काठमाडौं । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको सय वर्ष पुगेका अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिट्ज चेसमा रुपेश जैसवाल च्याम्पियन हुनुभएको छ । हिमालयन चेस एकेडेमीले युक्ति फाउण्डेसनसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै ९.५ अंक जोड्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो ।
अर्का एफएम क्षितिज भण्डारी नौ अंकसहित उपविजेता हुनुभयो । पुरुषोत्तम सिलवाल र रामहरि कार्कीले समान आठ अंक बनाउनुभयो । तर, टाइब्रेकरका आधारमा पुरुषोत्तम तेस्रो हुनुभयो ।
खुला, महिला तथा अरू १५ स्पर्धा समावेश कुल ५४ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा रुपेशले १० हजार, क्षितिजले सात हजार, पुरुषोत्तमले चार हजार, रामहरि (चौथो) तीन हजार र राजेन्द्रप्रसाद (पाँचौँ) ले दुई हजार प्राप्त गर्नुभयो ।
यस्तै, एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बन्नुभयो । नेपाल च्याम्पियन सिन्दिरा जोशी (६) दोस्रो र पुनम प्रसाईं (६) तेस्रो हुनुभयो । टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता बन्नुभयो । यू-९ गल्र्समा रुबेश्री (३ अंक) र ब्वाइजमा एल्बिक अधिकारी (५) विजेता हुनुभयो । यू-११ गल्र्समा नायुमा मगर (३.५ अंक) र ब्वाइजमा अग्रिम सैंजु (६) विजेता हुनुभयो । यू-१३ ब्वाइजमा सिद्धार्थ लामा (५ अंक) र सोफिया गुरुङ (२.५) ले सफलता हात पार्नुभयो । यू-१५ तर्फ ब्वाइजमा आशिष गुप्ता (६.५) र गल्र्समा विपश्वी अधिकारी (३) ले स्वर्ण पदक जित्नुभयो ।
कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर (६ अंक) पहिलो हुनुभयो । भेट्रान (५५ वर्षमाथि) महेश्वरलाल डंगोल (७ अंक), रेटिङ १९०० मुनि मिसन दाहाल (७.५) र १७०० मुनि सजल न्यौपाने (७) र अनरेटेडमा फुर्वा लामा (६.५) शीर्षस्थानमा रहनुभयो । बेस्ट हिमालयनको अवार्ड गल्र्समा प्रज्ञा पन्त (४.५) र ब्वाइजमा रायान श्रेष्ठ (६ अंक) ले प्राप्त गर्नुभयो ।
‘फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित हिमालयन १०० मा एक सय खेलाडीले स्विस प्रणालीका आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय चेस दिवस २० जुलाईमा हो ।
विजेतालाई राखेप सदस्य पेमा डोल्मा लामा, बागमती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवं काठमाडौं महानगरपालिका-११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदुरप्रसाद गौतम, युक्ति फाउण्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिषा खम्बूले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच