बलान नदीको बाढीकाे कटानले बस्ती नै खतरामा

हिमालय टाइम्स
Read Time = 3 mins

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् ।

“जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान नगरपालिका-२३ बसनपुरका गङ्गाप्रसाद यादवले भन्नुभयो । यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उहाँको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगँैचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्‍यो ।

बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उहाँको भनाइ छ । बाढीले बाँकी रहेको घर जग्गा बगाउने उहाँले चिन्ता व्यक्त गर्नुभयो । सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् ।

लहान नगरपालिका-३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका-३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका-१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका-४ का हरिलाल यदवले जानकारी दिनुभयो । बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ । चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन् । “जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ”, स्थानीय मुशहरु यादवले भन्नुभयो ।

बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । “नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र रु ५० लाखको तारजाली र ढुङ्गा बिछ्याएको छ, तर समस्या उस्तै छ”, उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?