दिनहुँजसो आफ्नै साथी र आफन्तका छोराछोरीहरू विदेश जान लागेका दृश्यचित्रहरू सामाजिक सञ्जालमा आउन थालेको यतिखेरै पनि धेरै भयो । यताका एक महिनामा मात्रै सम्पर्क र सम्बन्धका दर्जन जति छोराछोरीहरू विदेश लागे । गएकाहरू सबैलाई शुभयात्रा अनि शुभकामना छ । भन्न त जेहेन्दार भएका कारण छात्रवृत्तिमै पढ्न जान लागेका भन्ने पनि समाचार बाहिर आएका छन् तर जसरी विदेशिएका भए पनि देशको लागि अपूरणीय क्षतिको कुरा हो । कति बाबुआमाहरूले छोछोरीकै इच्छामा आफ्ना सपना पनि थपेर उत्साह मिसाएर बाहिर पठाइरहेका छन् कतिपयका छोराछोरीको जिद्दी अलि बढी भएर बाबुआमाहरू बाध्य भएका छन् । खोइ यो समय विदेशी विश्वविद्यालयहरूको भर्नाको समय रहेछ कि ?
नेताहरूले हामीले देश र जनताका निम्ति काम गरिरहेका छौँ भनिरहेकै होलान् । जनता आक्रोशित होलान् वा हुनसक्छ प्रत्येक दश वर्षमा हुने परिवर्तनका धेरै सम्भावना साथमा होलान् । भर्खरै बंगलादेशमा अप्रिय घटना घटेको छ त्यो रोग कताकता सर्ने हो ?
अन्तर्राष्ट्रिय विमानहरूलाई नेपाली युवाहरू बोकेरै भ्याइनभ्याइ छ । यी त भए हाम्रो चिनारी र सम्पर्कका कुरा हाम्रो सम्पर्क बाहिर रहेकाहरूका बारेमा हामीलाई सूचना नभएको मात्र हो । विदेश पढ्न जानेहरूको आँकडा ज्यादै अत्यास लाग्दो छ । हुन तचित्त बुझाउन वा सन्तोष लिनका निम्ति पितामाताले अथवा देशले योग्य सन्तान जन्माएर विदेशी भूमिमा छात्रवृत्तिमै पढ्न पठाएका छन् भने पनि भयो । तर यस विषयको अन्तर्यमा रहेको यथार्थ त्यति उत्साहप्रद छैन । योग्यता हासिल गर्न विदेश जानु धेरै राम्रो कुरा हो तर विदेश गएका हाम्रा सन्तान पढाइ सकेर घर फर्केर आउलान् त ?
यसको उत्तर धेरैसँग छैन । यो देशमा कुनै अवसर पनि छैन वातावरण पनि छैन भनेर विदेश पसेको सन्तान योग्यता हासिल गरेपछि कुन उत्साहले स्वदेश फर्किएला ? अनि सन्तान उतै बस्ने निर्णय गरे भने आज पढ्नको निम्तिमात्र भनेर पठाएका पितामाताले सन्तानलाई स्वदेश फर्काउने इच्छा गर्लान् वा नगर्लान् वा उनीहरूको मनस्थिति र अवस्था के होला ? यस्तै विचार मात्र अहिले मस्तिष्कमा नाचिरहन्छन् ।
कुरा निराशा बाँड्ने मात्र नहोस् भन्नेमा पनि म सचेत छु तर परिस्थिति र यथार्थ आशा र उत्साहको बृहत् अभियानमा निराशाको बादल मडारिएको तिरै लक्षित छ । यसै शिलशिलमा झट्ट दिमागमा आयो यही क्रमले विदेशिने लहर चल्ने हो भने अबको दशवर्षमा के होला ? यो अलि हाइफोथेटिकल कुरा भयो । अबको दशवर्षमा धेरै कुरा होला । बाह्र वर्षमा खोलै फर्किन्छ भनिन्छ भनेँ दश वर्षमा पनि केही न केही त अवश्य फर्किएला । तर विदेश गएका सन्तान फर्किएलान् कि नफर्किएलान् ? आज जन्मिएको बच्चा दश वर्षको होला । आज दश वर्ष भएको बच्चा बीस वर्षको जबान होला । पचास वर्षको मानिस साठी वर्षको होला ।
एवं क्रमले व्यक्तिको उमेरसँगै अवस्था र परिस्थिति सबै पनि फेरिएला । मुलुकमा दुईवटा नयाँ निर्वाचन होलान् । धेरै जना प्रधानमन्त्री होलान् । कम्तिमा दुईजना राष्ट्रपति फेरिएलान् । मन्त्रीहरू त कति होलान् होलान् । अर्थतन्त्रमा त्यस्तै परिवर्तन आउला । देश सम्पन्नताको शिखरतिर पुगेको होला । देशमा अकल्पनीय किसिमले उन्नति होला । देश शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान र प्रविधि, पूर्वीय संस्कृति र सभ्यताको केन्द्र बन्ला । रोजगारीका अनगिन्ती अवसरहरू बढ्लान् । विदेशीहरू नेपाल आउन भिसाको लाइनमा होलान् । सबै विदेश गएका नेपाली सन्तानहरू स्वदेश फर्किने लहर नै चल्ला । अथवा आजकै गतिमा देश दिशाहीन हुँदै जाने हो भने विदेशी ऋणको भारले जनता हलचल गर्न नसक्ने भएर चिच्याइरहेका होलान् ।
नेताहरूले हामीले देश र जनताका निम्ति काम गरिरहेका छौँ भनिरहेकै होलान् । जनता आक्रोशित होलान् वा हुनसक्छ प्रत्येक दश वर्षमा हुने परिवर्तनका धेरै सम्भावनाहरू साथमा होलान् । भर्खरै बंगलादेशमा अप्रिय घटना घटेको छ त्यो रोग कताकता सर्ने हो ? हाम्रै जस्ता मुलुकमा हुने यस्ता घटना आफ्नैजस्ता पनि लाग्न सक्लान् । कुनै थप निर्णायक आन्दोलन पनि होला वा नहोला आदि ।
कुनै ठोस कुरा नभनिएको यस्तो कल्पनाको कुनै सीमा हुँदैन जता तन्काए पनि हुन्छ । अन्जान भविष्यको आड लागेर गरिने यस्ता अनुमानहरूलाई केही समवेदित चेतनाले अत्याउन थालेपछि कुरा अलि गम्भीर भएर आउँदोरहेछ । धेरै समयदेखि पिरोलिरहेको प्रतिभा पलायनको समस्याले घच्घच्याएर नै यति कुरा गरिएको हो । अबको दश वर्षमा हाम्रा धेरैजसो घरहरूमा के होला ? बीस वर्ष उमेर काटेका युवाहरू सायद घरमा नहोलान् । युवाहरू कि ठूला भनिएका मुलुकतिर होलान् कि त खाडी मुलुकतिरै होलान् । खाडीमा जाने भाग्य पनि नभएका कोही बाँकी रहेभने ती घरमा झोक्राएर बसिरहेका भेटिएलान् वा लागुपदार्थ दुव्र्यसनी होलान् । कुरा गम्भीर कतिखेर होला भने प्रतिभापलायनको निरन्तर प्रक्रिया एकातिर रहिरहला अर्कोतिर जसका सन्तान आजको मितिसम्म विदेश गइसकेका छन् तिनीहरूका सन्तान घरमा नभएको दश वर्ष वा त्योभन्दा बढी वर्ष भइसकेको होला ।
र, ती आमा बाबु अहिले चालिसका छन् भने पचासका होलान् । पचासका छन् भने साठीका होलान् । साठीका छन् भने सत्तरीका होलान् । अहिले सत्तरी, असी भएका र सन्तान बाहिर भएका पितामाताको आजको अवस्थाभन्दा अबको दश वर्षमा सत्तरी असीका बाआमाको अवस्था यत्तिको पनि सायद नहोला । नेपालको सन्दर्भमा हाम्रो जीवनचर्यामा आएको परिवर्तनले क्रमशः पछिल्लो समय अझ बढी स्वास्थ्यसमस्या ग्रस्त हुन सक्ने अनुमान गर्न सकिन्छ । रुखो भाषामा भन्दा देशबाट भरोसा उठेपछिको यस्तो अवस्थामा देशमा केही सरकारी र केही प्राइभेट काममा लागेका बाहेक धेरैजसो प्रतिभा देश बाहिर नै होलान् । देश रित्तिन त नरित्तिएला केही रैथाने जनसंख्याको चाप यता पनि रहला तर धेरै महत्वाकाङ्क्षी युवायुवतीहरू जसले यो देशमा केही छैन भन्ने भाष्य बनाएका हुन्छन् ।
जसका पितामाताले सन्तानलाई यता राखेर हुँदैन भनेर ठानेका हुन्छन् अथवा जसलाई स्वदेशमा भन्दा विदेशमा बढी भरोसा वा रहर छ तिनका सन्तान देशमा नरहलान् । यो संख्या निकै बढ्ला र सायद प्रतिभापलायनको समस्या पनि बेरोजगारीजस्तै भयावह बनेको हुनेछ । जानेहरू त गइसकेका हुने छन् त्यसको प्रभाव यहाँ दिन गनेर बसेका बाबुआमालाई हुने छ । हुन त अबका धेरै पितामाता पनि समय परिस्थितिसँग अभ्यस्त भइसकेका हुनाले आजको मितिमा सन्तान विदेशिएका पितामाता जति भावुक र दुःखी छन् त्यति दशवर्षपछिका बाबुआमा नहुन सक्छन् किनकि यसबीचमा अरू बाबुआमाले भोगेको देखेर, सुनेर आफ्नो मनस्थिति परिवर्तन गरिरहेका हुनेछन् । सन्तान नहुँदा पनि बस्न पर्छ । हामीलाई हेर्ने कोही हुने वाला छैन भन्ने त सोचेकै हुनेछन् तर भोगाइ सोचेजस्तो मात्र नरहँदा पर्ने समस्या त्यस्तै नै होला ।
आज हामीले जसरी सन्तानको कर्तव्यका कुरा गरिरहेका छौँ के हामीले पनि आफ्ना पितामाताप्रति त्यसरी नै दायित्व पूरा गरेरै आएका थियौँ त ? भन्ने प्रश्नको उत्तर पनि सन्तोषजनक हुनेछैन । कुरा यति हो हामी विदेश गएका थिएनौँ ।
त्यो बेला धेरै बाबुआमाले आफ्ना सन्तान अब त फर्किएर आइदिए हुन्थ्यो भनेर बाटो कुरेर बसिरहेका पाइएलान् । उनीहरूले भन्लान् अब हामी बुढा भयौँ हामीलाई तिमीहरूको सहाराको खाँचो छ जेजस्तो होला यतै सँगै बसेर टारौँला छोरा घर आऊ, छोरी घर आऊ । र उताबाट उनीहरूको उत्तर आउला त्यहाँ के नै राखेको छ र ? पाउनको निम्ति जे छ यतै छ बरु तपाईँहरू नै यता आउनुहोस् । तपाईंहरूकै निम्ति भनेर यताको सबै कुरा बिगारेर आउन मिल्दैन । कतिपयले भिसाको समस्या देखाएर, कतिले बालबच्चाको पढाइको समस्या देखाएर, कतिले आफ्नो कामको समस्या देखाएर बाबुआमालाई टार्ने वा उनीहरूको मन पगाल्ने कोसिस गर्लान् । आफू फर्किन नसक्ने बाध्यता सुनाउलान् ।
कतिपय पितामाता सन्तानको आश्वासनमा उतै जालान् रमेर बस्लान् । कतिलाई उताको रहनसहन, जीवनचर्या सन्तानहरूको व्यवहार आदिका कारणले रम्न नसक्लान् । कसैलाई छोराछोरीका कुरा बिझाउलान् र चित्त दुःखाएर कहिल्यै नजाने प्रतीज्ञा गरेर फर्किएलान् । केहीले परिस्थिति मिले म आउँछु अथवा तपाईंहरूलाई यतै ल्याउँछु भन्ने आश्वासन दिइरहेका होलान् । यता बाबुआमा त्यही आशामा पर्खिरहेका पनि होलान् । केहीले विदेश यस्तै रहेछ भन्ने थाहा पाएर मोह त्यागिसकेका होलान् केहीका सन्तानले सम्पर्क पातलो पारेर महिना दुई महिना पु¥याएका होलान् । केही सम्पर्कबाट बाहिरिइसकेका होलान् ।
केही हृदय भएका तर समय नभएका सन्तानले घरलाई ओल्डेज होम बनाएर एउटा नर्सको रेखदेखमा पितामातालाई राखेर उतैबाट घर चलाइरहेका पाइएलान् । आज तीन बित्ता माथि खुट्टा उचालेर सन्तानलाई विदेश पठाइरहेका धेरै बाबुआमाले बुढेसकालमा सन्तानलाई अगाडि नपाउँदा पश्चातापमा जलिरहेका पाइएलान् । कतिले यस्तै हो संसारको रीत भनिरहेका होलान् । त्यसबेला हामीसँग सम्झिनका निम्ति या त सन्तासँगका अतीतका मिठा दिनहरू, उनीहरू आउलान्, अहिलेको भन्दा राम्रो गरी बसौँला भन्ने कल्पना या सन्तानसँग बिछोड भएपछिका नियास्रा लाग्दा दिनहरू या आफूले पनि हिजो आफ्ना बाआमालाई गरेका व्यवहारहरू बाँकी बसेका हुनेछन् ।
आज हामीले जसरी सन्तानको कर्तव्यका कुरा गरिरहेका छौँ के हामीले पनि आफ्ना पितामाताप्रति त्यसरी नै दायित्व पूरा गरेरै आएका थियौँ त ? भन्ने प्रश्नको उत्तर पनि सन्तोषजनक हुनेछैन । कुरा यति हो हामी विदेश गएका थिएनौँ । देशमै यतै कतै थियौँ छ महिना वर्ष दिनमा घर जान्थ्यौँ र त्यतिमै आफ्नो सन्तानधर्म पालन ग¥यौँ भन्ने हाम्रो अहङ्कार छ । कसैकसैसँग बाहिर नभने पनि आफूले कर्तव्य पूरा नगरेको र आफ्ना सन्तानले पनि सोही बाटो लिएको पश्चाताप पनि होला । खासमा स्वदेशमै सन्तान भएका पितामाताका कथा पनि कम्ती करुणाजनक थिएनन् र छैनन् ।
यहीँको जीवन बाँचेका कतिपय सन्तानले आफूलाई विदेश जाने प्रशस्त अवसर आउँदा पनि पितामाताकै कारण वा यस्तै अमुक कारणले विदेश नगएर बसेँ तर आज पछुतो भइरहेको छ वा यस्तै कुनै प्रकारको असन्तोष सुनाउँदै हुने छ र बाबुआमाको बल्झिएको घाउमा नुनचुक गरिरहने छ । अथवा सन्तान स्वदेशमै भएर पनि विदेशमै भएसरह हुनेछ उसलाई पितामातालाई भेट्न र उनीहरूका थाङ्ने गुनासा सुनिरहने फुर्सद हुनेछैन । यतैकतै वृद्धाश्रममा वा घरलाई वृद्धाश्रम बनाएर पितामाताप्रतिको कर्तव्य निर्वाह गरिरहेको पाइने छ । यस प्रकारका कल्पनाहरू जति पनि गर्न सकिन्छ तर यी कुराहरूमा धेरै सत्यता आइसकेको छ । आजभन्दा पाँचदश वर्ष पहिला विदेश पसेका धेरै घरमा माथि भनिएकै मध्येका कुनै न कुनै समस्या भित्रिइसकेका छन् ।
प्रिय सञ्चेतना ! तिमीले पनि आफ्नो मन बलियो बनाऊ । मनमुटु ढुङ्गाको बनाउनतिर लाग । यो समय हृदयका कुरा गर्ने र मन पगाल्ने समय होइन । छातीबाट हृदय र मुटु झिकेर यन्त्र जोड्ने समय हो । एक्काइसौँ शताब्दीको यो समयमा हिजोजस्तो मायाप्रेम दया र करुणाको कुरा गरेर हुँदैन । अब पनि मन र मुटुसँगै लिएर हिँड्न खोज्नु नादानी हो । यहाँ कसैले कसैलाई केही गर्न सक्दैन र गर्नुपर्छ भन्ने पनि छैन ।
व्यक्तिगत जीवन निर्वाध बाँच्ने र नयाँ शैलीले बाँच्ने हो भन्ने सिद्धान्त र दर्शनको पेरिफेरिमा विदेशी भूमिमा आधुनिक शिक्षा लिइरहेका सन्तानहरूले सनातनी शैलीका मातापिताका रोदनहरू सुन्ने र तिनको समाधान गर्ने लक्ष्य राखेकै हुने छैनन् र हामीले पनि भरिसक्के त्यसप्रकारको अभिलाषा लिन हुने छैन । जति चाँडै समयलाई आफ्नो कुरा बुझाउन सकियो त्यति चाँडै समयले आफ्नो बाध्यता हामीलाई बुझाउने छ । विविध परिस्थितिका बीचमा आउने दशवर्षपछिको समयलाई छातीमा थाप्ने हिम्मत हामीसँग हुनैपर्छ । आगे समय जस्तो आउला सहौँला बुझौँला !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच