‘बैंकले पुरुषको हस्ताक्षर खोज्दा कर्जाबाट वञ्चित महिला’

Read Time = 4 mins

काठमाडौं । तारामण्डल महिला सशक्तीकरण अभियानले महिला सुरक्षा, अधिकार, उद्यमशीलताका साथै सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । द्वन्द्वमा यौन हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अभियानले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले उद्यम व्यवसाय गर्न बैंकबाट कर्जा लिनुपर्दा श्रीमान्को हस्ताक्षरसमेत आवश्यक हुँदा महिलाहरू व्यवसायबाट वञ्चित हुनुपरिरहेको गुनासो गर्नुभयो । १५ करोडको व्यवसाय सञ्चालन गर्दै आउनुभएकी एक महिला उद्यमीले बैंकबाट एक करोड कर्जा लिन खोज्दा श्रीमान्को हस्ताक्षर नभएका कारण कर्जाबाट वञ्चित हुनुपरेको तथ्यसमेत प्रस्तुत गर्नुभयो ।

महिला स्वरोजगारमा जोड दिँदै पोखरेलले भन्नुभयो, ‘महिलालाई उद्यमशीलताको बाटोमा ल्याउनुपर्छ । व्यवसायले नै जीवनस्तर उकास्न मद्दत गर्छ भन्ने ज्ञान हरेक महिलामा हुनु आवश्यक छ ।’ आफ्नो संस्थाले देशभरका ४० बढी जिल्लामा पुगेर महिलालाई स्वरोजगार बनाउने कार्य गरेको उहाँले दाबीसमेत गर्नुभयो । नेपालमा सशस्त्र द्वन्द्व सकिएको १६ वर्ष पुगिसके पनि पीडामा परेका, हिंसामा परेका महिलाले हालसम्म पनि न्याय पाउन नसकेको भन्दै पोखरेलले पीडितको न्यायका लागि सक्रिय संयन्त्र स्थापनाको मागसमेत गर्नुभयो । विगतको ५७ महिनामा १० हजार एक सय ३१ बलात्कारका घटना भएको उल्लेख गर्दै महिलाले बाटोमा हिँड्दा सुरक्षित अनुभूति गर्न नसक्नु दुखद रहेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा कार्यक्रमकी प्रमुख अतिथि कमला ओलीले महिलालाई आफ्नो हक र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपस्थित करिब दुई सय महिलालाई आफ्नो हक हित र अधिकारका लागि आफैं लड्न र सूचनाको हकमा पछि नपर्न उहाँले सचेत गराउनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुमखेवाले शिक्षाभन्दा पनि आत्मनिर्भरताले महिला हिंसा न्यूनीकरण हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई लाग्छ, शिक्षाले हिंसाको अन्त्य गर्छ तर शिक्षाले मात्रै पनि महिला हिंसा अन्त्य गर्छ भनेर भन्न सकिने अवस्था छैन ।

त्यस्तो हुँदो हो त शिक्षित र विकसित देशमा महिला हिंसाको घटना नहुनुपर्ने हो । त्यसैले महिला स्वरोजगार हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ ।’
कार्यक्रममा काठमाडौं महानगरपालिका–९ की जनप्रतिनिधि सिर्जना भेटवाल, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जीला अनिल (शर्मा), राप्रपाका केन्द्रीय सदस्य सिर्जना रानी बर्मा, सरस्वती लामा, नानु नगरकोटी लामा, स्वाती थापा र मधेसी आयोगकी प्रतिनिधि रेणुदेवी साहलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?