दाङ । लुम्बिनी प्रदेशमा मन्त्री तहबाट हुने कामहरू प्रभावित भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौं भएका कारण मन्त्री तहबाट हुने कामहरू प्रभावित भएका हुन् । मन्त्रीहरू सबै काठमाडौंतिर लागेपछि प्रदेशमा सबै मन्त्रीका कार्यकक्ष सुनसान छन् । लुम्बिनीका मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमेत सवै मन्त्रीहरू काठमाडौं पुग्नुभएको हो ।
संघीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई गत आवमा दिनुपर्ने समानीकरण अनुदान तर्फको दुई अर्ब १० करोड रुपैयाँ रकम नदिएपछि त्यही रकम माग गर्न मुख्यमन्त्री आचार्यसहितको टोली काठमाडौं गएको बुझिएको छ । त्यसक्रममा उहाँहरूले अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूलाई भेटेर समानीकरण अनुदान तर्फको रकम चालु आवमा तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ ।
लुम्बिनी सरकारको ढुकुटी रित्तिएपछि गत आवको असार २१ गते नै बजेट भुक्तानी रोकेको थियो । त्यसले लुम्बिनीका निर्माण व्यवसायी र उपभोक्ताले काम सम्पन्न गरे पनि साढे दुई अर्ब रकम भुक्तानी पाउन सकेका छैनन् । सरकारका प्रवक्तासमेत रहनुभएका कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीका अनुसार गत आवमा लुम्बिनी प्रदेशले ७० प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।
अन्य प्रदेशहरूले पुँजीगत बजेट खर्च कम गरेकै कारण आर्थिक संकट व्यहोर्न नपरे पनि लुम्बिनीमा पुँजीगत बजेट बढी खर्च भएकै कारण भुक्तानीमा समस्या देखिएको हो । लुम्बिनी प्रदेशमा संघीयता कार्यान्वयनको सात वर्षमा प्रदेशका सबै मन्त्री एकसाथ काठमाडौंमा जुटेको यो पहिलोपटक हो । साउन ९ गते लुम्बिनीमा मुख्यमन्त्रीसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्री बनेका थिए ।
‘बुटवलबाट दाङ राजधानी सार्न पैसाको कमी भयो’
लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिनुभएको थियो । प्रधानमन्त्रीले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न सम्झाउनुपर्ने जनाउनुभयो ।
अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उहाँले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ ? भन्ने प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरू सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति/सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गर्नुभएको थियो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच