कांग्रेस बैठकमा सांसद सुनिल शर्मा पक्राउ लगायतका विषयमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात–आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गर्नुभएको हो ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाका बारेमा र बैठकका कार्यसूची बारेमा ब्रिफिङ गर्नुभएको सांसद डिल्लीराज पन्तले जानकारी दिनुभयो । बैठकमा संसद् बैठकको अवरोध, संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसद्मा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राख्नुभएको थियो ।

यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महङ्गी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गर्नुभएको र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्को बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?