काठमाडौं । नयाँ राजनीतिक समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेपछि नयाँ सरकार गठन प्रक्रियाबारे अन्योल देखिएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने निर्णय गर्नुभएको छ । वर्तमान सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट बाहिरिएको छ । राजनीतिक रूपले अल्पमतमा परिसक्नु भएका प्रधानमन्त्री प्रचण्डलाई सदनमा विश्वासको मत सिद्ध गर्न १३८ सांसद आवश्यक पर्ने भए पनि समर्थनमा अहिले ६३ जना सांसद मात्र रहेका छन् ।
प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भए पनि नयाँ सरकार संविधानको धारा ७६ (२) वा धारा ७६ (३) अनुसार गठन हुने भन्नेमा अन्योल छ । नयाँ सरकार गठनको अन्योलबीच संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन प्रक्रिया पूरा गरे पनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने जिकिर गरेको छ । शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) बमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन हुने बताउनुभयो । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको समेत जानकारी दिँदै लेखकले भन्नुभयो, ‘अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमेजिम हुने भएकाले संवैधानिक रूपमा उपधारा २ बमोजिमकै सरकार गठन गर्न कुनै बाधा छैन । राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुईतिहाइ भन्दा बढी मत जुटेको छ । ‘नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने बैठकको निर्णय रहेको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति भएको छ । आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको छ ।’
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिँदै बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्यसूचीमा समावेश गर्न माग गर्नुभएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ ।’ बैठकले कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तीव्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ ।
प्रधानमन्त्री र कांग्रेस नेता कोइरालाबीच भेट
प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रधानमन्त्री प्रचण्डले कोइरालालाई फोन गरेर भेट्न बोलाउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड र नेता कोइराला बीचको भेटवार्ताबारे जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै जानुभएको हो । करिब १५ मिनेट भेटवार्ता भएको हो ।’ बदलिँदो राजनीतिक परिस्थिति र बहुमत गुमेको पृष्ठभूमिमा राजीनामा नगरी सदनमा विश्वासको मत खोज्ने विकल्प रोज्नुभएका प्रचण्ड र नेपाली कांग्रेसका प्रभावशाली नेता कोइराला बीचको भेटलाई राजनीतिमा महत्वका साथ हेरिएको छ ।
सिधै राजीनामा नगरी सदनमा विश्वासको मत लिने प्रचण्डको कदमलाई उहाँ आफ्नो पराजयपछि संविधानको धारा ७६ (३) अन्तर्गत अर्थात् सबैभन्दा ठूलो दलको नेताको रूपमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनोस् भन्ने चाहना उहाँको रहेको प्रचण्डनिकट स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते सदनमा विश्वासको मत लिने तयारी गर्दै गर्दा कांग्रेसका प्रभावशाली नेतासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको शुक्रबार प्रतिक्रिया दिनुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिइनसकेको अवस्थामा विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्नुभएको थियो । यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै प्रचण्डले कोइरालासँग छलफल गर्नुभएको हो ।
संविधान संशोधन अग्रगमनका लागि हुन्छ : लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताउनुभएको छ । प्रमुख सचेतक लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरू खटाएर दुरुपयोग गरिएको समेत आरोप लगाउनुभयो । मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको र संविधानको समसामयिक संशोधन गर्न जरुरी रहेको जिकिर गर्दै लेखकले भन्नुभयो, ‘अहिले संविधानको समसामयिक संशोधनभन्दा कतिपय कमरेडहरूलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन है । अग्रगमनका लागि गर्ने हो । हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो । थप व्यवस्थित गर्नका लागि हो ।’
एमाले संसदीय दलको बैठक आज
नेकपा एमालेको संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आहृवान गरिएको उहाँको भनाइ छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न बोलाइएको संसदीय दलको बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ । नेपाली कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत लिने निर्णय गरेको सन्दर्भमा संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बर्तौलाको भनाइ छ ।
भावी रणनीति तय गर्दै रास्वपा
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । बैठक आज (आइतबार) बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । रास्वपाका सचेतक निशा डाँगीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा बैठकमा छलफल हुनेछ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ । वर्तमान सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ । एमाले, जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । रास्वपाका तर्फबाट मन्त्री बनेकाहरू पनि राजीनामा पत्र बुझाउन बिहीबार बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको आग्रहपछि रास्वपा सरकारबाट बाहिरिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच