इमान, जमान, दृष्टिकोणविहीनले उदाएका रवि, रमेश र स्वर्णिमहरू

Read Time = 19 mins

✍️ भुपेन्द्र थापा (माधव)

राजनीतिक प्रणाली जतिसुकै राम्रो भए तापनि त्यसलाई सञ्चालन गर्ने शासक अक्षम अपारदर्शी र गलत हुँदा मुलुक र जनतामा सधैं विपत्तिमात्र निम्त्याउँछ । प्रणाली, प्रतिनिधि र जनताबीचको अन्तरसम्बन्ध विना कुनै पनि व्यवस्था सहज रूपमा सञ्चालन हुन सक्दैन । असल प्रतिनिधिको आकांक्षा राख्न सचेत जनता चाहिन्छ भने, असल सरकारको आकांक्षा राख्न असल प्रतिनिधिहरूको समूह चाहिन्छ । व्यक्तिगत स्वार्थलाई सदैव केन्द्रमा राखी लाभहानीको जोड घटाउ गरेर राजनीतिक दलका नेताहरूको मूल्यांकन गर्ने समाजको यो विकृत संस्कारका कारण राजनीतिमा असल इमानदार र सक्षम प्रतिनिधि चयनमा तगारो तेर्सिएको छ ।

जबसम्म समाजमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेको जनमतको विकास हुन सक्दैन, तबसम्म जुनसुकै तन्त्र वा वाद नामधारी व्यवस्था आएपनि दलाल र विचौलियाँको हालिमुहाली कायम रहरिहन्छ । समाजभित्र व्यक्तिगत, अनैतिक र अवैधानिक इच्छा आकांक्षा परिपूर्ति गर्ने सामाजिक अगुवामात्र स्थापित हुँदै जाने हो भने मुलुकुको विकास, समृद्धि र सामाजिक परिवर्तन कहिल्यै सम्भव हुने छैन । आजको नेपाली राजनीतिमा आमजनताले कस्तो नेता वा जनप्रतिनिधिको आकांक्षा राखेका छन् ? यस्तो मूल सवालमा परम्परागत रानीतिक दलभित्र र नेतृत्व तहमा कहिल्यै छलफल, वहस भएको पाइँदैन । पद, पैसा र सत्ताको नसामा सर्वांगसमेत हुनपछि नपर्ने ढोंगी, भ्रष्ट, बिचौलिया जस्ता उपनामबाट चिनिने नेता निर्वाचनको पूर्वसन्ध्यामा आएर आफ्नो पक्षमा सामाजिक सञ्जालदेखि गाउँघरका दैलो, चोक, चौतारालगायत विभिन्न सार्वजनिक थलोमा उभिएर कुर्लने, जाली आश्वासन र झुटा धुवाँको पर्दा हालेर समाजभित्र छरिएर रहेका जालीफटाहालाई परिचालन गरी सोझा जनताको अमूल्य मत कब्जामा पार्ने प्रपञ्च रचेर आममतदातालाई प्रभावित पार्ने गर्दछन् ।

बिचौलियाले थापेको धराप जालो तोडेर उम्कने, चेतनासँगै देश र जनताको पक्षमा उभिने स्वाभिमान, इमान, जमान र दृष्टिकोण भएका प्रतिनिधि छनौट गर्न जनता सचेत हुन आवश्यक छ । असल राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनप्रति परिपक्कता लगायत गुणहरूको अपेक्षा गरिन्छ ।

यस्ता बिचौलियाले थापेको धराप जालो तोडेर उम्कने, चेतनासँगै देश र जनताको पक्षमा उभिने स्वाभिमान, इमान, जमान र दृष्टिकोण भएका प्रतिनिधि छनौट गर्न जनता आफैँमा सचेत र सजग हुन आवश्यक छ । असल राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनप्रति परिपक्कता लगायत गुणहरूको अपेक्षा राख्ने गरिन्छ । तर, विडम्बना नेपालको पछिल्लो राजनीतिक परिदृश्य निहाल्ने हो भने अपवादबाहेक सक्षम, असल र इमानदारहरू राजनीतिबाट जहिल्यै गलहत्याइएका छन् । जसले गर्दा समग्र राजनीति बदनाम, दलाल र अनैतिक झुण्डहरूको अड्डा झैं भएको छ । यसले मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको नेतृत्व लिनबाट राजनीति नराम्रोसँग चुक्न पुगको छ । मुलुक झण्डै साढे तीन दशकदेखि मूलतः परम्परागत रानीतिक दल र त्यसका नेताहरूको चरम स्वार्थ र गहन महत्वकांक्षाको बन्धक बन्दै आएको छ । मुलुकले गणतान्त्रिक व्यवस्थालाई अंगीकार गर्दै आएको पनि झण्डै दुई दशकको वरिपरि पुग्न लागिसक्यो । तर आमजनता भने अझै पनि नेताहरूको सत्ता स्वार्थ र भागबण्डाको खिचातानीको कथा सुन्न र मौलउँदो राजनीतिक बेथिति भोग्न बाध्य छन् । राणाशासन अन्त्य भयो जनताको तागतले प्रजातन्त्र स्थापना भयो, त्यसपछि सामन्ती निरंकुश पञ्चायत ढल्यो ।

फेरि प्रजातन्त्रको पुनरबहाली भयो, सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनबाट राजसंस्थाको अन्त्यसँगै लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । पटक-पटकको व्यवस्था परिवर्तनले आमजनताको जीवनमा ठूलै आर्थिक, सामाजिक, राजनीतिकसँगै सामाजिक सुरक्षा, विधिको शासन, दैनिकीमा आमूल परिवर्तन ल्याउँछ भन्ने लागेको थियो । अन्ततः उही दलाल नोकरसाही, पुँजीपति वर्ग, बिचौलिया हुनेखाने वर्गकै हातमा सत्ताको चाबी पुग्यो । जसका कारण आमशोषित, पीडित जनसमुदायमा न त प्र्रजातन्त्रको महसुस भयो, न त लोकतान्त्रिक गणतन्त्रको । समावेशी कसले हत्यायो ? समानुपातिक प्रतिनिधत्व कुन वर्ग र समुदायमा पुग्यो ? विभेद र असमानताको अन्त्य कहाँ भयो ? फेरि पनि जालीफटाहा र नेताका भजनमण्डलीकै बोलवालाले निरन्तरता पायो ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा ठूला ठूला संघर्ष र परिवर्तनको बाबजुद पनि मुलुक निरन्तरता अस्थिरता र अकर्मण्यताको अन्धकार सुरुङमै रुमलिइरहृयो । राजनीतिक पद्धति पटक-पटक फेरिए तापनि सत्ता र शक्तिको टुप्पामा बस्ने शासकहरूको संस्कार, संस्कृति र प्रवृत्ति कहिल्यै बदलिएन । प्रत्येक आन्दोलन र संघर्षको तीतो यथार्थबाट केही थान नेताहरूको वर्ग उत्थान त भयो तर सर्वसाधारण जनताले कुनै पनि व्यवस्था परिवर्तनको वास्तविक अनुभूति र भोग गर्न पाएनन् । नेताहरूलाई आफ्नो लुटको स्वर्ग र सत्ता सिंहासनको भोग कसरी जोगाइराख्ने भन्ने चिन्तामात्र छ ।

आमनागरिकप्रति राजनीतिक नेतृत्व जवाफदेही नभएकै कारण आज परम्परागत राजनीतिक दल र नेतृत्वप्रति घृणाका थुप्राहरू चुलिँदै गएका छन् । वितृष्णाका शृंखलाहरू तीव्ररूपमा बढ्दै गएका छन् । आक्रोशको ज्वालामुखी भित्र-भित्रै दन्किएको छ । जुन ज्वालामुखीलाई निभाउन र जनतालाई नयाँ राजनीतिक विकाससहित नयाँ शक्ति निर्माण गरी पुराना राजनीतिक पार्टी र नेतृत्वले गरेका कुकर्मको दण्ड दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, उज्जल थापाको नेतृत्वमा विवेकशील नेपाली पार्टी र पूर्वपत्रकार रविन्द्र मिश्रको नेतृत्वमा साझा पार्टीहरू नेपाली राजनीतिक रंगमञ्चमा उदय केही समयपछि विस्तारै विस्तारै एकताको सूत्रमा पनि बाँधिए ।

तर, अन्ततः त्यसले स्थायित्व ग्रहण गर्न सकेन र स्पष्ट विचार, सिद्धान्त, दर्शन र नीति तथा कार्यक्रमविना निर्माण भएको त्यस्तो राजनीतिक दलले राजनीतिक परिवर्तनको म्याराथनमा भाग लिँदा व्यहोर्नुपर्ने परिणाम अन्त्यमा हारमात्रै हो जसले पतनको यात्रा तय गर्दछ । जसका कारण नयाँ शक्तिहरूको अकर्मन्यता र दिशाहीनताका कारण आज ती पर्टीहरू आ-आफ्ना स्वार्थ मिल्ने राजनीतिक पार्टीमा ओत लाग्न पुगेका छन् । यहीबीचमा नेपालमा केही वर्ष वैकल्पिक राजनीतिक नयाँ शक्ति उदाउन सक्दैन भन्ने निष्कर्ष विभिन्न बौद्धिक, बुद्धिजीवी राजनीतिक विश्लेषक समाजशास्त्रीहरूले बहसहरूमा प्रष्ट्याउने गर्दथे ।

तर, गत स्थानीय निर्वाचनबाट मरेका आशाहरू पुनः जाग्रित हुनथाले, देशभरि जनतामा जागेको नयाँ रक्तसञ्चारले स्थानीय निर्वाचनअघि नाम नै नसुनेका देशकै केन्द्रीय राजधानी काठमाडौं महानगरपालिकाबाट भारी जनमतमार्फत बालेन साह र धरान उपमहानगरपालिकाबाट पनि त्यस्तै भारी मतको अन्तरले हर्क साम्पाङ मेयरमा निर्वाचित भए । पुराना राजनीतिक दल र त्यसको नेतृत्वको अक्षमता, अकर्मन्यता र दिशाहीनताले निम्त्याएको आबेग र चरम आक्रोशको गर्भबाट जन्मेका यी दुई युवाप्रतिनिधिहरूको उदयसँगै नेपाली राजनीतिक वृतमा नयाँ तरंग पैदा भयो ।

जसका कारण नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता, अपरिहार्यता र सम्भावना छ भन्ने पुष्टि विस्तारै–विस्तारै हुँदै गयो । त्यसको पछिल्लो उदाहरण नेपाली राजनीतिमा पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा आमनिर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी नामक कान्छो राजनीतिक दलको उदय भयो । निर्वाचनको मितिभन्दा १४१ दिनअघि मात्र रवि लामिछानेको अध्यक्षतामा १९ सदस्य केन्द्रीय समितिबाट गठन भएको दलले जनतासँग भेटघाट कार्यक्रमसहित देशका विभिन्न स्थानमा आमसभामार्पmत परम्परागत राजनीतिक दलमा मौलाएको बेथिति र नेतृत्वको चरम स्वार्थविरुद्ध इमान र नैतिकतालाई शुद्धीकरण गरेर जनविश्वास जगाउने र नागरिक माझ समाजको कल्याण, इमानदारी र नैतिकताविना सम्भव हुँदैन ।

तसर्थ राजनीतिमा क्षयीकरण हुँदै गएको नैतिकता र इमानदारी पुनः स्थापित नगरेसम्म समाजमा देखिएका तमाम विकृति विसंगति र बेथितिको समाधान नहुने र त्यसको अन्त्य आफू र आफ्नो पार्टीले मात्र गर्ने, समावेशी, सुशासन र समृद्धिको पैरवी आफ्नो दललेबाहेक अरूबाट सम्भव नभएको जनविश्वास जगाउन पार्टीका सम्पूर्ण नेताहरू लागिपरे । परिणाम स्वरूप गत आमनिर्वाचनमा नेपालको कान्छो राजनीतिक दलले राष्ट्रिय अन्तर्राष्ट्रिय छवि बनाइसकेका मुलुकको कार्यकारी पद र ५०औं वर्ष राजनीतिमा होमिएकाको नेतृत्वमा रहेका पाटीहरूलाई समेत पछाडि धकेल्दै ६ महिने शिशु पार्टीले संसद्मा चौथो शक्तिको रूपमा आफ्नो पार्टीलाई स्थापित गर्‍यो र सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रालायको नेतृत्व गरी थप तीन मन्त्रालयसमेत हात पार्‍यो तर विडम्बना रास्वपाका सभापति रविको नागरिकता विवाद प्रकरणका कारण छोटो समयमा सत्ताबाट बर्हिगमन र सांसद पदसमेत खारेज हुनपुग्यो ।

गत मंसिर ४ गते भएको निर्वाचनबाट नेपालको संविधान र व्यवस्थाले अंगिकार गरेको राष्ट्रपति र उपराष्ट्रपति मुलुकले पाइसक्यो । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका पूर्ववरिष्ट नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं.२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै चितवन क्षेत्र नं.२, बारा, क्षेत्र नं.२ र तनहुँ क्षेत्र नं.१ मा उपनिर्वाचन आउँदो वैशाख १० गते हुँदैछ । जसका लागि रास्वपाको तर्फबाट चितवन-२ मा रास्वपाका सभापतिले पुनः उम्मेदवारी दिएका छन् ।

गत आमनिर्वाचनमा नेपालको कान्छो राजनीतिक दलले राष्ट्रिय अन्तर्राष्ट्रिय छवि बनाइसकेका मुलुकको कार्यकारी पद र ५०औं वर्ष राजनीतिमा होमिएकाको नेतृत्वमा रहेका पार्टीहरूलाई समेत पछाडि धकेल्दै ६ महिने शिशु पार्टीले संसद्मा चौथो शक्तिको रूपमा आफ्नो पार्टीलाई स्थापित गर्‍यो ।

बारा क्षेत्र नंं-२ मा पूर्वडिआईजी एवं नेपाल सुशासन पार्टीबाट गत आमचुनावमा काठमााडौं १ बाट पराजित भएका रमेश खरेल र विगत लगभग ५० वर्षदेखि नेपाली कांग्रेससँग पारिवारिक विरासत गाँसिएका नेपालकै सबैभन्दा पुरानो जेठो लोकतान्त्रिक पार्टीसँग राजनीतिक सम्बन्ध र एकाएक त्यागेर नेपालकै कान्छो पार्र्र्टी रास्वपासँग वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण र नयाँ सार्वजनिक भूमिकामा सक्रियातापूर्वक लाग्ने घोषणासहित तनहुँ क्षेत्र नं.१ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका अर्थविद् स्वर्णिम वाग्लेसहित वैकल्पिक राजनीतिका उदाउँदा तीन तारा रास्वपाको उपनिर्वाचनका लागि चुनावी मोर्चामा होमिएका छन् ।

आउँदो वैशाख १० को उपनिर्वाचनमा भारी मतका साथ रवि, रमेश र स्वर्णिम रास्वपाको तर्फबाट संसदमा प्रवेश गरी विकास समृद्धि र सुशासन मूलकलाई दिलाउने साथै समाजमा बढेको राजनीतिक वितृष्णालाई निरुत्साहित गर्न सफल नेतृत्वदायी भूमिका खेल्न सकून्, पार्टी र मुलुकको शासन व्यवस्थाको सक्षम चालक दल बनेर विकास, समृद्धि र परिवर्तनकारी युगमा मुलुकलाई प्रवेश गराई जनजीविका र मुलुकको अर्थतन्त्रमा देखापरेको चरम संकटलाई सही दिशातर्फ डोहोर्‍याउँदै आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक तथा समाजको बृहत् परिवर्तन एवं समाजमा हुर्कँदै गएको बेथिति, मौलाउँदै गएको भ्रष्टाचार, आकाशिँदै गएको महँगी र बेरोजगारी खस्किँदै गएको सुशासन, झांगिँदै गएको हत्या, हिंसा, अराजकता, सामाजिक असुरक्षा, राजनीतिप्रति पलाएका घृणा र संकटउन्मुख अर्थतन्त्रसँगै बढ्दै गरेका नयाँ पुस्ताको भविष्यलाई केन्द्रीय भागमा राखी समाज र मुलुकलाई नयाँ युगमा अग्रगतितर्फ लैजाने स्वर्णिम योजना र दृष्टिकोण निर्माण हुन सकोस् ।

कुनै पनि रूपान्तरणको प्रक्रिया स्वतस्फुर्त हुँदैन । त्यसलाई गति दिनुपर्दछ र त्यो गतिको लक्ष सामाजिक चेतना राजनीतिक आर्थिक परिवर्तनप्रति लक्षित भएको हुनुपर्दछ । सुशासन र लोकतन्त्र संवद्र्धनमा योगदान गर्ने, सम्झन लायक महात्मा गान्धीको एउटा भनाइ छ ‘गलत बाटोबाट सही लक्ष्यमा पुग्न सकिँदैन, लक्षमा पुग्नका लागि बाटो पनि सही पहिल्याउनुपर्दछ’ तबमात्र लक्षमा पुगिन्छ रमेश र स्वर्णिम जस्ता नेपाली समाजमा देश र जनताप्रति इमानदारीका साथ सेवा गर्ने हुटहुटी भएका लाखौं प्रतिभाहरूलाई समेट्न सकेमात्र रास्वपाले देखेको सपना र कोरेको ब्लुप्रिन्ट नक्सामा विकास र समृद्धिका पिल्लरहरू उठ्नेछन् । अन्तमा रास्वपाको तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवारी दिएका रवि, रमेश र स्वर्णिमहरूलाई स्वर्णिम विजयको अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?