काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
आज विहान प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता भएको हो । उहाँहरुबीच करिब डेढ घण्टा छलफल भएको स्रोतले बताएको छ ।
नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा हुनुहुन्छ । उहाँले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
आफ्नो दल माओवादी केन्द्र, सरकारमा रहेका रास्वपा र एकीकृत समाजवादीसमेतले प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने बताइरहँदा पनि उहाँको पक्षमा ६३ सांसदहरुको मात्रै समर्थन छ ।प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक छ । तर, अहिले उहाँको पक्षमा माओवादीका ३२, एकीकृत समाजवादीका १० र राष्ट्रिय स्वतन्त्र पार्टीका २१ गरी ६३ सांसद मात्रै छन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ । त्यो बेला ठूलो दलको हैसियत नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य अगाडि बढाउन चाहेपनि सभापति शेरबहादुर देउवाले प्रस्ताव अस्वीकार गरेको समाचार बाहिरिएका थिए ।
देउवालाई गरेकाे प्रस्ताव अस्वीकार भएपछि विकल्पहीन देखिनुभएको प्रचण्डले आज कांग्रेस नेता शेखरसँग छलफल गर्नुभएको छ।
कांग्रेस र एमाले मिलेर सरकार बनाएर अघि बढ्ने सहमति भइरहेको बेलामा नेता कोइराला बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अरुबेला कांग्रेस एमाले समीकरण गरेर जानुपर्ने बताउँदै आउनु भएको नेता कोइरालाले शुक्रबार मात्रै एमालेसँग मिल्दैमा अहिले नै खुशी हुनुपर्ने अवस्था नरहेको बताउनु भएको थियो । एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि संविधानको धारा ७६ (३) मा जान सक्ने आशंका व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच