शरम र संकोच नभएका हाम्रा नेताहरू

मणि शर्मा
Read Time = 13 mins

ओलीको मन्त्रिपरिषद्का सदस्यहरूलाई हेर्ने हो भने अपवादबाहेक सबै दागी चरित्रका छन् । यस्तो सरकारबाट सुशासनको आशा गर्नु मृगतृष्णा हो । झन उनको दरबारका सल्लाहकारहरू हेर्ने हो भने भ्रष्टाचारको मध्यस्थकर्ता तथा व्यवस्थापन शिरोमणि पनि छन् । ओलीमाथि लागेका भ्रष्टाचारको आरोपहरू हेर्दा चाङ नै लाग्छ । पछिल्लो भ्रष्टाचार गिरीबन्धु त आज सबैको मुखमा झुण्डिएकै छ । महाकाली सन्धिदेखि शुरु भएको राष्ट्रघातको सिलसिला जारी नै छ । परराष्ट्रमन्त्री आरजु देउवालाई पनि यस्तो आरोप लाग्ने गर्छ । अरू मन्त्रीहरू पनि कुनै न कुनै भ्रष्टाचारको दागबाट अछुतो छैनन् । हुन त नेपालमा जुनसुकै गठबन्धनको सरकार बने पनि यस्तै हो, निष्कलंक सरकार पाउनु यो गणतन्त्रमा नेपालीको भाग्यमा नै छैन ।

गगन थापाले २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षमै बस्ने घोषणा गरेका थिए र ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार २०८४ सम्म नै रहन्छ भनेका थिए । यसबाट नेताहरूका कुरामा विश्वास गर्न सकिँदैन भन्ने प्रमाणित हुन्छ । यो सरकार बन्नुको संकेत मदन भण्डारी जयन्तीकै दिन स्पष्ट भएको थियो । एमालेले आयोजना गरेको उक्त कार्यक्रममा देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेलाई चुनौती दिएका थिए । देउवाको चुनौतीले काम गर्‍यो र अहिलेको गठबन्धन बन्यो ।

नेपालका पत्रपत्रिकाहरूले लेख्न नसक्ने वास्तविक यथार्थ फ्रान्सको ले मोन्डे पत्रिकाले संसार सामु उजागर गरेको छ तर हाम्रा यी सनातन धर्मविरोधी गणतन्त्रवादीहरूलाई पटक्कै लाज शरम लाग्दैन, जसरी बारबनिताहरू आफ्नो पेशामा लाज मान्दैनन्, सर्वांग उदांग हुँदा पनि उनीहरूको अनुहारमा न संकोच छ न त लाज शरम ।

गणतन्त्र आएपछि नेपालको राजनीति अस्थिर भयो । विश्वभरि आज नेपाल अस्थिर राजनीति र भ्रष्टाचारका लागि दुर्गन्धित भइरहेको छ र यो दुर्गन्धभित्र विदेशीहरूले खेल्ने मौका पाएका छन् । फ्रान्सबाट निस्कने ले मोन्डे पत्रिकाले गत मंगलबारको संस्करणमा नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर लेखेको छ । उसले लेखेको छ, सानो हिमाली गणराज्यले हालैमात्रै १५ वर्षमा १४ वटा प्रधानमन्त्री नियुक्त गरेको छ । देशमा बेरोजगारी बढी रहेको छ । बेरोजगारीको कारण विदेशिने युवाहरूको संख्या बढी रहेको बेला नेपालको सार्वजनिक मामिला (राजनीति) केवल लेनदेन संस्कृति नियमित परम्परा जस्तो भएको छ भनेर समाचारले लेखेको छ ।

उसले अझै थपेको छ, राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगितामा नेपालले शीर्ष स्थान कायम गरिरहेको छ । उसले नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र आएपछि मात्र ३० वटा प्रधानमन्त्री फेरिइसकेका छन् र नेपालमा हरेक वर्ष नयाँ प्रधानमन्त्री आउँछन्, यो यहाँका लागि सामान्य कुरा भएको छ । करिब ३ करोड जनसंख्या भएको सानो हिमाली गणतन्त्रका लागि यही कुरा अहिलेसम्मको उल्लेखनीय उपलब्धि बन्न पुगेको छ भनेको छ । ओली युरोपियन शैली समाजवादी प्रजातन्त्रको नजिक भएको र प्रचण्डलाई गुरिल्ला नेता भनेको छ । पत्रिकाले नेपालमा गठबन्धन, प्रतिगठबन्धन र विश्वासघातको क्रम अचम्मको रहेको छ भन्दै दलहरूले एउटा गठबन्धन छोडेर अर्कोमा जोडिने र एकले अर्कालाई विश्वासघात गर्ने क्रम पनि धेरै रहेको लेखेको छ ।

नेपालका पत्रपत्रिकाहरूले लेख्न नसक्ने वास्तविक यथार्थ यसरी विदेशी पत्रिकाले संसार सामु उजागर गरेको छ तर हाम्रा यी सनातन धर्मविरोधी गणतन्त्रवादीहरूलाई पटक्कै लाज शरम लाग्दैन, जसरी बारबनिताहरू आफ्नो पेशामा लाज मान्दैनन्, सर्वांग उदांग हुँदा पनि उनीहरूको अनुहारमा न संकोच छ न त लाज शरम । पेशागत बार बनिताहरूलाई बाध्यता छ तर यी राजनीतिक बार बनिताहरूलाई रहर, सत्ताको आडमा राष्ट्रलाई लुटेर अकूत धन सम्पत्ति कमाउने लालसा उनीहरूमा रहेको छ ।

नेपालमा बेथितिको सुरुवात गर्ने कांग्र्रेस र कम्युनिष्टहरू नै हुन् । इण्डियन पत्रकार स्व.रामाशिषजीले नेपालमा बसेर चालीस वर्षसम्म इण्डियन पत्रिकाको लागि रिपोर्टिङ गर्ने काम गरेका थिए । राजा वीरेन्द्रले ९ जुलाई १९७२ मा सिंहदरबार आगलागीको विषयमा इण्डियन पत्रिकालाई रिपोर्टिङ गर्दा यिनी देश निकालामा परेका थिए । पछि फेरि यिनी नेपाल आए र २०४६ सालको आन्दोलनमा मिडियाबाजी गर्दा यिनी तीनपटक गिरफ्तार पनि भएका थिए । के आज नेपालविरुद्ध नेपालमै बसेर लेख्ने, समाचार सम्प्रेषण गर्ने इण्डियन पत्रकारहरूलाई वर्तमान सरकरामा बसनेहरूले कारबाही गर्न सक्छन् ?

उनले एकपटक लेखेका थिए ‘इण्डियाले नेपालमा क्रान्ति गर्न नेपाली कांग्रेसलाई वीरगञ्ज अधिवेशन गर्दा विसं २०४२ सालमा दश करोड दिएको, त्यो पैसाले कांग्रेसले केही गर्न नसक्दा पुनः थप पन्ध्र करोड माग गरेकोमा, त्यो पन्ध्र करोड थप दिल्लीले पठाएको, इण्डियन राजदूतले त्यो पन्ध्र करोडमध्ये दश करोड नेपाली कांग्र्रेसलाई र पाँच करोड सहाना प्रधानलाई दिएको र त्यही पैसाले २०४६ को आन्दोलन गराइएको कुरा लेखेका छन् । माओवादीको हिंसात्मक कार्यकालमा उनीहरूलाई आर्थिक तथा भौतिक सहयोग दिने इण्डिया र पश्चिमा शक्ति हुन् भन्ने घामजस्तै छर्लंग छ । यी दलहरूबाट के हामीले राष्ट्रियताको अपेक्षा गर्न मिल्छ ?

गणतन्त्रका राजाहरूमा ईश्वरप्रति आस्था छैन, आस्था छ त विदेशी शक्तिमाथि, सनातन धर्मको रक्षा गर्दैनन् तर यसको विनाशका लागि कुनै कसर बाँकी राख्दैनन् । ईश्वरको नाममा शपथ लिँदैनन् । राक्षसहरू देवता विरोधी भए तापनि ईश्वरलाई मान्थे ।

यिनै रामाशीषजीले कताबाट मेरो फोन नम्बर र इमेल पत्ता लगाएर दुई चारपटक फोन र मेल गरेर मेरा बारेमा बुझ्न चाहेका थिए । पछि यिनको नियत थाहा पाएर मैले उनीसँग सम्बन्ध विच्छेद गरेको थिएँ ।

सत्ता सत्को बलमा चल्छ र सनातन धर्मको रक्षाको बलमा तर यहाँको आफूलाई कम्युनिष्ट भन्ने प्रधानमन्त्री र मन्त्रीहरू ईश्वरको नाममा शपथ लिँदैनन् । त्रेतायुगमा देवव्रत मुनि र प्रम्लोचना अप्सराको मिलनबाट जन्मेकी रुरुकन्याले भगवान विष्णुको तपस्या गरी वरदान पाएकी थिइन् । वरदान स्वरूप विश्वकर्माले शलिग्राम शिला ल्याई विष्णु भयवानको आदेशमा बनाई दिएको मूर्तिमा विष्णु रुरुकन्याको आग्रहमा त्यसमा तेजोमय भई प्रवेश गर्नुभयो र धेरैपछि रुरुकन्याले त्यो मूर्तिसहित कालीगण्डकीमा जलसमाधि लिइन् ।

त्रेता युग बित्यो, द्वापर युग बित्यो र कलियुगको करिब पाँच हजार वर्षपछि पाल्पाका राजा मणिमुकुन्द सेनले एक दिन सपनामा दिव्य चतुर्भुजसहितको विष्णुको मूर्तिको दर्शन पाए र दर्शनमा भनिए अनुसार उनले कालीगण्डकीबाट मूर्ति झिकेर उक्त मूर्ति भनिएको ठाउँमा स्थापना गरे । पछि राजपाटदेखि वैराग लागेर उनी देवघाट तपस्या गर्न हिँडे । उनले पश्चिममा कुमाउ, गढवाल, श्रीनगर र पूर्व गंगाको संगम हुँदै ब्रहृमपुत्रसम्मको आफ्नो विशाल राज्य छोराहरूलाई बाँडिदिए । कालीगण्डकीको तीरैतीर उनी देवघाट जान लाग्दा उनी हाल उनकै नामले चिनिएको मुकुन्द खोलामा आइपुगे ।

त्यो खोलामा स्नान गरी जप तप गरेपछि तल झर्दा उनी कालीगण्डकीतीरमा आए र त्यहाँको वातावरण रमणीय र शान्त देखेपछि केही दिन त्यहीँ तप जप, पूजाआजा गरी बसे । एकदिन उनलाई सपनामा शिवजीले दर्शन दिनुभयो र शिवजीको आज्ञा अनुसार उनले घाटमाथिको उच्च समथर भू-भागमा शिवलिंग स्थापना गरी मन्दिर बनाई पूजाआजा गरे र पछि त्यहाँबाट देवघाट गए । नेपालको आधुनिक इतिहासमा स्वेच्छाले गद्दी त्याग्ने धार्मिक राजा मणिकुकुन्द सेन र ज्ञानेन्द्र मात्र देखियो । आजका नेताहरू जीवनको अन्तिम क्षणसम्म सत्तामोह त्याग गर्न सक्दैनन् ।

पृथ्वीनारायण शाहले गुरु गोरखनाथको दर्शन र गोरखकालीको आशीर्वाद पाएर नेपाल एकीकरण गरेका थिए । ईश्वरको आशीर्वाद भएकै कारण पृथ्वीनारायण शाह र मणिमुकुन्द सेनले राज्य एकीकरण गर्न सकेका थिए । आज गणतन्त्रका राजाहरूमा ईश्वरप्रति आस्था छैन, आस्था छ त विदेशी शक्तिमाथि, सनातन धर्मको रक्षा गर्दैनन् तर यसको विनाशका लागि कुनै कसर बाँकी राख्दैनन् । ईश्वरको नाममा शपथ लिँदैनन् । राक्षसहरू देवताविरोधी भए तापनि ईश्वरलाई मान्थे । शिवजीको तपस्या गरी शक्ति प्राप्त गर्थे तर हाम्रा नेताहरू पूर्णतया ईश्वरविरोधी छन्, शिवस्वसमेत खान पछि पर्दैनन् । त्यस कारण मुलुक अधोगतितिर नगएर कता जान्छ त ?

स्वर्णिम वाग्लेले त नेपाललाई कि भुटानजस्तै बनाउनुपर्छ कि इण्डियामा विलय गर्नुपर्छ भनेर खुल्ला रूपमा भने । पहिला बाबुराम भट्टराईले नेपाललाई मर्ज गर्ने कुरा गरेका थिए । यस्ता स्वर्णिम वाग्ले र बाबुराम भट्टराईहरू कति छन् कति यहाँ । तर, उनीहरूले खुला रूपमा नभनेर भित्रभित्रै नेपालको अस्तित्व समाप्त पार्न षड्यन्त्रमा सामेल हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *