काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला बेला जनतामा जाने कुरा गरिरहनुहुन्छ । जबजब प्रचण्ड सत्ताबाट बाहिरिनुहुन्छ तबतब उहाँलाई जनताको सम्झना आउँछ । अनि माओवादी नेताहरू जनतामा जाने कुरा उठाउँछन् । अहिले फेरि माओवादीमा पुनः जनतामा जाने विषय उठेको छ । सत्ता गुमेपछि माओवादीलाई जनमतको चिन्ता लागेको छ । पछिल्ला नौ वर्ष निरन्तर सत्तामा रहेको माओवादीलाई प्रतिपक्षमा पुगेपछि पार्टी, संगठन र जनताको माया लाग्न थालेको हो । २०७२ असोजदेखि (सात महिनाबाहेक) एक महिना अघिसम्म सत्तामा रहेको माओवादीले अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी पदाधिकारी बैठकले गाउँस्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन माओवादीले आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको छ । गत असार १७ गते राति नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेपछि असार २८ गते माओवादी सत्ताच्युत भएको थियो ।
२०७२ असोज २५ गते नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर सरकारमा सहभागी भएपछि माओवादी सत्ताको स्थायी साथी बन्न पुगेको थियो । त्यसपछि तत्कालीन नेकपाकालीन अवस्थाको (५ पुस २०७७ देखि २८ असार २०७८ सम्मको) सात महिने अवधिबाहेक सधैँ सरकारमा रहृयो । दुईपटक माओवादी अध्यक्ष प्रचण्डले सरकारकै नेतृत्व लिनुभयो भने अरू समय उपप्रधानमन्त्री सरकारमा सहभागी भयो । जबकी पार्टी शक्ति भने त्यसअघिदेखि नै आरोलो लागिरहेको थियो । प्रत्येक चुनावमा माओवादीको शक्ति घट्दो क्रममा छ ।
सामान्यतः सरकार भनेको पार्टीको नीति तथा कार्यक्रम लागू गर्ने ठाउँ हो । यस बीचमा लगातार मतदाताको लागि काम गर्ने अवसर पाएको माओवादी जति धेरै सरकारमा बस्छ, उति नागरिकसँग दूरी बढाएको देखिन्छ । पछिल्ला दुईवटा निर्वाचनको जनमतलाई हेर्दा तीन ठूला दलमध्ये सबैभन्दा धेरै मतको क्षति भोग्नेमा माओवादी पहिलो नम्बरमा छ । ठूलो युद्धको नेतृत्व गरेर सत्ता राजनीतिमा आउने क्रममा माओवादी नेतृत्वको काँधमा केही भुल्नै नहुने दायित्व पनि थिए । तर, यसमा पनि उल्लेख्य प्रगति भएन । क्रान्तिकारी ब्रान्ड बोकेको पार्टीले आफ्नै युद्धका शहीद, बेपत्ता परिवार र घाइते-अपाङ्हरूको जीवनमा सामान्य सुधार ल्याउन पनि सकेन । निरन्तर पार्टीको आकार घट्नु जनमत गुमाउनु त हुँदै हो । माओवादी पार्टी र नेतृत्वले आफ्नैै पार्टी पंक्तिको पनि विश्वास गुमाएको छ । घाइते, अपाङ्गहरूको बेहाल छ । शहीद परिवारको विचल्ली छ । केवल सीमित नेताको परिवारमा मात्र समृद्धि आएको छ । कल्पनै गर्न नसकिने वर्ग उत्थान देखिएको छ । मोहन वैद्य, नेत्रविक्रम चन्द, सिपी गजुरेल मात्र होइन, डा. बाबुराम भट्टराईसहितका नेताहरू अहिले माओवादीले दाबी गर्ने मूलधारमा छैनन् ।
उसो त जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ गरेको थियो । माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्म तीन महिने अभियान सुरु गरेको थियो । पछि एक महिना थप गरेको थियो । अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए । तर, अभियान जनतासम्म भनिए पनि कार्यकर्तासम्म मात्रै पुगेर फर्किएको थियो । फेरि पनि माओवादीको पुनर्जागर अभियान कर्मकाण्डी मात्रै नहोला भन्न सकिन्न ।
सीमित नेतालाई सधैँ लाभ
२०६२ साल मंसिरमा १२ बुँदे सम्झौतामार्फत माओवादीले सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको थियो । सोही सम्झौताको जगमा भएको ०६२/६३ को जनआन्दोलनले २४० वर्षे लामो राजतन्त्र ढाल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । शान्ति प्रक्रियाको करिब १९ वर्षमा माओवादीले सत्ताको लाभैलाभ लिएको छ । राजतन्त्र ढलेपछि ०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा प्रारम्भ गरेका थियो । गणतन्त्र स्थापनापछि करिब १९ वर्षमा बनेका १३ वटा सरकारमध्ये माओवादीले चारवटा सरकारको नेतृत्व गरेको छ । १० वटा सरकारमा महत्वपूर्ण हिस्सासहित सरकारमा सहभागी भएको छ । तीनवटा सरकारमा प्रतिपक्ष दलको भूमिका निर्वाह गरेको छ ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रहेको माओवादीको नेतृत्वमा सरकार बनेको थियो । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड हुनुभएको थियो । दुई तिहाइको सरकार प्रधान सेनापति रुपमाङ्गत कटुवाल प्रकरणमा नौ महिनामै प्रचण्डले राजीनामा दिनुभयो । त्यसपछि माओवादी अधिकांश समय सत्तामा रहृयो । २०६८ सालमा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो । २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि एमालेका अध्यक्ष ओली माओवादीको समर्थनमा प्रधानमन्त्री हुनुभयो । तर, नौ महिना नपुग्दै ०७३ सालमा कांग्रेसको समर्थनमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । २०७४ फागुन ३ गते ओली माओवादीको समर्थनमा ओली दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । ४० महिनामा ओली सरकार ढलेपछि फेरि माओवादी कांग्रेस नेतृत्वमा सरकारमा गयो । २०७९ को निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि कांग्रेसलाई जिल्ल्याउँदै एमालेको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । सत्ताको मोहमा लाग्दा २०६४ मा पहिलो दल बनेको माओवादी ३२ सिटमा झरेको छ ।
घिसेपिटे गरेर हुँदैन, शल्यक्रिया चाहिएको छ : गजुरेल
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिन अनुमति माग्नुभएको छ । पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै उहाँले तिनको जिम्मेवारी लिएर पदबाट राजीनामा दिन प्रस्ताव गर्नुभएको हो । उहाँले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आहृवान गर्नुभएको छ । अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गर्नुभएको छ । ‘महान् यात्रामा लामबद्ध हुन राजीनामाले नैतिक बल प्रदान गर्दछ । कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ,’ उहाँले प्रस्तावमा भन्नुभएको छ, ‘घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न सकिन्न । पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु ।’
गजुरेलले पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । ‘यतिखेर हामीलाई चुनबाङभन्दा अझ स्तरीय बैठक चाहिएको हो । मलमपट्टी होइन, शल्यक्रिया चाहिएको हो । असफल परम्परा चलाइराख्ने हो भने रात रहृयो अग्राख भनेजस्तै हुनेछ,’ उहाँले भन्नुभएको छ, ‘यतिखेर विरोधीहरूले नकारात्मक घटना घटाएर हामीलाई अवसर दिएका छन् । फलाम तातेका बेला चाहे अनुरूपको आकार दिन सकिन्छ । सेलाएपछि त फुट्ने हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच