
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्कभित्र भानुभक्तको सालिकमा माल्याअर्पण तथा कविता बाचन कार्यक्रमगरी भव्यताको साथ मनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष उत्तम केसीको सभापतित्व र साहित्यकार/कवि श्रीहरि फुयाँलको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार भोजराज न्यौपाने, बासुदेव ठकुरी, भीष्मराज ढुंगेल, बालकृष्ण सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवी, दिलकुमारी डंगोल र बाल प्रतिभा प्रतिष्ठि भण्डारी, अभिमा घिमिरेलगायतले भानुभक्तसम्बन्धी आ-आफ्ना रचना बाचन गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि श्रीहरिले आदिकवी भानुभक्तको महिमासहित जीवन गाथा वर्णन गर्नुभएको थियो भने बलराम फुयाँलले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गर्नुभएको थियो । धुव्र्रराज खड्काले कला साहित्य गीतसंगीत एकअर्काको पूरक रहेको भन्दै आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष केसीले भानुक्त रामायणको पंक्तिहरू वाचनगर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । केसीले कवि श्रीहरि फुयालले हालै एक लाख धनराशीको महाकवी देवकोटा साहित्य पुरस्कार प्राप्त गर्नुभएकोमा बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा चलचित्र निर्देशक अमर वली, कलाकार विकासकुमार दास, अञ्जनी केसी, दिप्तप्रकाश अधिकारी, नरेश वली, केशव सिटौला, हरिहर सिलवाल, समाजसेवी इन्द्रनारायण मानन्धर, बाइसधारा पार्कका कार्यालय प्रमुख निरञ्जन बस्नेत, सामाजिक अभियन्ता जेवी रसाइली, राम पाण्डे, सुरेन्द्र थापालगायत व्यत्तित्वका साथै स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियोे ।
गोपाल घिमिरेले सहजिकरण गर्नुभएको कार्यक्रमा प्रतिष्ठानका महासचिव प्रकाशविक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष रामशरण कोइरालाले संयोजन गर्नुभएको कार्यमलाई बालाजु बाईसाधारा उद्यान कार्यालय र का.म.न.पा.१६ ले सफल पार्न सहयोग गरेको थियो ।
संस्कृत भाषामा लेखिएको राजारामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर-घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको भन्ने भनाइ रहेको छ ।
‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच