युरिटीको मागपत्र निकालेर नेपाली कामदार खाडीलगायत, युद्धग्रस्त रुस र अन्य युरोपियन मुलुकमा मानव तस्करी गर्ने गरेको भेटिएको छ । पासपोर्ट नं.‘पीए ११५५११७’ रहनुभएका प्रकाश कार्कीलाई एचएमटी ओभरसिजका सञ्चालक राजकुमार पुरीले युएईस्थित वेष्ट गोर्खा सेक्युरिटी सर्भिसमा सेक्युरिटी गार्डका लागि पठाए । कार्कीलाई तीन महिनाको ट्रायल अवधिमा १५ सय दिराम र ट्रायल पास गरेपछि १९२० दिरामभन्दा माथि रकम पाउने भनी सम्झौता गरिएको थियो । कार्कीले तीन महिनाको ट्रायल पास गरिसक्नु भएको छ । तर, उहाँलाई पाँच महिनामा एक महिना बराबरको आधा तलब मात्र ६०० दिराम दिइयो । त्यो पैसा खानामा सकिएको कार्कीले हिमालय टाइम्ससँग बताउनुभयो । चर्को ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुभएका प्रकाश अहिले कम्पनी परिवर्तन गरेर भए पनि काम गर्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा पुग्नुभएको छ ।
एचएमटी ओभरसिजबाट सम्पूर्ण आवासीय सुविधा सहितको सम्झौता गरेर कार्कीलगायत अन्य नेपालीले एचएमटीलाई तीन लाख पचास हजारभन्दा बढी रकम बुझाएर वेष्ट गोर्खा सेक्युरिटी सर्भिस कम्पनीमा पुगेका थिए । युएईको सो कम्पनीमा पुगेपछि २० दिन उनीहरूलाई सम्झौताविपरीत कोठामै बन्धक बनाएर राखियो । नेपालमा गरेको सम्झौता बमोजिमकोे कुनै पनि सेवासुविधा दिइएन । कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा काम गर्ने भए चार हजार दिराम दिएर जानु भनेको पीडित कार्कीकी श्रीमती तारादेवी घिमिरेले जानकारी दिनुभयो ।
उनीहरू बस्ने कोठा उडुसले भरिएको छ । कम्पनीले ज्यालादारी जस्तो हप्ता या महिनामा कहिलेकाहीँ मात्र काममा पठाउने गरेको र काम नदिएर कोठामा बसेको दिनको ज्याला नदिने भनेपछि अर्को कम्पनीमा काम दिनुभन्दा उल्टै कम्पनीले चार हजार दिराम मागेको हो । खान, बस्न र अन्य सम्झौता बमोजिमको कुनै सेवासुविधा नपाएको प्रकाश बताउनुहुन्छ ।
प्रकाशकी श्रीमती तारादेवी चार महिनादेखि श्रीमानको उद्दारका लागि वैदेशिक रोजगार विभाग धाइरहनु भएको छ । उहाँले श्रीमान्को उद्दारका लागि विभागमा उजुरीसमेत दर्ता गराउनुभएको छ । तर, आजसम्म उहाँको गुनासो सुनुवाइ भएको छैन । दुई वर्षको दुधे बालक बोकेर तारादेवी बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव धनश्याम उपाध्यायलाई भेट्न पुग्नुभएको थियो । तर, कार्यकक्षमा सचिव नहुँदा उहाँ बाहिरै रोइरहेको अवस्थामा हामीले भेटेका हौँ । यो चार महिनाको अवधिमा तीनपटक मन्त्री र श्रम सचिवलाई भेट्न गएकोमा दुईपटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलराज अर्यालसँग भेटेर आफ्नो पीडा राखेको उहाँले बताउनुभयो । मन्त्रीले म भनिदिन्छु भनेको पनि तीन महिना पुगिसकेको तारादेवीले भन्नुभयो ।
सचिवालयका कर्मचारी धर्मराज लम्सालले वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालको नम्बर टिपेर दिनुभयो । अधिकृत भुसाललाई उहाँले सम्पर्क गर्दा भुसालले तपाईं यति चलाख मान्छे कसरी पीडित हुन्छ ? भन्ने ठाडो जवाफ दिएको जानकारी तारदेवीले दिनुभयो । विभाग मात्रै होइन चार महिनादेखि उहाँ सिंहदरबार पनि धाइरहनु भएको छ । तारादेवीले सामाजिक अभियान्तादेखि सांसद सम्मलाई आफ्नो कुरा राखिसक्नु भएको छ तर कसैले पनि आफ्ना पीडा नबुझेको उहाँ बताउनुहुन्छ ।
एचएमटी ओभरसिजका सञ्चालकहरूमा तुलसीराम पुरी, राजकुमार पुरी, लक्ष्मीप्रसाद गिरी र हरिशरन सिंखडा छन् । जसमा तुलसीराम लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको सचिव हुन् भने राजकुमार एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालनिकट छन् । यी दुवै दाजुभाइ हुन् ।
उता, युएईस्थित नेपाली दूतावासमा आफ्नो समस्या लिएर जानुभएका प्रकाश कार्कीलाई पनि दूतावासका कर्मचारीले उल्टै हपारेर पठाएको बताउनुभएको छ । एचएमटी ओभरसिजले ११ जना नेपालीहरूलाई दुबईको वेष्ट गोर्खा सेक्युरिटी सर्भिस कम्पनीका लागि सेक्युरिटी गार्ड भनेर करार सम्झौता गरेको थियो तर दुबई पुर्याएपछि क्लिनरमा काम गर्न बाध्य पारिएको पीडितहरूले जानकारी दिएका छन् । जसमध्ये एकजना क्लिनरको काम गर्न नसकेर आफ्नै खर्चमा स्वदेश फर्किएका छन् । उक्त म्यानपावरबाट सेक्युरिटी गार्डमा गएका अन्य कामदारहरूलाई समेत क्लिनरमा काम गर्न बाध्य पारिए पनि क्लिनरमा काम नगर्ने अडान लिएर बसेको पीडित कार्कीले जानकारी दिनुभएको छ ।
वैदेशिक रोजगार ऐनको दफा २५ मा रोजगारीमा जाने मुलुकको सम्बन्धित रोजगारदाता कम्पनी र पठाउने म्यानपावर कम्पनीले आफ्नो दायित्व पूरा गर्नु पर्नेमा दायित्व पूरा गरेको देखिँदैन भने उक्त ऐनको दफा ५५ मा करार सम्झौताविपरीत कार्य गरे, गराएको देखिन्छ । यसरी करारविपरीत कार्य गरेको पुष्टि भएमा सम्बन्धित म्यानपावर कम्पनीलाई एकलाख रुपैयाँ जरिवाना र जति पारिश्रमिक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजत पत्रवालाबाट पीडित कामदारलाई भराइदिनु पर्नेछ भनिएको छ । तर, म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कार्य गरेको पाइँदैन ।
यसै विषयलाई लिएर हामीले विभागका निर्देशक अधिकृत लोकनाथ भुसालसँग कुरा गर्दा उहाँले उजुरी परेको तर आफू कार्यालयबाहिर रहेकाले विभागका सूचना अधिकारीसँग सम्पर्क गर्न जवाफ दिनुभयो । विभागका सूचना अधिकृत गुरुदत्त सुवेदीसँग जानकारी माग्दा उहाँले राहत तथा उद्दार शाखामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच