काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उहाँले प्रधानमन्त्रीका रूपमा आफूले सुशासन कायम गर्ने सङ्कल्प गरेको बताउनुभएको हो ।
“मैले सङ्कल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढङ्गको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसङ्कल्प छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गरियो । सरकारले विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व स्थापित गराउने प्रयास गर्यो । जनतालाई सुशासनको अनुभूति गराउने प्रयास भयो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास मेरो नेतृत्वको सरकारले गर्यो । ”
द्वन्द्वतिर नलागौँ
प्रधानमन्त्री दाहालले सहमति विपरीत संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजान आग्रह गर्नुभयो । उहाँले संविधानसभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचारविमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुभयो ।
राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्मा सुरू गर्न सकिन्थ्यो । ”
तदर्थ सरकार सञ्चालन गर्ने कुनै रूचि थिएन, छैन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । “नैतिक प्रश्न उठ्नेगरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन”, प्रधानमन्त्रीले भन्नुभयो, “प्राविधिक तयारीका लागि समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । त्यसैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।”
देश बाढीपहिराको चपेटामा परेकाले सरकार चौबिसै घण्टा उद्धार र राहतका काममा लागिरहेका बेला सरकारलाई प्रभावहीन बनाउन प्रयास भएको उल्लेख गर्दै उहाँले नेकपा (एमाले) ले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नगरिएको स्पष्ट पार्नुभयो ।
विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको बताउँदै उहाँले भन्नुभयो, “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म विल्कुल चिन्तित छैन र थिएन ।”
पछिल्ला घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संसद्को पहिलो र दोस्रो ठूलो दल विश्वासले नजोडिएका टिप्पणी गर्नुभयो । “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरङ्कुशता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदैन । हामीलाई पनि त्यही चिन्ता छ”, उहाँले भन्नुभयो ।
क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताउनुभएको भएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उहाँले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताउनुभयो ।
“ऊर्जा क्षेत्रमा प्राप्त उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो विद्युत्भार कटौतीबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो”, प्रधानमन्त्रीले भन्नुभयो, “अब विद्युत्मा पहुँच नभएको नागरिक बाँकी छैन । विद्युत् ऊर्जाको जडित क्षमता करिब तीन हजार दुई सय मेगावाट पुगेको छ भने केही महिनामैँ करिब पाँच सय मेगावाट थप हुने चरणमा छ । जलविद्युत्मा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको छ ।”
उहाँले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच