नमागिएको सल्लाह :
अकस्मात् नेपालगञ्ज जानुपर्ने परिस्थितिले यस पटक कर्णालीको यात्रा जुरायो । खासै योजना थिएन, कथंकदाचित कर्णाली क्षेत्रजाने हवाई टिकट पाइयो भने जानुपर्ला भन्ने सोचले एउटा सामान्य ज्याकेटसम्म बन्दोबस्तीका सामानमा परेको थियो । यस आलेखमा कर्णाली यात्रा भन्नाले पुरानो कर्णाली अञ्चलका जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटतर्फ लक्षित गरिएको छ । जहाँ वास्तविक कर्णालीको पहिचान भेटाउन सकिन्छ । नेपालगञ्ज, कर्णाली प्रदेश होइन तर कर्णाली प्रदेशको प्रवेशद्वार पक्कै हो । छ, सात वर्षको अन्तरालमा नेपालगञ्ज गएको कारण यो अन्तरालमा भएको परिवर्तन हेर्ने इच्छा थियो, संघीयताले ल्याएको नयाँपन र नयाँ सोच हेर्ने बुझ्ने इच्छा थियो ।
शहरका चौडा सडक र तुलनात्मक रूपमा सुध्रिएको सरसफाइको अवस्थाले परिवर्तनको संकेत त गरिसकेको थियो । त्यस्तो संकेतबाट उत्साहित बन्दै २०८१ वैशाख ९ गते राँझास्थित नेपालगञ्ज विमानस्थलमा अवतरण गरेका हामीलाई धम्बोजीस्थित होटल ग्यालेक्सी दरबारसम्म पुर्याउने सागिर भाइसँग नेपालगञ्ज शहरका मुख्य स्थान देखाउने गरी सम्झौता गरियो । सीमावर्ती क्षेत्रमा भएको परिवर्तन हेर्ने लालसाले नेपाल-भारत सिमानाको जमुनाहा नाका हेर्ने हाम्रो चाहना बमोजिम अटोबाट उत्रेर केही पाइला हिँडेर पत्नी रञ्जु र म भारतीय भूमिसम्म पुग्दा अन्तर्राष्ट्रिय सिमाना संकेत गर्ने किसिमको विकास गतिविधि भइरहेको हेरेर फर्कने क्रममा देखिएको एकीकृत भन्सार जाँचचौकीका नवनिर्मित संरचनाहरूले भने केही नयाँपन थपिएको महसुस भएको थियो ।
माइक्रोको यात्रा सुरुमा त सहज नै थियो, जति उत्तर दिशा समात्यो उति असहज बन्दै गयो । गाडीमा सिटको केही अर्थ थिएन, यात्रु पाएसम्म नछोड्ने, भित्रबाहिर गर्नुपर्ने खालि स्थानमा समेत पिर्का ओछ्याएर यात्रु राख्ने माइक्रो कर्मचारीको प्रबन्ध गलत व्यवस्थापनको नमुना थियो ।
नेपाल-भारतबीच सम्झौता भएको १८ वर्षपछि सम्पन्न भन्सार चौकीमा आयाततर्फ दुई सय र निर्याततर्फ ७५ वटा ट्रकका लागि पार्किङ क्षेत्र रहेको, भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुरक्षा, अपरेटर कम्पनी, बैंकहरूका लागि संरचना बनाइएकाले यो एउटा नयाँ बस्ती नै जस्तो देखिन्थ्यो । यो आइसिपी २०० करोड भारुको लागतमा भारत सरकारले बनाइदिएको रहेछ । हामीले नेपालगञ्ज गएपछि हेर्नुपर्ने स्थान भनेर जाने बुझेको बागेश्वरी मन्दिर र त्यही परिसरमा विराजमान हुनुभएका जुँगे महादेव हो । त्यसबाहेक बाटामा पर्ने केही स्थान छन् कि भनेर चालक भाइलाई भन्दा उनले कल्पनै नगरेको रमाइलो स्थानमा लगे, त्यो थियो मेरो प्लानेट, यो एउटा इन्टिग्रेटेड रिसोर्ट रहेछ जहाँ पानीका अनेक किसिमका मनोरञ्जन साधन निर्माण गरिएको छ ।
हेर्दा नेपालगञ्जको गर्मी भुलाउने यो स्थान पुग्दा मन फुरुंग नहुने त कुरै भएन । पौडी खेल्नका लागि चाहिने पोशाक झोलामा भए तापनि नबोकेकोमा भने पछुतो भयो । खाना खाने स्तरीय रेस्टुरेन्टसमेतको विज्ञापन देखेर पनि भोको पेटलाई राहत भएको थियो । यद्यपि, त्यस दिन कुनै भव्य पार्टी आयोजनाको प्रबन्ध भइरहेकाले रेस्टुराँ बन्द गरेर भोजनको तयारीमा जुटेका कारण हाम्रो भोजनको चाहना भने पूरा एन । हाम्रो प्लानेट सिंगापुरको सम्झना दिलाउने गरी डिजाइन गरिएकाले पूर्ण तयारीका साथ सञ्चालन भएमा पर्यटकलाई सिंगापुर पुगेको हो कि भन्ने अनुभूति दिलाउन सक्ने पाइयो ।
विभिन्न तरिकाले सजाइएका पानीका फोहोरा, त्यसका कारण निस्कने जलकणको सेचनले मनलाई आल्हादित बनाइरहेको थियो । सम्भव भएसम्मका जलक्रीडाका अनुभव सँगालेका त्यस्ता अनुभवलाई मोबाइलको क्यामेरामा कैद गरेर हामी बागेश्वरी मन्दिर पुग्दा ढोका बन्द भएको अवस्था भएकाले नेपालगञ्जका सदर बजार, घरबारी टोल, न्यूरोडको अवलोकन गर्दै हाम्रो यात्रालाई सहज बनाउने चालक सागिर भाइलाई भोलि भेट्ने सल्लाहका साथ नेपालगञ्जको दुई दिने आश्रमको शरणमा आइपुगियो । गर्मी मौसम, बाहिर खानाका लागि निस्कन पनि कहाँ सहज छ र ? कहाँ कस्तो खाना पाइन्छ ज्ञानको कमीले पनि बसेकै होटल ग्यालेक्सी दरबारको रेष्टुराँमा खानाखाने विचारले लिफ्टबाट पाँचौं तलामा पुग्दा शहरका किसिम किसिमका भवनहरूको रमणीयताले केही क्षणको प्रतीक्षालाई सहज बनाएको थियो ।
सेवा प्रदायक भाइहरू रसिला र रमाइला थिए । उनीहरू नेपालगञ्जका भए पनि पश्चिमी सभ्यताबाट प्रभावित थिए । हामी गाएको समयमा अंग्रेजी गीत बजिरहेको थियो । हाम्रा लागि त्यो गीत अर्थ न बर्थ गोविन्द गाईजस्तो थियो । नेपाली गीत लाउन अनुरोध गरियो र प्रात भ्रमण नगरेको क्षतिको पूरणस्वरूप एकछिन् नाचेजस्तो गरियो । कामदार भाइहरू कति आधुनिक थिए भने खानामा नुन कम गर्नु भन्यो भने य ..साल्ट, पिरो कम गर्नु भन्यो भने य...चिल्ली भन्थे । त्यो उनीहरूको मात्र दोष होइन, त्यो दोष वर्तमान नेपाली समाजको हो । जुन समाजले योगलाई योगा भनेपछि ग्रहण गर्दछ, स्तूपलाई स्तूपा भनेपछि दर्शनीय ठान्दछ । मण्डललाई मण्डला र चैत्यलाई चैत्या भन्नुमा आधुनिकताको अनुभव गर्दछ ।
वैशाख १० गते बिहान बागेश्वरी मन्दिर जाँदा जुँगे महादेव अलप । जुँगै महादेवलाई नयाँ स्वरूप दिन मर्मतसम्भार गर्ने प्रयोजनका लागि गुप्तवासमा राखिएको रहेछ । त्यहाँ जुँगा भएका जंगी महादेवलाई देख्न नपाउँदा मनमा नरमाइलो जस्तो अनुभव भए तापनि बागेश्वरी देवीको दर्शन गर्नु हाम्रा लागि सौभाग्य थियो । बागेश्वरी मन्दिरको दर्शन गर्नाले मनका कामनाहरू पूरा हुने विश्वास रहेको छ । श्रुति परम्परा अनुसार नेपालगञ्ज घरबारी टोलमा बस्ने किशोरी कन्या पद्मकुमारी देवी सिंह मन उदास भएको दिन बागेश्वरी मन्दिरमा पुगिन्, पण्डित, पुरोहित, भक्तजन कोही नभएको शान्त समयमा देवीको ध्यानमा बसेको बखत च्यातिएको लुगा लगाएको, हेर्दै माग्नेजस्तो एकजना बालक आएर ‘ल’ भनेर मुठी बाँधेर केही दिएको जस्तो गरेको तर हात खोलेर हेर्दा केही नपाएको घटना घटेको थियो । त्यसो भन्ने बालक पनि अलप भइसकेका थिए । यो घटना केही सेकेण्डबीचमा नै भएको थियो ।
त्यसको भोलिपल्ट पद्मकुमारीका पिता ठाकुर आनन्द स्वरूप सिंहलाई छोरीको विवाह लम्जुङ र कास्कीका महाराज र प्रधानमन्त्री भीम शमसेरका नाति मेजर जनरल महावीर शमशेर जबरासँग गर्ने प्रस्ताव आयो । यो घटना आगोसरी फैलियो र बागेश्वरी देवीको प्रख्याति बढ्दै गयो । जुँगे महादेवको निर्माण भने भीम शमसेरका छोरा कर्नेल प्रकाश शमशेर जंगबहादुर राणाले गराएका थिए । नयाँ खुलेको भाटभटेनी सुपर मार्केट, सानो चिडयिा घरको अवलोकन र नेपालगञ्जको रावरीको स्वाद लिँदै नेपालगञ्जको बसाइलाई विश्राम दिएर माइक्रो पार्कमा गएर माइक्रोबाट सुर्खेत यात्रा तय गर्ने निर्णय गरियो । नेपाल वायु सेवा निगममा गएर बुझ्दा पुरानो कर्णाली अञ्चलका कुनै पनि जिल्लाको हवाई टिकट पाउँन सम्भव नभएकाले कर्णाली यात्राका लागि यो नै सहज यात्रा थियो ।
माइक्रोको यात्रा सुरुमा त सहज नै थियो, जति उत्तर दिशा समात्यो उति असहज बन्दै गयो । गाडीमा सिटको केही अर्थ थिएन, यात्रु पाएसम्म नछोड्ने, भित्रबाहिर गर्नुपर्ने खालि स्थानमा समेत पिर्का ओछ्याएर काठमाडौंका लागि ममचा बन्न हिँडेका भैंसी र राँगाको जस्तो हलचल गर्न नपाउँने गरी यात्रु राख्ने माइक्रो कर्मचारीको प्रबन्ध गलत व्यवस्थापनको नमुना थियो । करिब चार घण्टाको यात्रामा कुनै यात्रुलाई शौचालय जानुपर्ने अवस्था नबन्नु पनि अनौठो घटना थियो । सबैजसो कालोपत्रे सडक, जंगलको विविधता नियाल्दै गरिएको यात्रा, बाटोमा पर्ने बबई सिँचाई योजनाका संरचनाहरू हेर्दै छिन्चु पुगेपछि भने गन्तव्य नजिक आएजस्तो महसुस भयो । छिन्चुमा केही यात्रु झरेका कारण माइक्रोको बसाइ अपेक्षाकृत सहज भएको थियो ।
नयाँस्थान भएको, थोरै खर्चमा धेरै स्थान हेर्ने चाहना भएको र भ्रमणलाई निरन्तरता दिन सार्वजनिक सवारीसाधन व्यवस्थापन गर्न सहज हुने भएकाले बसपार्क क्षेत्रको हाम्रो न्यूनतम आवश्यकता पूरा भएको होटलमा बास बस्ने निर्णय गरियो । बिहान चार बजे उठ्ने बानी भएको कारण बिहानको समयको उपयोग अधिक रूपमा हुने नै भयो । वैशाख ११ गते बिहानै एउटा अटो रिजर्भ गरेर देउती बज्यैको दर्शन गर्न लाटीकोइली क्षेत्रमा पुग्दा सो दिन मंगलबार भएका कारण सँगै रहेको गणेश मन्दिरमा दर्शनार्थीको लामै लाइन भए तापनि लाइनमा बसेर दर्शन गरेर देउती बज्यैको दर्शन गर्न खासै समय लागेन ।
देउती बज्यैको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । प्रायः सबै मन्दिरका बारेमा यस्तो भन्ने गरिन्छ । देउती बज्यै मन्दिरमा पहिले राजी समुदायका मानिसले मात्र पूजाआजा र दर्शन गर्ने व्यवस्था थियो । पछि गएर सबै जातजाति र वर्गका लागि दर्शन गर्न खुला गरियो । पूजारी राजी समुदायका व्यक्ति हुन्छन्, यहाँ पुजारी हुन लैंगिक भेदभाव छैन । हामीले दर्शन गर्दा पनि महिला पूजारीबाट प्रसाद ग्रहण गर्ने अवसर जुरेको थियो ।
‘सुर्खेत बुलबुल ताल माया, मै सानो हुँदैमा छुट्यो मायाजाल’ भन्ने गीत धेरै पहिल्यैदेखि सुनेका हामीहरूका लागि प्रख्याति अनुसारको व्यवस्थापन हुन नसकेको देखेर दिक्क अनुभव भयो । यद्यपि, तालको सरसफाइको काम भने भई नै रहेको थियो । सम्पदाहरूलाई यस्तो बनाइनुपर्दछ-पुगेपछि निस्कनै मन नलाग्ने र एक पटक गएपछि फेरि जाऊँ-जाऊँ लाग्ने ।
श्रुति परम्परा अनुसार राजी समुदायकी महिला भेरी नदीमा माछा मार्दैगर्दा माछामार्ने जालमा एक कन्या देखियो, बुझ्दै जाँदा ती ब्राहृमण कन्याले बोक्सीको आरोप सहन नसकेर आत्महत्या गरेकी थिइन् । जब कि, ती कन्याको कुनै गल्ती थिएन । राजी समुदायमा निर्दोष र असल स्वभावकी ब्राहृमण कन्याले यस्तो अन्याय सहनु परेकोमा सहानुभूति पैदा भयो । सहानुभूति आदरमा परिणत भयो, राजी समुदायले उनको प्रतीक स्थापना गरेर देउताको रूपमा पूजा गर्न प्रारम्भ गरे । पहिले राजी समुदायमा मात्र सीमित भएको देउती बज्यैको प्रख्याति आज सबै समुदायमा पुगेको छ । देश विदेशमा रहेका नेपालीबीच देउती बज्यैको देवत्वकरण भएको छ ।
सुर्खेतको अर्को दर्शनीय स्थान हो- काँक्रे विहार । साबिकको लाटीकोइली गाविसस्थित यस स्थानमा बौद्ध धर्मसँग सम्बन्धित भवन तथा विहारका भग्नावशेष रहेका छन् । काँक्रे विहार त्यसमध्ये प्रमुख हो । जीर्ण अवस्थामा रहेको विहारलाई मर्मतसंभार गरेर केही राम्रो बनाइएको छ । तर, जे जसरी संरक्षण र सम्भार गर्नुपथ्र्यो त्यस्तो काम भएको देखिँदैन । सामान्य दैनिक रूपमा गरिनुपर्ने सरसफाइको पनि कमी देखियो । यस्तो महत्वपूर्ण क्षेत्रलाई ‘माल पाएर चाल नपाएको’ जस्तो गरी उपेक्षा गरिएकोमा मन दुखित भयो । शिखर शैलीको यो मन्दिर १३औं शताब्दीमा बनेको हो र यो १८० हेक्टरमा फैलिएको छ ।
काँक्रे विहार परिसरमा सूर्यमणि अधिकारी लिखित ‘खस साम्राज्यको इतिहास’ र विश्व केसीको ‘कीर्ति खम्ब’लाई स्रोत देखाएर लेखिएको विवरण यस्तो रहेको छ-काँक्रे विहार सिञ्जा (जुम्ला इलाका) साम्राज्यवादी राजा अशोक चल्लले विसं १३२५ तिर बनाएका हुन् । उनको शासनकाल १३१८ देखि १३३५ सम्म थियो । राजा अशोक चल्ल राजा क्राचल्लका छोरा थिए भने राजा अशोक चल्लका छोरा जितारी चल्लले आफू राजा भएपछि आफ्नो नामको पछाडि मल्ल लेख्न सुरु गरे र यो वंश चल्लबाट मल्लमा परिणत भएको थियो । राजा अशोक चल्ल महायानी बौद्ध धर्म मान्दथे भने अरू धर्मलाई पनि त्यत्तिकै आदर गर्दथे । उनको राज्य पश्चिममा गढवाल, लद्दाख र सतलज नदीसम्म, पूर्वमा त्रिशूली नदीसम्म, उत्तरमा तिब्बतको खारी प्रदेश र दक्षिणमा हालको तराई भागसम्म फैलिएको थियो । हाल भारतको बोधगयामा प्राप्त शिलालेख अनुसार उनको आफ्नो राजनीतिक प्रभाव बोधगयासम्म थियो । पछि १८९९ को भूकम्पमा यो विहार भत्केको बुझिन्छ ।
‘सुर्खेत बुलबुल ताल माया, मै सानो हुँदैमा छुट्यो मायाजाल’ भन्ने गीत धेरै पहिल्यैदेखि सुनेका हामीहरूका लागि प्रख्याति अनुसारको व्यवस्थापन हुन नसकेको देखेर दिक्क अनुभव भयो । यद्यपि, तालको सरसफाइको काम भने भई नै रहेको थियो । सम्पदाहरूलाई यस्तो बनाइनु पर्दछ- पुगेपछि निस्कनै मन नलाग्ने र एक पटक गएपछि फेरि जाऊँ जाऊँ लाग्ने । बुलबुले ताल क्षेत्रले पर्यटकहरूमा यस्तो प्रभाव छोड्न धेरै मिहिनेत गर्नुपर्ने अवस्था रहेको छ ।
शहीद पार्कलाई पनि सुर्खेतले नौलो प्रस्तुतिको रूपमा पर्यटकहरू माझ पस्कन लागेको छ । सुन्दरी कन्याको हातमा रहेको करुवाबाट निस्कने पानीका धाराले मनलाई नै आनन्दित बनाउँछ । यहाँ पनि समस्या स्याहारसंभारकै छ-सुन्दरीको प्रतिमाको नाकमा कालो लागिसकेको छ, लुगा मैला भइसकेका छन् । शरीर मैलो र्भसकेको छ, या नानीलाई चिटिक्क कसले बनाइदिने, बाघहरू स्यालजस्ता देखिन थालिसके हेरचाह गर्ने कसले गर्ने ? बीस रुपैयाँ प्रवेश शुल्क लिएर पुगेन भने बढाउनु पर्यो तर समुचित मर्मतसम्भार गर्नुपर्यो भन्न मन लाग्यो ।
यसैगरी घण्टाघरले पनि बगैँचासहित नयाँ रूप लिन लागेको छ । धमाधम निर्माण कार्य भइरहेको छ । यही चिटिक्क परेको घण्टाघरसँग बिदा माग्दै घण्टाघर चोकबाट उकालो दैलेख जाने गुराँसेको बाटो हुँदै वास्तविक कर्णालीको यात्रा सुरु गरियो । नामै गुराँसे, गुराँसको जंगल, चिसो चिसो हावा हुँदै हाम्रो हलचल गर्न नमिल्ने गरी यात्रु राखेको सवारी साधन स्कोर्पियो कर्णालीका दुर्गम जिल्ला गन्तव्य बनाएर सुइँकुच्चा ठोकिरहेको छ सरररर....। क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच