महिला न्यायाधीशहरुले सम्पादन गरेका मुद्दा विवादरहित छन् : मन्त्री गिरी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ ।

शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको भन्दै उहाँले न्याय सम्पादन सधैँ सही नहुने बताउनु भयो । उहाँले महिला न्यायाधीशहरुले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताउनु भयो ।

उहाँले कानूनको अध्ययन गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको बताउनु भयो । उहाँले अध्ययन समयदेखि नै महिलाहरुलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको भन्दै खुशी प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले कहीँ त्यसमा कमीहरु आउन सक्छन् । त्यसलाई सच्याइएको पनि हामीलाई थाहा छ । तर तुलनात्मक रुपले हेर्ने हो भने महिला श्रीमानहरुले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित, साँच्चै न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट देख्न सक्छौँ । यो हामी सबैको गौरवको विषय हो । हामीले राज्यको सिंगै पुनःसंरचना गर्‍यौँ । नयाँ संविधान जारी गरेका छाैँ । राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्वको कुरा गर्‍यौँ । सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको कुराहरु हामीले गरेका छाैँ । अहिले पनि न्यायको क्षेत्रमा हामीले जसरी न्यायाधीशहरुको नेतृत्व प्रदान गर्नुपर्ने हो त्यसमा अझै धेरै कमजोरीहरु रहेका छन् । यो यथार्थ हो । आजको दिनमा पनि १०.५ प्रतिशत मात्रै भनेर हामीले आँकडा मैले सुनेँ । यो अत्यन्त कम हो । यसो भन्दैमा हामीले यसको कलेजमा कानून पढ्ने विद्यार्थीदेखि नै महिलालाई यो क्षेत्रमा आकर्षित गर्न सकिएन भने सर्वोच्च अदालतमा एकैपटक धेरै न्यायाधीश हामीले खोजेर पाउँदैनौँ । तर पछिलो समयमा एउटा खुशीको कुरा के छ भने कलेजहरुमा पनि उल्लेख्य मात्रामा महिला कानूनका विद्यार्थी पाउँछौँ ।’

मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरुलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरु निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो । उहाँले महिला न्यायाधीशहरुको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?